नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको बैठकले आगामी बजेट, नीति तथा कार्यक्रम र योजना छनोटका प्राविधिक विषयमा महत्त्वपूर्ण निर्णय गर्दै सरकारलाई दबाब दिने तयारी गरेको छ।
जेठ ६ गते स्थगित भई सोमबार पुनः बसेको संसदीय दलको बैठकले प्रदेशको आगामी बजेट र सांसदहरूले जनताका साना-साना विकासका आवश्यकता पूरा गर्न पाउने अख्तियारीका विषयमा केन्द्रित भएर छलफल गरेको छ।
दलको बैठकमा प्रदेश सरकारले नीति तथा कार्यक्रम अचानक ल्याएको भन्दै दलको नेतामाथि सांसदहरूले असन्तुष्टि जनाएका थिए। जेठ ६ गते सदन बोलाएर ७ गते नै नीति तथा कार्यक्रम ल्याउँदा दलका प्रमुख सचेतक, उपनेता वा संसदीय दलको तहमा पर्याप्त विमर्श हुन नपाएकाले यसलाई सच्याउँदै नीति तथा कार्यक्रमलाई परिस्कृत गरेर लैजानुपर्ने आवाज बैठकमा उठेको बैठकमा सहभागी सांसदले बताएका छन्।
विशेष गरी निर्वाचन क्षेत्र केन्द्रित सांसदहरूले सिफारिस गर्न पाउने योजनाहरूलाई बजेटमा कसरी समेट्ने भन्ने रणनीतिमा कांग्रेसले तयारी थालेको छ।
जनताको आवश्यकता साना तथा टुक्रे योजनाहरू पनि रहेकाले अहिले योजना बैंकमा समावेश भएका योजनाको सिलिङ घटाएर ५ लाखसम्म पुर्याउनु पर्ने दबाब कांग्रेस सांसदको थियो।
बैठकले बजेटमा राखिएको न्यूनतम सिलिङ व्यावहारिक नभएको ठहर गर्दै योजना बैंकमा नाम दर्ता गर्ने म्याद थप गर्नुपर्ने समेत निर्णय गरेको छ। योजना आयोगले बजेटमा सडकका लागि न्यूनतम १ करोड, पर्यटन, खानेपानी तथा पुलका लागि ५० लाख तोकिएकोले साना ५ लाखका योजनाहरू समेत राख्न पाउने गरी जानु पर्ने कांग्रेस बैठकमा छलफल भएको थियो।
प्रमुख सचेतक गोपाल तामाङले योजनाहरूमा २५ लाखको न्यूनतम सीमा तोक्न नहुने र तल्लो तहमा ५ लाख सम्मका योजना पनि हाल्न पाउनुपर्ने निर्णय दलले गरेको जानकारी दिए। ‘स्थानीय र प्रदेश तहले नै खुद्रे र साना योजनाहरू कार्यान्वयन गर्ने भएकाले जनताका अधुरा काम पूरा गर्न पाँच लाखको बजेट पनि निकै महत्त्वपूर्ण हुने माननीयज्यूहरूको कुरा थियो,’ उनले भने, ‘कतिपय ठाउँमा ५ लाखको बजेटले ज्येष्ठ नागरिक भवनको झ्याल हाल्ने, कुलो, पैनी वा सानो तटबन्ध गरेर सिंगो गाउँ जोगाउने काम हुन्छ, यस्ता योजनाहरूको दुरुपयोग मात्र नभई ठूलो उपयोगिता र आवश्यकता पनि हो।’
यसै गरी, वैशाख ७ गतेभित्रै योजना बैंक (प्रोजेक्ट बैंक) मा योजनाहरू दर्ता गराउनुपर्ने नियमका कारण धेरै सांसदहरूको महत्त्वपूर्ण योजनाहरू छुट्न गएको बैठकमा कुरा उठेको थियो। योजना बैंकमा योजनाहरू प्रविष्टि नभएपछि आगामी बजेटमा ती समेटिन गाह्रो हुने अवस्थालाई मध्यनजर गर्दै कांग्रेस संसदीय दलले कम्तीमा दुई दिनका लागि भए पनि योजना बैंकको दर्ता प्रक्रिया पुनः खुला गराउन सरकारसँग माग गर्ने निर्णय गरेको छ।
सरकार हेरफेर नहुने
बजेटअगावै कोशी प्रदेश सरकार परिवर्तन हुने वा दलको नेता फेरिने भन्ने हल्लामा कुनै सत्यता नरहेको कांग्रेसले जनाएको छ। नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक तामाङले बैठकमा सरकार फेर्ने वा दलको नेता परिवर्तन गर्ने विषयले प्रवेश नपाएको दाबी गरे।
हालै सम्पन्न पार्टीको प्रदेश भेलाले समेत एमालेसहितको वर्तमान समीकरणलाई दृढताका साथ निरन्तरता दिने संकल्प प्रस्ताव पारित गरिसकेकाले आधिकारिकरूपमा यस्ता हल्लाहरूको कुनै औचित्य नरहेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया