जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरमा चक्कु प्रहार गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ।
रामेछाप घर भई हाल विराटनगर महानगरपालिका वडा नं १ अनुकरण मार्गस्थित मोहन भट्टराईको घरमा कोठा भाडामा बस्दै आएका २९ वर्षीय रुबिन कार्कीलाई प्रहरीले धारिलो हतियारसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, कार्कीलाई उनका आफन्तहरूले ‘नेपाल सुधारगृह’ काठमाडौं पठाउन लागेका थिए। सोही क्रममा उनले कोठाभित्र पसेर आत्महत्या गर्न खोजेको जानकारी पाएपछि सीआरभी भृकुटीचोकबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
आफन्तहरूको सहयोगमा कार्कीलाई सम्झाई बुझाई गर्ने क्रममा उनले अचानक धारिलो हतियार (चक्कु) प्रहार गरेको प्रहरीले जनाएको छ।कार्कीको चक्कु प्रहारबाट घटनास्थलमा खटिएका दुई जना प्रहरी कर्मचारी र सुधार गृहका एक कर्मचारी घाइते भएका छन्।
घाइते हुनेहरूमा सिआरभी भृकुटीचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक (प्रसनि) भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र नेपाल सुधार गृहका कर्मचारी सन्तोष सापकोटा रहेका छन्। उनीहरू सबैको टाउकोमा सामान्य चोट लागेको छ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट थप प्रहरी टोली खटिएर कार्कीलाई घटनास्थलबाटै चक्कुसहित नियन्त्रणमा लिएको थियो। पक्राउ परेका कार्कीलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया