विराटनगरको राजनीतिमा चार दशकदेखि अनवरत सक्रिय विनोद ढकाल यतिबेला आफ्नो राजनीतिक जीवनको सबैभन्दा कठिन मोडमा उभिएका छन्। भोजपुरको मध्यमवर्गीय परिवारमा जन्मिएर विद्यार्थी राजनीति हुँदै एमालेको केन्द्रीय तहसम्म पुगेका ढकालका लागि सांगठनिक सक्रियता जति सबल देखियो, चुनावी नतिजाहरू भने त्यति नै प्रतिकुल बन्दै आएका छन्।
२०४१ सालमा भोजपुरको शारदा मावि प्याउलीबाट एसएलसी दिए। २०४२ सालदेखि विराटनगरलाई कर्मथलो बनाएर राजनीति सुरु गरे। २०४२ देखि २०४५ सम्म अखिलको विराटनगर नगर कमिटी अध्यक्ष बनेका ढकाल २०४७ मा अखिल मोरङको अध्यक्ष भएर दुई कार्यकाल नेतृत्व गरे। उनी अखिलको केन्द्रीय उपाध्यक्षसम्म पुगे।
२०६६ सालमा एमाले मोरङको अध्यक्ष निर्वाचित ढकाल २०६९ को जिल्ला अधिवेशनमा महेश रेग्मीसँग पराजित भए। २०७३ मा उनी पुनः जिल्ला अध्यक्षमा फर्किए।
पार्टी राजनीतिमा बलियो भएपनि संसदीय राजनीतिमा ढकाल सधैँ असफल भए।
२०६५ सालको संविधानसभा उपनिर्वाचनमा तात्कालीन मोरङ क्षेत्र नम्बर ७ बाट कांग्रेस नेता डा शेखर कोइरालासँग पराजित भए।
२०७४ को स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका उनी कांग्रेसका भीम पराजुलीसँग पराजित भए।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ बाट माओवादी केन्द्रका अमनलाल मोदीसँग पराजित हुँदै उनले तेस्रो हार पूरा गरे।
विडम्बना त के छ भने, जनतामाझ मात्र होइन, हालै सम्पन्न पार्टीको ११ औँ महाधिवेशनले समेत उनलाई नेतृत्वमा अस्वीकार गरिदिएपछि उनको राजनीतिक भविष्यमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ। उनी यसअघि प्रदेश कमिटीको अध्यक्ष पदमा समेत पराजित भएका थिए।
ढकाल लामो समय जेलनेल र संघर्ष भोगेका, शैक्षिक रूपमा योग्य र स्पष्ट भिजन भएका नेता मानिन्छन्। स्थानीय स्तरमा सबैका प्यारा नेता ढकाल पार्टीभित्रका स्पष्ट नेताका रूपमा लिइन्छन्।
एमाले मोरङको नेतृत्व सम्हालिसकेका र केन्द्रीय सदस्य समेत रहिसकेका ढकालका लागि यो आन्तरिक पराजयले उनको अबको यात्रामा कसरी अघि बढ्छ भन्ने प्रश्न छ। उनी महाधिवेशनमा सचिव पदमा पराजित भएका हुन्।
प्रतिस्पर्धामा हारजीत सामान्य हुने ढकाल बताउँछन्।
'यो प्रतिस्पर्धा हो, कसैले जित्छ, कसैले हार्छ, यसलाई सामान्य रूपमा लिनु पर्छ,' उनले भने, 'पार्टी निर्माणमा निरन्तरता नै हाम्रो उदेश्य हो।'
Shares

प्रतिक्रिया