मोरङको बुढीगंगाका एक बालक केही दिनअघि ‘इटहरीमा सामान पुर्याएर आउँछु’ भन्दै घरबाट निस्किए। उनी इटहरीसम्म पुगेको परिवारलाई जानकारी थियो, तर त्यसपछि उनको मोबाइल स्विच अफ भयो। न बालक घर फर्किए, न परिवारको सम्पर्कमा आए।
प्रहरीले अनुसन्धान सुरु गर्यो। प्राविधिक र प्रहरी च्यानलमार्फत खोजी गर्दा थाहा भयो, ती बालक त सीमा पार गरेर भारतको कोलकाता पुर्याइसकिएका रहेछन्। भारतीय नागरिकको संलग्नतामा उनलाई ललाई–फकाई, उसको मञ्जुरी जस्तै देखिने गरी त्यहाँ पुर्याइएको थियो। मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार, भारतको अररिया जिल्लाका एसएसपीसँगको विशेष समन्वयपछि मात्र ती बालकको उद्धार सम्भव भयो।
यो एउटा प्रतिनिधि घटना मात्र हो। पछिल्लो समय मानव तस्करहरूले अपनाउने शैली यति सूक्ष्म र जटिल बन्दै गएको छ कि, सामान्य आँखाले त्यसको गहिराइ नाप्नै मुस्किल पर्छ। विराटनगरमा शुक्रवार सम्पन्न ‘मानव बेचबिखन नियन्त्रणका लागि प्रतिकार्य सुदृढीकरण’ विषयक दुई दिने सम्मेलनमा नेपाल र भारतका सहभागी अधिकारी र अभियन्ताहरूले तस्करीको यो डरलाग्दो र बदलिँदो स्वरूपका विषयमा छलफल गरेका छन्।

तालिम र सिपको ‘आवरण’मा तस्करी
हिजोआज मानव तस्करी कोठीहरूमा मात्र सीमित छैन। झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार, अहिले सिप सिकाउने नाममा खुलेका ब्युटी पार्लर, कन्सल्टेन्सी र म्यानपावर एजेन्सीहरू नै तस्करीको अखडा बन्न थालेका छन्।
‘सिप सिकाउने बहानामा पासपोर्ट मगाउने र त्यहीँबाट तस्करीको सेटिङ मिलाउने गरिएको पाइएको छ,’ प्रसाईँ भन्छन्, ‘केन्द्रमा अधिकार केन्द्रित हुँदा सीमा क्षेत्रको निगरानी कमजोर बनेको छ।’
उनका अनुसार, सिलगढी हुँदै खाडी मुलुक र माल्दिभ्ससम्म महिला तथा किशोरीहरू पुर्याइने गरेका छन्, जसको ठोस तथ्याङ्क पाउन भने कठिन छ।
४ लाख ५० हजारमा भारतीय पहिचान
नेपाली नागरिकलाई तेस्रो मुलुक पुर्याउन भारतमा ठूलो गिरोह सक्रिय रहेको सनसनीपूर्ण तथ्य पनि सम्मेलनमा उजागर भएको छ। कञ्चनजङ्घा उद्धार केन्द्र, सिलगढीका कोअर्डिनेटर प्रभात पाठकका अनुसार, भारतमा झन्डै ४ लाख ५० हजार रुपैयाँ खर्च गरेपछि नेपालीका लागि सबै ओरिजिनल देखिने भारतीय कागजात तयार पारिन्छ।
‘नक्कली डकुमेन्ट यति सहजै बन्छ कि त्यसकै आधारमा उनीहरूलाई भारतीय नागरिक बनाएर तेस्रो मुलुकमा बिक्री गरिन्छ,’ पाठकले भने। यति मात्र होइन, ग्रामीण भेगका बालबालिकालाई लामा पढ्न पठाउने भन्दै गुम्बाहरूमा तस्करी गर्ने र त्यहाँ उनीहरूमाथि यौन दुर्व्यवहार हुने गरेका घटनासमेत उनले कार्यक्रममा सार्वजनिक गरे। धर्म र संस्कारसँग जोडिएका ठाउँ भएकाले प्रहरी प्रशासनले पनि ती क्षेत्रमा सहजै अनुगमन गर्न नसक्नु तस्करका लागि सहज भएको उनले बताए।
प्रविधिले संसारलाई नजिक त बनायो, तर तस्करहरूका लागि यो नयाँ हतियार बनेको छ। भारतीय अभियन्ता सञ्जय कुमारका अनुसार, अहिले कम उमेरका बालबालिकाहरू सामाजिक सञ्जालमार्फत माया जाल (हनी ट्रयापिङ) मा पर्ने गरेका छन्। साइबर ब्युरोतर्फ सुनाउँदै यस्ता विषयहरू गम्भीर हुनु पर्ने बेला आएको बताए।
साइबर ब्युरोका प्रहरी निरीक्षक सुरज बराल भन्छन्, ‘मानव तस्करीको रूप बदलिँदो छ। फेसबुक र टिकटक जस्ता माध्यमबाट सम्बन्ध बनाउने र पछि उनीहरूलाई सीमा कटाउने काम भइरहेको छ।’ भारतीय प्रहरीसँगको बलियो समन्वयबिना यस्ता घटनाको अनुसन्धान र उद्धार असम्भव जस्तै रहेको उनको अनुभव छ।

