कोशी


हात्ती नियन्त्रणका लागि रबरको गोली हान्न प्रदेशसभा सांसदको माग

हात्ती नियन्त्रणका लागि रबरको गोली हान्न प्रदेशसभा सांसदको माग

नेपालखबर
असार ७, २०८३ आइतबार १५:१२, विराटनगर

कोसी प्रदेशसभाको बैठकमा झापाको बाहुनडाँगी क्षेत्रमा वर्षौंदेखि जारी हात्ती आतंक नियन्त्रणका लागि रबरको गोली हान्न माग गरिएको छ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले भारतबाट आउने जंगली हात्तीलाई रबरको गोली हानेर फिर्ता पठाउन माग गरेका हुन्। विशेष समयमा बोल्दै उनले जेठ ३१ गते बिहान बाहुनडाँगी नजिकै पदमा पौडेलको हात्तीको आक्रमणबाट मृत्यु भएको दुःखद घटना स्मरण गराउँदै दशकौंदेखि स्थानीय बासिन्दा निरन्तर त्रासको भूमरीमा बाँचिरहेको बताए। 

बाहुनडाँगी क्षेत्रमा मात्रै हात्तीको आक्रमणबाट अहिलेसम्म बीसौँ जनाले ज्यान गुमाइसकेको भन्दै उनले भारततर्फको जंगलबाट मेची नदी पार गरेर बथानका बथान हात्ती आउने गरेकाले स्थानीय संघर्ष समितिले अघि सारेका चार सूत्रीय माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।

प्रमुख सचेतक तामाङले सरकारको नीति तथा कार्यक्रममा मेची नदी हुँदै बाहुनडाँगी र कोशीटप्पुदेखि जोगदहसम्मको क्षेत्रलाई हात्तीमैत्री तथा जैविक कोरिडोरको रूपमा विकास गर्ने योजना ल्याइए पनि त्यो बाहुनडाँगीवासीका लागि अभिशाप बनेको टिप्पणी गरे। नागरिकको खेतीयोग्य जमिन, आवास र आवादी क्षेत्र रहेको मानव बस्तीलाई उजाड बनाउने गरी ल्याइएको जैविक कोरिडोरको अवधारणा मानवता विरोधी रहेको भन्दै उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारको यो अव्यावहारिक कार्यक्रम तत्काल बन्द हुनुपर्ने माग स्थानीयको रहेकोले त्यसमा सरकारलाई ध्यान दिन आग्रह गरे। 

उनले भने, ‘स्थानीयको घर भत्किने, बालीनाली नष्ट हुने र नागरिकको ज्यान जाने जस्तो गम्भीर र संवेदनशील विषय पर्यटनको एजेन्डा बन्न नसक्ने भन्दै हात्ती आतंकलाई पर्यटन प्रवर्द्धनको रूपमा व्याख्या गर्ने गतिविधि तत्काल रोक्न स्थानीयवासीले माग गरेका छन्, यो कायम तत्काल रोकिनु पर्छ।’

भारतमा पनि जंगली हात्ती धपाउन रबरको गोली र बुलेट प्रहार गर्ने चलन रहेको उल्लेख गर्दै प्रमुख सचेतक तामाङले नेपालतर्फ पनि बिनाशर्त भारतबाट आउने हात्तीलाई रबरको गोली हानेर जताबाट आएको हो, उत्तै फर्काउने व्यवस्था गर्न माग गरे।  

हात्ती नियन्त्रणको दीर्घकालीन समाधानका लागि मेची नदीमा सञ्चालित जनताको तटबन्ध कार्यक्रम अन्तर्गत अझै ५ किलोमिटर क्षेत्र खाली रहेकाले सोही खण्डबाट हात्तीहरू मानव बस्तीमा पस्ने गरेको उनको भनाइ थियो।

सो बाँकी रहेको क्षेत्रमा तत्काल हात्ती रोक्ने खालको बलियो संयन्त्र निर्माण गर्न करिब ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएकाले सरकारले तत्काल स्थानीय सशर्त वित्तीय हस्तान्तरण मार्फत बजेट व्यवस्थापन गरी सीमावर्ती क्षेत्रका नागरिकको जनजीवन सहज र सुरक्षित बनाउन प्रदेशसभा मार्फत सरकारसँग जोडदार माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad