कोशी


विराटनगरमा निर्माण मापदण्ड परिवर्तन, भवन बनाउन यी सर्त पालना गर्नुपर्ने

विराटनगरमा निर्माण मापदण्ड परिवर्तन, भवन बनाउन यी सर्त पालना गर्नुपर्ने

नेपालखबर
असार ५, २०८३ शुक्रबार १५:१, विराटनगर

विराटनगर महानगरपालिकाले घर तथा अन्य भवन निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधिलाई रोक्न नयाँ मापदण्ड लागु गरेको छ।

अव्यवस्थित गतिविधिका कारण नाला जाम, सडक क्षति तथा सरसफाइ व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण गर्न नयाँ मापदण्ड लागू गरेको छ।

अबदेखि घर नक्सा पास गर्ने प्रक्रियामा निर्माणकर्ताले सरसफाइसँग सम्बन्धित सात वटा अनिवार्य सर्त पालना गर्नुपर्ने भएको छ।

महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाले जारी गरेको व्यवस्थाअनुसार निर्माण सामग्री सडक, नाला तथा पेटीमा राख्न पाइने छैन। साथै निर्माण सामग्री ढुवानीका क्रममा नाला जाम भए वा क्षति पुगेमा सम्बन्धित निर्माणकर्ताले आफ्नै खर्चमा सफाइ तथा मर्मत गर्नुपर्ने भनिएको छ।

निर्माण स्थलबाट निस्कने बालुवा, सिमेन्ट तथा माटो मिसिएको पानी नालामा बगाउन निषेध गरिएको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन्। निर्माण कार्यका क्रममा मानवीय क्षति हुन नदिन आवश्यक सुरक्षा मापदण्ड अपनाउनुपर्ने व्यवस्था पनि गरिएको छ।

महानगरले नक्सा पास प्रमाणपत्र जारी गर्नुअघि निर्माण स्थल आसपासका नालाको सफाइ, नाला ढक्कनको मर्मत तथा सडकमा भएको टुटफुटको व्यवस्थापन अनिवार्य गरेको छ। यी कार्य पूरा नभएसम्म अन्तिम नक्सा पास प्रमाणपत्र जारी नगरिने जनाइएको छ।

त्यसै गरी महानगरका कर्मचारीले अनुगमनका क्रममा तोकिएका मापदण्ड पालना नगरेको भेटिएमा नियमानुसार जरिबाना गरिनेछ। निर्माणजन्य फोहोर सडक तथा सडक किनारमा जथाभावी थुपार्न पनि रोक लगाइएको छ।

निर्माणकर्ताले यी सबै सर्त पालना गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको उपप्रमुख कार्कीले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad