कोशी


कोसी प्रदेश सभामा ‘श्री ५’ शब्दले बबाल, रेकर्डबाट हटाउन माग

कोसी प्रदेश सभामा ‘श्री ५’ शब्दले बबाल, रेकर्डबाट हटाउन माग

नेपालखबर
असार २३, २०८२ सोमबार १५:४६, विराटनगर

कोसी प्रदेश सभाका सांसद गोपालबहादुर विश्वकर्माले सोमबारको प्रदेश सभा बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई जन्मदिनको शुभकामना दिन्छन्। प्रदेश सभाको शून्य समयमा विश्वकर्माले भन्छन्, ‘श्री ५ महाराज धिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको ७९ औ जन्म जयन्तीको अवसरमा सुस्वास्थ्य दीर्घायुको कामना सहित बिन्ती चढाउँदछु।’ 

उनले पूर्व राजालाई जन्मदिनको शुभकामना दिएपछि थप कुराहरू अघि बढाउँछन्। उनले सुनचाँदी व्यवसायीलाई दोहोरो तेहेरो कर लगाएको भन्दै आफ्ना कुरा राख्छन्। 

उनको भनाई सकिने बित्तिकै नेकपा एमालेका प्रमुख सचेतक विदुरकुमार लिङ्थेप जुरुक्क उठ्छन् र नेपालको संविधानले पूर्वराजा ज्ञानेन्द्रलाई राजाको रूपमा नचिन्ने भएकोले ‘श्री ५’ भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्छन्। 

संविधानले श्री ज्ञानेन्द्र शाह भन्न सकिने भए पनि  श्री ५ भन्ने शब्दावली प्रयोग भएकोले त्यो भनाई रेकर्डबाट हटाउनु पर्ने उनको जिकिर थियो।  

उनको यो भनाइमा सभामुख अम्बरबहादुर विष्टले सहमत हुँदैनन्। सभामुख विष्ट लिङ्थेपको भनाइमा ध्यानाकर्षण भएको मात्रै बताउँछन्। सभामुख विष्ट थप्छन्, ‘ठिकै छ, माननीयज्यू तपाइँको कुराको ध्यानाकर्षण भएको छ, अब यसलाई बोल्नै नपाउने भन्ने त त्यहाँ छैन क्यारे, उहाँले जे भनेको भए पनि संविधानले जे भन्छ त्यो मात्रै कायम भएर जाने कुरा हो।’

प्रमुख सचेतक लिङ्थेप फेरि प्रतिवाद गर्दै भन्छन् ‘हामी संविधान भित्रै छौँ, संविधान भित्रै रहूँ भन्ने मेरो आग्रह हो।’ 

उनको यो भनाई नसकिँदै सभामुख विष्टले संविधान भित्रै रहन्छ धन्यवाद, भन्दै प्रदेश सभाको बैठक अगाडी बढाउँछन्।

प्रदेश सभा भित्रको यो सामान्य भनाई मात्रै हैन राजावादीहरू र गणतन्त्रवादीहरूको बिचमा बेला बेला भई रहने छेडखानी पनि हो। यसभन्दा अघि पनि राजावादीको आन्दोलन, त्यसमा राजालाई श्री ५ महाराजाधिराज भनेर सम्बोधन गर्दा प्रदेश सभाबाट यस्ता शब्दावली हटाइएका उदाहरणहरू पनि छन्।

तर सोमबारको प्रदेश सभाको बैठकमा सत्ता पक्षीय प्रमुख सचेतकले उठाएको विषयलाई भने सामान्य रूपमा नै लिइएको छ। पछिल्लो समय सत्ता पक्षीय दलहरू र सभामुखको बिचमा केही तिक्तता बढ्दै गएको सत्ता पक्षीय सांसदहरू बताउँछन्।

कोसी प्रदेश सरकारले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेका कुनै पनि कार्यक्रममा सभामुख उपस्थित भएका थिएनन्। गणतन्त्र दिवस मनाउने बारेमा ज्येष्ठ १० गते गरिएको अन्तरक्रियामा सहभागी नै नभई सिधै झापा गएका सभामुख विष्ट ११ गतेको कार्यक्रममा समेत सहभागी भएनन्। 

सरकारले विशेष अवसरमा मनाउने दिवस, कार्यक्रम, उत्सव र स्थापना दिवसहरूमा सभामुखलाई अतिथिका रूपमा निमन्त्रणा गर्ने चलन रहँदै आएको छ। विशिष्ट खालका मुख्यमन्त्रीको अध्यक्षतामा हुने कार्यक्रममा प्रदेश प्रमुखलाई प्रमुख अतिथि र सभामुखलाई महत्वका साथ अतिथि बनाउने चलन रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कोसी प्रदेश सभामा प्रतिनिधित्व गरेका सभामुख विष्टले गणतन्त्र दिवसको दिनको कार्यक्रममा नगई झापा गएपछि दलहरू सभामुखसँग सशङ्कित भएका छन्। 

कोसी प्रदेश सभाको प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानले राजाको परिकल्पना नगरेकोले  श्री ५ महाराजाधिराज भन्ने नभए पनि दलहरूले आफ्नो आस्थाको कुरा भने गर्न पाउने बताए।  

आङ्बोले भने, ‘कुनै बैठकमा सोही विषय रेकर्डबाट हटाउने र कुनै बैठकमा नहटाउने विषय सभामुखको अपरिपक्वता हो।’ 

कुन विषय रेकर्डमा राख्ने, कुन नराख्ने भन्ने स्वविवेक सभामुखको हुने भए पनि सोही विषय कुनै हटाउने कुनै नहटाउनु भनेको चैँ सभामुखको अपरिपक्वता भएको सुनाए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad