अस्तव्यस्तताका बीच कोसी प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नियुक्त गरेका १० जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मंगलबार साँझ कोसी प्रदेश प्रमुख परशुराम खापुङले मन्त्रीहरूलाई शपथ गराए। प्रदेश प्रमुखको कार्यालय विराटनगरमा भएको कार्यक्रममा नवनियुक्त मन्त्रीहरूले आफू निकटका कार्यकर्ता बोलाइदिँदा कार्यक्रमस्थल अस्तव्यस्त भएको थियो।
साँघुरो हलभित्र आयोजना गरिएको शपथ ग्रहण कार्यक्रममा बस्ने कुर्सी समेत नभेटेपछि सांसदहरू हलबाट बाहिरिएका थिए। बोलाइएका विभिन्न मन्त्रालय कर्मचारी तथा विभिन्न विशिष्ट व्यक्तिहरूलाई गेटबाट नै भित्र प्रवेश दिइएको थिएन।

प्रदेश सभा सदस्य शमशेर राईले ‘माननीय’ लेखिएको कुर्सीमा अरु नै गएर बसेको देखेपछि आफू फर्किएको प्रतिक्रिया दिए।
उनले साँघुरो हलभित्र शपथ ग्रहण कार्यक्रम सञ्चालन गरिँदा व्यवस्थापन माथि नै प्रश्न उठेको बताए। ‘धेरै जनाले शपथ ग्रहण गर्छन् भन्ने जान्दा जान्दै साँघुरो ठाउँमा कार्यक्रम गर्नु प्रदेश प्रमुख कार्यालयको कमजोरी हो’ उनले भने।

शपथ ग्रहण सुरु हुनभन्दा पहिला आमन्त्रण गरिएका बाहेक सबैलाई हलबाट निस्किन भनिएको थियो। तर कोही निस्कन नचाहेपछि अग्रभागबाट हटाएर शपथ ग्रहण गराइएको थियो।
शपथ ग्रहणसँगै मुख्यमन्त्री कार्की नेतृत्वको कोसी सरकार ११ सदस्यीय बनेको छ। नवनियुक्त ८ जना मन्त्री र दुई राज्यमन्त्रीले आजै पदबहाली गर्ने जनाइएको छ।
Shares

प्रतिक्रिया