कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासको लागि सबै दलको सहकार्य आवश्यक रहेको बताएका छन्। उनले सबै दलहरू एक भएर प्रदेशको विकासमा लाग्न आग्रह गरे। सबै दलहरू एक भएर मात्रै प्रदेश बलियो बनाउन सकिने भन्दै उनले सबै मिलेर जाने हो भने प्रदेशलाई समृद्ध बनाउन सकिनेमा आफू विश्वस्त रहेको उल्लेख गरे।
उच्च स्तरीय सहकार्यलाई निरन्तरता दिएर अघि बढ्न उनले सबै दलहरूलाई आग्रह गरे। कोसी प्रदेश सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले अघिल्लो वर्ष २०८०/०८१ भन्दा पुँजीगत खर्च बढाएको दाबी गरेका छन् ।
‘गत वर्षको भन्दा पुँजीगत खर्च धेरै बढाउन नसकिएको भए पनि २ प्रतिशतले बढेको छ, उनले भने, 'हरेक वर्ष आर्थिक वर्षको पहिलो ६ महिनामा कम खर्च हुने र पछिल्लो ६ महिनामा पुँजीगत खर्च बढी हुने भएकोले अब खर्चको गति बढ्नेछ।’ पुँजीगत खर्च ढिलो गर्ने खालको परम्परालाई आगामी वर्षदेखि तोडेर लग्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता छ।
उनले चालु खर्च घटाउने गरी यो वर्ष १० प्रतिशत कटौती गरेर ४० करोडको कोष बनाइएको बताए। यो कोषबाट प्राकृतिक विपद्मा भएको क्षतिको पुनः निर्माणमा खर्च गर्ने गरी काम अघि बढेको कार्कीले जानकारी दिए।
उनले गत वर्ष २०८०/०८१ को भन्दा चालु आर्थिक वर्षको प्रदेशको आन्तरिक आय पछिल्लो ६ महिनामा २५ प्रतिशत वृद्धि गरिएको बताए।
‘यो वर्ष आन्तरिक आय बढेको छ, यही गतिमा अघि बढ्यो भने हामी तोकिएको लक्ष्यभन्दा माथि पुग्छौँ, ' मुख्यमन्त्री कार्कीले भने, 'राजश्वको क्षेत्र खोजी गरेर बढी काम गर्न सक्छौ।’
उनले यही महिनाको अन्त्यसम्ममा प्रदेशले आफ्नै राजश्व कार्यालय सञ्चालनमा ल्याउने जानकारी दिएका छन्। विगतका कार्यदलले दिएको सुझावका आधारमा राजश्वको क्षेत्र बढाउने गरी काम सुरु भएको उनको भनाइ छ।
‘हिजो बजेट बढी भयो भनेर खर्च गर्ने संरचना कम थियो स्रोत खोजेर परिचालनमा ध्यान दिन पर्दैनथ्यो,' उनले भने, 'अब हामीलाई आन्तरिक आयको लक्ष्य पूरा गर्न संरचनाको आवश्यक पर्यो।’
बैठकमा कोसी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेस भएको छ। समय सान्दर्भिक संशोधन गर्नु पर्ने भएको भन्दै पर्यटन वन तथा वातावरण मन्त्रालयको तर्फबाट यो विधेयक प्रदेशसभामा टेबुल भएको हो।
Shares

प्रतिक्रिया