पहिले नेपाली किशोरीहरूलाई मुख्यतया मुम्बई वा दिल्लीका कोठीहरूमा लगिन्थ्यो। तर, अहिले यो प्रवृत्ति बदलिएर मसाज सेन्टर, डान्स बार, डिस्को, र अर्केस्ट्राहरूमा पुर्याइने गरेको छ। हैदरावादबाट आएका अभियन्ताहरूका अनुसार, नेपालबाट तेलंगना राज्य र हैदरावादमा ठूलो सङ्ख्यामा किशोरीहरू पुग्ने गरेका छन्।
उदयपुरका दुई किशोरीलाई दिल्लीबाट उद्धार गर्न महिनौँ लागेको अनुभव सुनाउँदै दिल्लीमा बचपन बचाओ अभियानमा लागेकी अभियन्ता ज्योति पाण्डेले भनिन्, ‘तस्करीको जालो यति बलियो छ कि उद्धार गरेर नेपाल फर्काउनै ठूलो युद्ध लड्नुपर्छ।’
भारतीय सुरक्षा बल एसएबीका अधिकारी सञ्जीव कुमारले दुई देशीय सुरक्षा अधिकारीहरूको बैठकमा यी विषयहरू छलफल हुने गरेको बताए। उनले सीमा क्षेत्रमा हुने निगरानीलाई कडा पारिएको समेत जानकारी दिए। एसएसबीले सीमा क्षेत्रमा हुने तस्करी रोक्नको लागि सादा पोसाकमा कर्मचारीहरू परिचालन गरिरहेको जानकारी दिए।
नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पङ्गेनीले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको लागि समन्वय हुने गरेको बताए। दिल्ली पुलिस लगायत भारतीय सुरक्षा बल र सङ्घ संस्थाहरूले नेपाल प्रहरीले गरेका अप्रेसनहरूमा सफल भएको बताए।

संयुक्त अभियानको चासो
माइती नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा वर्ड इन डाडको सहयोगमा भएको यो सम्मेलनले मानव तस्करी अब कुनै एक देशको मात्र समस्या नभएको निष्कर्ष निकालेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नक्कली कागजातको प्रयोग र उद्धारमा हुने ढिलाइलाई प्रमुख चुनौतीका रूपमा स्वीकार गरिन्। उनले दुई देशबीच फास्ट ट्याक संयन्त्र र पीडित मैत्री कार्यविधिको आवश्यकता औँल्याइन्।
माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले दशकौँदेखिको आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘खुला सिमानाका कारण जोखिम बढेको छ। जबसम्म शिक्षा, जनचेतना र दुई देशबीच बलियो संस्थागत समन्वय हुँदैन, तबसम्म हाम्रा छोरीहरू सुरक्षित हुन सक्दैनन्।’
सिमानामा सेटिङ मिलाएर बस्ने गिरोह र नक्कली डकुमेन्ट बनाउने समूहलाई भत्काउने काममा दुई देश बिचको सुरक्षा अधिकारीहरूले काम गरिरहेको बताएका छन्।
विराटनगर घोषणापत्रले सूचना आदानप्रदान, पीडितको संरक्षण र संयुक्त कार्यदल गठनमा जोड दिएको छ।
Shares

प्रतिक्रिया