कोशी


धरानमा युवकमाथि धारिलो हतियार प्रहार, भिडिओ भाइरल भएपछि प्रहरी अनुसन्धानमा जुट्यो

धरानमा युवकमाथि धारिलो हतियार प्रहार,  भिडिओ भाइरल भएपछि प्रहरी अनुसन्धानमा जुट्यो

सुमन सुस्केरा
असार १४, २०८२ शनिबार १८:१६, विराटनगर

धरानमा तीन जनाको समूहले धारिलो हतियारसहित एक युवकमाथि आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अहिले यो विषय सनसनीपूर्ण बनेको छ। 

शुक्रबार दिउँसोदेखि सार्वजनिक भएको भिडिओमा मोटरसाइकलमा आएका तीन जनाले एक युवकलाई लखेट्दै आक्रमण गरिरहेको दृश्य देखिन्छ। भिडिओमा एक युवक भागिरहेको अवस्थामा उनको पछाडि तीनजना चढेको मोटरसाइकल देखिन्छ।

मोटरसाइकलको पछाडि बसेकाले धारिलो हतियार नचाउँदै छन्। केहीबेरपछि भागिरहेको युवक सोही बाटो हुँदै फर्किन्छन्, त्यो युवकलाई बाटोमा नै हेल्मेट प्रहार गर्छन्। जसमा उनले लगाएको सेतो टिसर्टको पछाडिपट्टि रातो रगतको धब्बा देखिन्छ। बाटोमा हिँडिरहेका एक पुरुषले घाइते युवकलाई जोगाउने प्रयास गरेको दृश्यमा देखिन्छ।

भिडिओ भाइरल भएपछि घटनाबारे अनुसन्धान सुरू गरेको प्रहरीले बताएको छ। प्रहरीले तीन जनाको संलग्नता पहिचान भइसकेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार, उनीहरू पहिले लागु औषध कारोबारमा संलग्न भएको आशंका छ।

प्रहरीले आक्रमण लुटपाटकै उद्देश्यले नभई पुरानो विवादका कारण भएको प्रारम्भिक संकेत देखिएको बताएको छ। प्रहरी टोलीले धरान र आसपास क्षेत्रमा आरोपीहरूको निगरानी गरिरहेको जनाएको छ। घटनामा घाइते युवकको अवस्था सामान्य रहेको र अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको सूचना प्रहरीले पाएको छ। 

प्रहरीले दुई दिनभित्र घटनाबारे विस्तृत विवरणसहित प्रेस विज्ञप्ति जारी गर्ने बताएको छ। घटना भएको स्थल धरान उपमहानगरपालिका–१० को वडाकार्यालय नजिकैको सडक भएको प्रहरीको भनाइ छ।

घटनाका घाइते र संलग्न युवकहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad