कोशी


नोबेल मेडिकल कलेजमा इन्टर्न डाक्टरको मृत्युको कारण के?

नोबेल मेडिकल कलेजमा इन्टर्न डाक्टरको मृत्युको कारण के?

सुमन सुस्केरा
पुस ६, २०८२ आइतबार २२:१०, विराटनगर

आइतबार बिहान ६ बज्दै गर्दा विराटनगरस्थित नोबेल मेडिकल कलेजको परिसर सधैँझैँ शान्त थियो। तर, एकाएक मेन गेट अगाडि ठूलो आवाज सुनियो। अस्पतालको पाँचौँ तलाबाट खसेका एक युवकलाई देखेपछि त्यहाँ रहेका मानिसहरू स्तब्ध भए। गम्भीर घाइते अवस्थामा भेटिएका ती युवक अरू कोही नभएर सोही कलेजमा कार्यरत इन्टर्न डाक्टर अमित यादव थिए।

सप्तरीको राजविराज नगरपालिका–९ घर भएका यादव सन् २०१५ मा चिकित्सा शास्त्र पढ्न नोबेल भर्ना भएका १०औँ ब्याचका विद्यार्थी हुन्। लामो समयको मेहनतपछि डाक्टर बन्ने अन्तिम खुड्किलो ‘इन्टर्नसिप’ पूरा गर्दै गरेका अमितको जीवनको यात्रा भने सोचेभन्दा भिन्न मोडमा पुगेर टुङ्गियो। टाउकोमा गम्भीर चोट लागेका उनलाई तत्काल आकस्मिक कक्षमा पुर्‍याए पनि चिकित्सकहरूले बचाउन सकेनन्, मृत घोषणा गरे। 

छोराको खोजीमा बिहानैदेखि भौँतारिएका उनका बुबा शम्भुप्रसाद यादवले बाहिरबाट थाहा पाए, एक जना डाक्टरले अस्पतालको माथिल्लो तलाबाट हाम्फाल्यो भन्ने। 

घटना हुनुभन्दा केही समयअघि मात्र अमित र उनका बुवा शम्भुप्रसाद यादवले सँगै चिया खाएर कुराकानी गरेका थिए। छोरा बिरामी भएपछि बुवा उनलाई भेट्न शनिबार मात्र विराटनगर आएका थिए। अस्पताल नजिकैको कञ्चनबारी उत्तरतर्फको गल्लीमा कोठा भाडामा बस्दै आएका बाबु–छोराबीच बिहान सौहार्दपूर्ण कुराकानी भएको थियो। तर, केही समयपछि छोरा कोठामा नदेखेपछि बुवा खोज्न निस्किएका थिए। सोही क्रममा अस्पतालमा आत्महत्या गरेको खबर सुनेपछि हेर्न जाँदा उनले आफ्नै छोरालाई मृत अवस्थामा फेला पारेको सुनाए।

घटनाको मुख्य कारणबारे अस्पताल प्रशासन र बुवाको दाबी बाझिएको छ। अस्पतालका प्रशासन प्रमुख दिपेश राईले अमितको इन्टर्नसिप अझै नसकिएको र उनले प्रक्रिया पूरा नगरेको दाबी गरेका छन्। तर, मृतकका बुवाले भने छोराले इन्टर्नसिप पूरा गरिसकेको र नेपाल मेडिकल काउन्सिलको परीक्षा समेत दिइसकेको बताएका छन्।

बुवाका अनुसार इन्टर्नसिप सकेको प्रमाणपत्र (डकुमेन्ट) हराएपछि अमित केही समयदेखि ठूलो मानसिक तनावमा थिए। शम्भुप्रसादका दुई छोरामध्ये कान्छा अमितको मृत्युले परिवार शोकमा डुबेको छ।

उनले प्रहरीलाई दिएको जानकारी अनुसार अमित केही समयदेखि मानसिक समस्यामा थिए र नियमित औषधि समेत सेवन गरिरहेका थिए। 

