मकाउका २ जनाले ज्यान गुमाएको ताइवान विस्फोटका घाइते २९ पुगे

स्टोरमा ग्यास पड्किँदा वरिपरिका घरमा पनि भएको थियो कम्पन
मकाउका २ जनाले ज्यान गुमाएको ताइवान विस्फोटका घाइते २९ पुगे

विस्फोटबाट स्टोर र नजिकैको सडकमा भग्नावशेष छरिएका थिए (एएफपी)


नेपालखबर
फागुन २, २०८१ शुक्रबार १७:३७, हङकङ

मकाउको एउटा परिवार नै परेको ताइवानको डिपार्टमेन्ट स्टोर विस्फोटका घाइते २९ जना पुगेका छन्।

बिहीबार ताइवानको ताइचुङस्थित शिनकङ मित्सुकोसी डिपार्टमेन्ट स्टोरमा ग्यास विस्फोट भएको थियो। यो विस्फोटमा मकाउका सात जनाको परिवार परेको छ। जसमा दुई जनाको मृत्यु भएको छ भने बाँकी पाँच जना घाइते छन्।

घाइतेमध्ये पनि टाउकोमा चोट लागेकी दुई वर्षीया बालिकाको अवस्था गम्भीर छ। मृत्यु हुनेहरू बालिकाका हजुरबा, हजुरआमा हुन्।

यस घटनामा हालसम्म चार जनाको मृत्यु पुष्टि भइसकेको र २९ जना घाइते भएका त्यहाँका अधिकारीले बताएका छन्।

ताइवानको राष्ट्रिय अग्नि नियन्त्रक निकायले स्टोरको १२औँ तलामा रहेको फुड कोर्टमा विस्फोट भएको बताएको छ।

निकायकाअनुसार घटनाको समयमा स्टोरको भुइँ क्षेत्र निर्माण कार्यका लागि बन्द गरिएको थियो।

सामाजिक सञ्जालमा पोस्ट गरिएका र एएफपीद्वारा प्रमाणित भिडिओमा विस्फोटको दृश्य देखाइएको छ, जसमा भवनबाट क्ल्याडिङ र अन्य भग्नावशेष उडिरहेको र भित्रबाट धुलो उडिरहेको देखिन्छ।

२६ वर्षीय लियाओ यु-फुले एएफपीलाई बताएअनुसार विस्फोटको आवाजले उनी निद्राबाट ब्युँझिए र सोचे कि- घरमा विमान ठोकियो।

‘निकै कम्पन थियो र मेरो ओछ्यान पनि हल्लिरहेको थियो,’ आफ्नै घरबाट डिपार्टमेन्ट स्टोर देख्न सक्ने लियाओले भने, ‘आवाज लामो समयसम्म रह्यो र म डराएँ।’

विस्फोटको बेला स्टोरको छैटौँ तलामा रहेकी एक महिलाले धेरै ठूलो कम्पन भएको र त्यसपछि भग्नावशेष खस्न थालेको बताइन्।

‘सुरुमा हामीले सोच्यौँ कि यो भूकम्प हो,’ महिलाले स्थानीय प्रसारक टिभीबीएसलाई भनिन्, ‘जब म सिँढीबाट तल ओर्लिएँ, लिफ्टको प्रवेशद्वारका प्रत्येक तलामा सिसाका टुक्रा थिए।’

राष्ट्रिय अग्नि नियन्त्रण निकायले विस्फोटमा चार जनाको मृत्यु र २९ जना घाइते भएको बताएको छ। सुरुमा मृत्युको आशंका गरिएका एक व्यक्तिलाई घाइतेमा गणना गरिएको छ।

यस घटनामा परेको मकाउको परिवार भाग्ने क्रममा दुर्घटनामा परेको थियो। अस्पतालका एक अधिकारीले मिडियालाई बताएअनुसार उनीहरू स्टोरबाट बाहिर निस्कने क्रममा भग्नावशेषमा फसेका थिए।

विस्फोटबाट स्टोरको ९ देखि १२औँ तला बढी प्रभावित छन् (एएफपी)

गम्भीर छ विस्फोट
ताइवानको राष्ट्रिय अग्नि नियन्त्रक निकायले जारी गरेका तस्बिरहरूमा डिपार्टमेन्ट स्टोरभित्र व्यापक क्षति भएको देखिन्छ। छत तथा सिलिङबाट टुटेफुटेका धातु झुन्डिएका छन् भने भुइँ भग्नावशेषले ढाकिएको छ। निकायले भन्यो- ९ देखि १२औँ तला बढी प्रभावित छन्।

विस्फोटपछि स्टोरबाट दुई सयभन्दा बढी मानिसलाई बाहिर निकालिएको थियो भने ६ जनालाई लिफ्टबाट उद्धार गरिएको थियो।

ताइचुङका मेयर लु शिओ-येनले मिडियालाई बताएअनुसार विस्फोट हुँदा उनी छेउको सरकारी भवनमा काम गरिरहेकी थिइन्। बिहान ११:३० बजेतिर उनले पनि ‘कम्पन’ को महसुस गरिन्।

‘विस्फोट धेरै गम्भीर छ र उद्धार जारी छ,’ लु भन्छिन्।

अग्नि नियन्त्रण विभागले खोज तथा उद्धार कार्यका लागि ५६ वटा सवारी साधन, १३६ जनशक्ति, एउटा कुकुर र एउटा ड्रोन पठाएको अग्नि नियन्त्रण निकायले जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट विस्फोटको कारण ग्यास देखिएको अधिकारीहरूले बताएका छन्। के कारणले यस्तो भयो भन्नेमा चाहिँ अधिकारीहरू अनुसन्धानमै देखिन्छन्।

‘विस्फोट ग्यासका कारण भएको देखिन्छ तर यो निर्माण कार्यसँग सम्बन्धित छ कि छैन भन्ने कुरा स्पष्ट छैन,’ ताइचुङ अग्नि नियन्त्रण ब्युरो प्रमुख सुन फुले मिडियालाई भनेका छन्।

यता, डिपार्टमेन्ट स्टोर शिनकङ मित्सुकोसीका अध्यक्ष रिचर्ड वुले घटनाबाट कम्पनी ‘धेरै स्तब्ध र दु:खी’ भएको प्रतिक्रिया दिएका छन्।

‘हामी जिम्मेवार रहेका सबै पक्षको सम्पूर्ण जिम्मेवारी लिन हामी सक्दो प्रयासमा छौँ,’ घटनास्थलमा भेटिएका उनले मिडियालाई भने।

अग्नि नियन्त्रण निकायले मानिसहरूलाई प्रकोपस्थलबाट टाढा रहन आग्रह गरेको छ।

त्यस्तै, मेयर लुले विस्फोटले ठूलो क्षेत्रलाई असर गरेको बताएकी छन्। पीडितहरूमध्ये कम्तीमा एक जना यात्रु रहेको उनले बताइन्।

‘यस क्षेत्रमा धेरै कार्यालय र आवासीय भवन छन्। हामी सबैलाई सुरक्षाको लागि सहयोग गर्न अनुरोध गर्दछौँ,’ लुले भनिन्।

विस्फोटबाट डिपार्टमेन्ट स्टोर र नजिकैका सडक तथा फुटपाथमा समेत धातुका टुक्रा, इँटा, कंक्रिट टुक्रा, क्ल्याडिङ लगायतका भग्नावशेष छरिएका थिए। (एएफपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .