नेकपा एमाले केन्द्रीय समितिले अस्वीकार गरेको दुई जिल्लाको विवाद लेनदेनका आधारमा टुंगो लगाएको छ। नेकपा एमालेको केन्द्रीय महाधिवेशन मंसिर २७ देखि काठमाडौँमा गर्ने तयारी भइरहँदा कोसी प्रदेशका दुई जिल्ला तीव्र विवादमा परेको थियो।
सर्वसम्मतको आधारमा प्रतिनिधि छनोट नगरिएको भन्दै ओली निकट समूहले ओखलढुंगा र धनकुटा जिल्लामा बखेडा झिकेको थियो। धनकुटामा संस्थापन र ओखलढुंगामा इतर पक्षका प्रतिनिधि निर्वाचित भएका थिए। त्यसको विरोध हुँदै आएको थियो।
जिल्लाले निर्वाचन गरेर पठाएका प्रतिनिधिहरूलाई केन्द्रीय र प्रदेश समितिले अस्वीकार गर्दै पुनः प्रतिनिधि छनोट प्रक्रिया सुरु गर्न निर्देशन सहितको पत्र दुवै जिल्लालाई पठाएको थियो। ओखलढुंगा र धनकुटामा केन्द्रको निर्देशनपछि सहमतिका आधारमा लेनदेन गरेर प्रतिनिधि सर्वसम्मत गरिएको नेकपा एमाले धनकुटाले जनाएको छ।
१३ जना प्रतिनिधि रहेको धनकुटामा २ जना इतर पक्षलाई समावेश गरेर प्रतिनिधि छनोट मिलाइएको एमालेका एक नेताले जानकारी दिए। संस्थापन समूहका अर्जुन छाराहाङ र शान्तिराम गौतमलाई फिर्ता गराएर इतर पक्षका मनोज राई र निरन तामाङलाई प्रतिनिधि लग्ने सहमतिपछि एमाले धनकुटाको प्रतिनिधि छनोट विवाद मिलेको हो।
धनकुटाबाट अन्य प्रतिनिधिहरूमा भने यस अघि निर्वाचित भएकाहरूलाई नै पठाउने सहमति भएको छ। शिव आङ्ला, चिन्तन तामाङ, परशुराम नेपाल, खजिन्द्र राई, निरन राई, सरोज राई, निर्मला इवाहाङ, गोमा कार्की, तुलसी राई, सम्झना आलो र नैन विश्वकर्मा संस्थापन पक्षीय प्रतिनिधिको रूपमा ब्यख्या गरिएको छ।
मौन अवधिमा बहिस्कार गरेकालाई मिलाउन लेनदेन
१२ जना प्रतिनिधि छनोट गरेर पठाउनु पर्ने ओखलढुंगामा ४ जना संस्थापन पक्षका प्रतिनिधिमा थपिएपछि त्यहाँको विवाद पनि समाधान भएको छ।
सर्वसम्मतिको नाममा भएको यो कार्यलाई जिल्ला समितिले भने सकारात्मक रूपमा लिएको छैन। निर्वाचन गरेर निर्वाचन समितिले निर्वाचित गरिसकेपछि पुनः फिर्ता गराएपछि त्यो विषयमा जिल्ला समितिले असन्तुष्टि जनाएको हो।
ओखलढुंगामा ओली पक्षबाट पूर्व जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला उपसचिव अस्मिता थापा, संविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारी प्रतिनिधिमा थपिएका छन्।
१३ गते भएको प्रतिनिधि छनोटको निर्वाचनबाट छानिएका जिल्ला कमिटी सचिव अशोक थापासहित केदारबाबु बस्नेत, पशुपति गुरुङ र जुना विकले निर्वाचनबाट छनोट भएको प्रतिनिधि पद सहमतिका लागि त्याग गरेको बताएका छन्।
उनीहरूका ठाउँमा पूर्व जिल्ला कमिटी अध्यक्ष मोहनकुमार श्रेष्ठ, जिल्ला कमिटी उपसचिव अस्मिता थापा, संविधानसभा सदस्यहरू हर्कबोल राई र शकुन्तला राजभण्डारी महाधिवेशन प्रतिनिधि चयन गरिएको छ।
अन्य प्रतिनिधिहरू भने जिल्लाबाट निर्वाचित भएकैका नाममा सहमति भएको छ। जिल्लाबाट निर्वाचित भएर कायम रहेका प्रतिनिधिमा कोसी प्रदेशका पूर्व मन्त्री अम्बिरबाबु गुरुङ, जिल्ला कमिटी अध्यक्ष ज्ञानबहादुर खड्का (जीबी), जिल्ला उपाध्यक्ष कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, उपसचिव राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे छन्।
ओखलढुंगाको अन्तर संघर्ष
ओखलढुंगा एमालेभित्र अम्बिरबाबु गुरुङ पक्ष र यज्ञराज सुनुवार पक्षको २ लाइन संघर्ष छ। विगत २ वटा जिल्ला अधिवेशनमा मौलाएको गुटगत प्रतिस्पर्धा यस पटक महाधिवेशन छनोटसम्म आइपुग्दा सतहमा देखिएको हो। जिल्ला तहमा एक पक्षले अर्को पक्षलाई स्वीकार गर्नै नसक्ने अवस्था छ।
त्यसको असर तल्ला कमिटीसम्म पुगेसँगै कार्यकर्ता पनि पक्ष र विपक्षमा विभाजित भएको नेताहरू बताउँछन्। वर्तमान जिल्ला कमिटीमा एक उपसचिव बाहेक अन्य पदाधिकारी गुरुङ पक्षका छन्। त्यसैले जिल्ला कमिटीको पदाधिकारीले गरेका निर्णयमा सुनुवार पक्षले धेरैजसो असहमति राख्दै आएको छ।
यस पटकको प्रतिनिधि चयनमा कुनै पनि भूमिकामा इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार जिल्लामा देखिएका थिएनन्। कहिले गुरुङ पक्षमा कहिले सुनुवार पक्षमा देखिने निर्वाचन क्षेत्र इन्चार्ज रहेका किशोर अधिकारीले पनि यस पटक सुनुवारलाई नै साथ दिएका थिए।
एमाले स्रोतका अनुसार, जिल्लामा प्रतिनिधि छनोटको कुनै भूमिकामा नबसेका सुनुवार र अधिकारीले केन्द्रमा बसेर आफू निकटका नेताहरूलाई निर्वाचन बहिष्कार गराउन उकासेको आरोप लागेको छ। उनीहरूकै इसारामा पत्रकार सम्मेलन गरेर प्रतिनिधि छनोटको सहमतिमा परेका चारैजनाले निर्वाचन बहिस्कार गरेका थिए।
सुनुवार पक्षको निर्देशनमा केही पालिका कमिटीहरूले केन्द्रीय संगठन विभागलाई जिल्ला कमिटीले सदरमुकाममा निर्वाचन गराउँदा धेरै मतदाताहरू छुटेको भन्दै पालिकामा नै निर्वाचन गराउन माग गरेका थिए।
गुरुङ पक्षको निर्देशनमा पालिकामा वर्तमान अवस्थामा निर्वाचन गराउन आर्थिक, प्राविधिक र सुरक्षाका दृष्टिकोणले सहज नहुनेभन्दै सदरमुकाममै मतदान केन्द्र राख्न सुझाव दिएको पत्र लेखेका थिए।
नेकपा एमालेले प्रतिनिधि छनोटका विषयमा जारी गरेको अपानी १३ मा जिल्ला कमिटीले सम्भव भएसम्म सहमति गर्ने अन्यथा स्थानीय आवश्यकताका आधारमा मतदान केन्द्र तोकेर चुनाव गराउने उल्लेख थियो।
सोही बमोजिम तोकिएको निर्वाचन कार्यक्रममा सहमति जनाएरै उम्मेदवारी दिए पनि निर्वाचनमा अम्बिरबाबु गुरुङ पक्षका १२ जनाले जित्ने र आफूहरू पराजित हुने आँकलन गरेर संस्थापन पक्षीय उम्मेदवारहरू मौन अवधि सुरु भएपछि मतदान बहिष्कार गरेर हिँडेका थिए।
निर्वाचन कमिटीले पूर्व निर्धारित कार्य तालिका अनुसार नै निर्वाचन गराएर १२ जना उम्मेदवारलाई विजयी घोषणा गरेको थियो। सुनुवार पक्षले केन्द्रमा निरन्तर दबाब दिएर जिल्लामा निर्वाचनबाट आएका प्रतिनिधिलाई स्वीकार गर्न नसकिने भन्दै ५ दिन भित्र पुनः मतदान गर्न संगठन विभागबाट जिल्ला कमिटीलाई पत्राचार गर्न लगाएको गुरुङ पक्षको आरोप छ।
कोसी प्रदेश इन्चार्ज शेरधन राई, संगठन विभाग सदस्य विशाल भट्टराईसहित नेताहरू यज्ञराज सुनुवार र किशोर अधिकारी रहेको कार्यदल बनाएर पुनः निर्वाचन गराउने कार्यको संयोजन गर्ने जिम्मेवारी दिएको थियो। सहमति गराएको हो।
ओखलढुंगामा सर्वसम्मतिका लागि दवाव दिएका प्रदेश इन्चार्ज शेरधन राईले धनकुटामा भने विवाद सिर्जना गराएको आरोप लाग्दै आएको छ। एमाले भित्र छुट्टै गुट बनाउन लागेको भन्दै शेरधन राईमाथि एमालेका कार्यकर्ताहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
Shares

प्रतिक्रिया