घटनाको समयमा भवनको पाँचौँ तलामा अमित एक्लै रहेको अस्पताल प्रशासनले जनाएको छ। तलबाट मानिसहरूले उनलाई खस्दै गरेको देखेपछि मात्र घटना सार्वजनिक भएको थियो। प्रशासनका अनुसार उनी कुन अवस्थामा माथि पुगे र के कारणले यस्तो निर्णय लिए भन्नेबारे स्पष्ट जानकारी अस्पताल प्रमुख राईले दिन नसकेपछि यस बारेमा कलेजका प्रिन्सिपल डा राजेश नेपालसँग नेपालखबरले सोधेको थियो । 

प्रिन्सिपल नेपालका अनुसार ती विद्यार्थी बिहानै अस्पतालको छतमा चढेका थिए। उनलाई छतमा चढेको देखेपछि उपस्थित व्यक्तिहरूले नियन्त्रणमा लिने प्रयास गरेका थिए। तर, उनीहरू नजिक पुग्नुअघि नै विद्यार्थीले छतबाट हाम फालेका थिए। 

डा नेपालले यस घटनालाई विशुद्ध मानसिक स्वास्थ्य समस्या भएको बताएका छन्। डा नेपालका अनुसार ती विद्यार्थी विगत केही समयदेखि डिप्रेसनबाट पीडित थिए र त्यसको नियमित उपचार तथा औषधि सेवन गरिरहेको आफूलाई जानकारीमा आएको सुनाए। 

‘उनी डिप्रेसनमा थिए र उपचार भइरहेको बुझिएको छ,’ उनले भने, ‘यो शैक्षिक वा इन्टर्नसिपसँग जोडिएको विषय होइन। कलेजको नीति अनुसार इन्टर्नसिपमा कुनै समस्या थिएन, उनी आफ्नो इन्टर्नसिपको अन्तिम चरणमा थिए।’

शैक्षिक र नीतिगत पक्ष इन्टर्नसिप नपाएको वा रोकिएको कारणले तनाव भएको हुन सक्ने जिज्ञासामा डा नेपालले नेपाल मेडिकल काउन्सिलको नियम अनुसार इन्टर्नसिप सुरु गरेको ६ महिनापछि परीक्षा दिन पाइन्छ र १२ महिना सकिएपछि सर्टिफिकेट प्राप्त हुन्छ। इन्टर्नसिपको अवधिमा बिदा लिएमा वा गयल भएमा पछि समय थप गरेर पूरा गर्न पाउने लचिलो प्रावधान रहेकाले कलेजको तर्फबाट कुनै दबाब नरहेको उनको दाबी छ।

उनले सिजोफ्रेनिया बाहेकका अन्य मानसिक समस्या (एन्जाइटी, डिप्रेसन आदि) भएका व्यक्तिहरूले उपचार गराउँदै सामान्य जीवन बिताउन र चिकित्सकीय क्षेत्रमा काम गर्न पाउने कानुनी व्यवस्था रहेको जानकारी दिए। ती विद्यार्थीको हकमा पनि पारिवारिक रूपमा मानसिक स्वास्थ्यको समस्या पुष्टि भइसकेको कलेजको भनाइ छ। जिल्ला प्रहरी कार्यालय मोरङकी डीएसपी कोपिला चुडालले घटनाको प्रकृति हेर्दा उनले हाम फालेर आत्महत्या गरेको नै बताएकी छन्। 

अमित माथिबाट कसरी झरे र उनको मृत्युको कारण के हो भन्ने बारेमा अस्पताल प्रशासन मौन छ। 

एउटा भविष्य बोकेको युवा डाक्टरको यसरी आकस्मिक र दुखद अन्त्य हुनुले चिकित्सा शिक्षाको दबाब र विद्यार्थीको मानसिक स्वास्थ्यको मुद्दालाई पुनः सतहमा ल्याइदिएको छ। यो घटनाले अस्पताल प्रशासन र उनका सहकर्मीहरूलाई मात्र होइन, एउटा परिवारलाई कहिल्यै निको नहुने चोट दिएको छ। 

यसअघि २०७६ जेठमा अस्पताल नजिकै कोठामा बस्दै आएका नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालका मेडिकल अधिकृतको मृत्यु भएको थियो। नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत सप्तरीको मलेखपुर–६ खुरखुरीया घर भएका मेडिकल अफिसर डा. विजय कुमार यादवको शव विराटनगर–४ स्थित आफू बस्ने घरको कम्पाउन्डमा शङ्कास्पद रूपमा भेटिएको थियो। यो विषय पनि त्यसै छाडिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad