संसदीय समितिको भूमिका प्रभावकारी नबन्दा सुशासन कमजोर बनेको पत्रकारहरूले निष्कर्ष निकालेका छन्। संसदीय पत्रकार मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी पत्रकार तथा सञ्चारकर्मीहरूले संसदीय समितिहरूको भूमिका कमजोर, निष्क्रिय र गैरजिम्मेवार बन्दै गएकोमा कडा टिप्पणी गरे।
सहभागी पत्रकारहरूले ओभरसाइट बिजनेसमा समितिहरू सक्रिय नहुनु, प्रतिवेदन सार्वजनिक नगर्नु, घटनास्थलमा नगई दायित्वबाट पन्छिनु, खर्चको पारदर्शिताबारे गम्भीर नहुनु र सरोकारवालासँग पर्याप्त संवाद नगर्नु जस्ता कारण उल्लेख गर्दै समितिको काम ‘शून्य’ जस्तै भएको जिकिर गरे।
पत्रकार गणेश लम्सालले समितिहरूले आफ्नो मुख्य दायित्व अनुगमन, छानबिन र निगरानीमा कमजोर प्रदर्शन गरेपछि धेरै महत्त्वपूर्ण मुद्दा समाधानविहीन बन्दै गएको बताए।
बैठक नबस्ने, प्रतिवेदन तयार पारेर पनि सार्वजनिक नगर्ने र स्थानीय सरोकारवालासँग औपचारिक संवाद नगर्ने अभ्यासले समितिको प्रभावकारिता थप घटेको उनले सुनाए।
‘समितिले बहाना बनाउँदै दायित्व टारिरहेको छ,’ उनले भने, ‘त्यसैले सुशासनको अनुभूति जनता पाएका छैनन्।’
पत्रकार अर्जुन आचार्यले समितिको बैठक महिनौँसम्म नबस्नु र सदन–सरकारको अनिश्चितताले प्रदेशलाई ‘अस्पष्ट’ अवस्थामा पुर्याएको बताए।
‘सदन र सरकार न जीवित न मृत, समितिहरू त झनै निष्क्रिय,’ उनको अभिव्यक्ति थियो। सहभागीहरूले हरेक वर्ष बजेट छुट्याइने तर त्यो रकम कसरी खर्च हुन्छ वा भयो भनेर समितिले निगरानी नगर्नु, अनुगमन नगर्नु वा गम्भीर नहुनु समितिको जिम्मेवारीप्रतिको उदासीनता भएको बताए।
जनप्रतिनिधिलाई गैरजिम्मेवार हुने छुट छैन, तर समितिले आफ्नो कामलाई छुट्टै बहानाबाट पन्छाइदिएको जस्तो देखिएको उल्लेख गरे।
छलफलमा सहभागीहरूको धारणा अनुसार समितिको निष्क्रियताले मिडिया, नागरिक र प्रशासनिक प्रणाली तीनै तहमा प्रत्यक्ष–अप्रत्यक्ष असर परेको छ।
सरोकारवालासँग समयमै छलफल नगर्ने, ठोस निर्णय नलिने र तथ्यमा आधारित प्रतिवेदन सार्वजनिक नगर्ने कमजोरीले सरकार प्रायः जवाफदेहीविहीन बनेको टिप्पणी गरियो।
संसदीय समितिहरूले सक्रिय भूमिका नखेलेसम्म न सरकार बलियो हुन्छ, न जनता ढुक्क हुन्छ र न सुशासन स्थिर रहन्छ।
वक्ताहरूले तत्काल सुधार, सक्रिय अनुगमन, समयमै बैठक, प्रतिवेदन सार्वजनिक र सरोकारवालासँग नियमित संवाद यी पाँच बुँदालाई समितिको प्रभावकारिता बढाउने मूल उपायको रूपमा प्रस्तुत गरे।
कार्यक्रममा सहभागी लिला बल्लभ घिमिरे, सुमन पुरी, मिनकुमार नवोदितले पत्रकारहरूले अब आफ्ना कन्टेन्टमा सुधार गर्दै लग्नु पर्ने बताए। बदलिएको परिवेशमा सबै क्षेत्र सुधारिएर जानु पर्ने बताए।
Shares

प्रतिक्रिया