कोशी


विराटनगरका व्यवसायी भन्छन्– लगानीमैत्री वातावरण भएन

विराटनगरका व्यवसायी भन्छन्– लगानीमैत्री  वातावरण भएन

सुमन सुस्केरा
माघ १२, २०८१ शनिबार २१:५३, विराटनगर

विराटनगरका उद्योगी व्यवसायीले स्थायी प्रदर्शनी स्थलको निर्माण गरिदिन सरकारसँग माग गरेका छन्। उनीहरूले  विराटनगर विमानस्थलको विस्तार र औद्योगिक क्षेत्र बनाउन अर्थमन्त्री विष्णु पौडेलसँग आग्रह गरे।  

भारतमा सस्तोमा बिजुली बेचेको सरकारले भारतलाई दिने शुल्क भन्दा बढी शुल्क लिएर पनि नियमित बिजुली नपाएको गुनासो गरे। स्वदेशी उद्योगलाई बिजुलीको मूल्य बढी लिने र भारत बिजुली बेच्दा सस्तोमा बेचेको भन्दै विराटनगरका व्यवसायीले विरोधाभास नीति सच्याउन सच्याउन सरकारसँग माग गरे। 

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघमा आबद्ध उद्योगी व्यवसायीले  विराटनगर उद्योगी व्यवसायी मैत्री नीति लिएर लगानीको वातावरण बनाउन माग गरेका हुन्। 
 
विराट एक्स्पो आयोजक उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले अहिले पनि उद्योगीहरू लगानी गर्न डराई रहेको बताए। सरकारले बनाउनुपर्ने लगानीको वातावरणमा व्यवसायी आश्वस्त हुने अवस्था नरहेको उल्लेख गरे।

‘व्यवसाय अझै उकालो लाग्न सकेको छैन’, उनले भने, ‘पहिलाको भन्दा केही सुधार भएको जस्तो देखिए पनि लगानी गरिहाल्ने अवस्था छैन।’ उनले सरकारलाई विराटनगरका उद्योगी व्यवसायीले माग गर्दै आएको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माणमा सरकार उदासीन भएको बताए। 

उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पो ‘डिजिटल कोसीः ब्रिजिङ इनोभेसन एन्ड इन्भेस्टमेन्ट’ विषयमा हुँदैछ। औपचारिक रूपमा आजदेखि सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्ने छ। 

एक्स्पो उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न आग्रह गरे।  बैंकमा तरलता बढेको र व्याज घटेको अवस्थाबाट लाभ लिन समेत मन्त्री पौडेलले उद्योगी व्यवसायीसँग आग्रह गरे। 

उद्योगमा उत्पादन कटौती भइरहेको, आर्थिक मन्दी बढ्दै गएको, उद्योगी व्यवसायीमा निराशा बढ्दै गएको अवस्थामा वर्तमान नेतृत्वले सत्ता हातमा लिएर अर्थतन्त्रलाई थप बिग्रनबाट जोगाएको अर्थमन्त्री पौडेलको भनाइ छ। 
 
मेलामा कृषि तथा औद्योगिक प्रदर्शनीका साथै आर्थिक एवम् औद्योगिक क्षेत्रका विषय र मुद्दाहरूमा केन्द्रित फरक फरक विषयमा दैनिक सेमिनार हुनेछन्। दुई सय ६८ वटा स्टल रहको महोत्सवमा विराट बजारका १२ वटा, स्टार्टअप भिजन कोसी ह्याकाथुनका १२, रोजगार कोसीका १२, व्यसायीक सेवा प्रदायक, सूचना, शिक्षा र डिजिटल प्रविधिका ४० वटा स्टल रहेका छन्। 

त्यसै गरी, अटोमोबाइल्सका २०, औद्योगिक ७५, कर्पोरेट, कृषि, पर्यटन तथा साना उद्योगका ७५ वटा, खाद्यका १० र प्रायोजकका १० वटा स्टल छन्। रोजगार कोसी अन्तर्गत युवाहरूलाई करिअर काउन्सेलिङ, हस्पिटालिटी, आइटी र इलेक्ट्रीकलका क्षेत्रमा मेला अवधिभर एक हजार आठ सय जनालाई तालिम दिने आयोजकले जनाएको छ। 

उद्योग संगठन मोरङले एक वर्ष बिराएर २०५३ सालदेखि विराट एक्स्पो गर्दै आएको छ। यो एक्स्पो आठौँ संस्करण हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad