बाल संरक्षणका सवालमा संस्थागत सुधार र प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता व्यक्त गरिएको छ।
नेपाल बाल संगठन केन्द्रीय समितिले विराटनगरस्थित सामाजिक विकास मन्त्रालयमा बिहीबार आयोजना गरेको कोशी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बालबालिकाको संरक्षणमा संवेदनशील हुनु पर्ने बताएका हुन्।
कार्यक्रममा संगठनकी केन्द्रीय अध्यक्ष विद्या उपाध्याय न्यौपानेले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशस्तरीय भेलासमेत सम्पन्न भइसकेको जानकारी दिँदै, सेवा सुविधा बिना पनि सामाजिक कार्य गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा बाल संगठनको कामलाई प्रस्तुत गरिन्।
उनले ‘माननीय’ बन्ने बाटो रोज्नुको सट्टा बाल संगठन रोजेर त्यसलाई बलियो बनाउन लागिपरेको उल्लेख गर्दै, अनाथ मात्र होइन, अलपत्र परेका तथा विविध पृष्ठभूमिका बालबालिकाको संरक्षणमा जोड दिइन्।
न्यौपानेले कानुन, ऐन र संविधानको प्रावधानअनुसार विगतमा भङ्ग भएका बाल मन्दिरको पुनः जागृत गरी बेथितिलाई सुधार्न सकिने बताइन्। विद्यालयमा पढ्न जाने बालबालिकालाई बालगृहमा बस्ने भन्दै हुने विभेद र हेपाइ अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ थियो।
उनका अनुसार, कोशी प्रदेशमा हाल १० वटा बालगृह सञ्चालनमा छन् भने थप २ वटा निर्माणको तयारी भइरहेको उनको भनाइ छ।
कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १४ जिल्लाका बाल संगठनको अवस्थाबारे विस्तृत प्रतिवेदन तयार गर्न निर्देशन दिए। उनले २०१८ सालदेखि बालबालिकाको संरक्षणका लागि संगठन सक्रिय रहेको स्मरण गर्दै, आगामी वर्षदेखि बालबालिका सम्बन्धी मुद्दामा विशेष ध्यान दिइने र पर्याप्त बजेट विनियोजन गरिने बताए।
नेपाल बाल संगठन मोरङका अध्यक्ष नविन पहाडीले जिल्लामा संगठनका गतिविधि विस्तार भइरहेको जानकारी दिए। कार्यक्रम भुवन दाहालले सञ्चालन गरेका थिए।
Shares

प्रतिक्रिया