धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएका मोरङ, बेलबारी-११, लक्ष्मीमार्गका २५ वर्षीय मनोज न्यौपाने र विराटनगर निवासी २९ वर्षीय सुजन ढकालको शव बिहीबार बिहान मोरङ ल्याएर अन्त्येष्टि गरिएको छ।
साउन ११ गते नुहाउने क्रममा उनीहरू दुवै कुण्डमा डुबेका थिए।
खोजी कार्यमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको श्रीनाथ गणको संयुक्त टोलीले साउन १२ गते उनीहरूका शव निकालेको थियो।
उद्धार गरेको टोलीले उनीहरूको शव चन्दनबारी गुम्बासम्म स्ट्रेचरमार्फत ल्याएको थियो। साउन १४ गते शवलाई रसुवाको धुञ्चे ल्याएर पोस्टमार्टम गरिएको थियो। त्यसपछि परिवारको जिम्मा लगाइएको रसुवा प्रहरीले जनाएको छ।
बिहीबार (साउन १५) बिहान दुवै शव मोरङ ल्याएर इटहरीस्थित बुढीगंगा घाटमा हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ।
शोकाकुल परिवार, आफन्तजन र स्थानीयवासीको बाक्लो उपस्थितिमा धार्मिक विधिअनुसार दागबत्ती दिइएको थियो।
Shares

प्रतिक्रिया