कोशी


मनमोहन प्राविधिक विश्वविद्यालयमा सञ्चो’, ‘भिक्स’ र ‘झण्डु’ को सफल परीक्षण, उत्पादनको तयारी

मनमोहन प्राविधिक विश्वविद्यालयमा सञ्चो’, ‘भिक्स’ र ‘झण्डु’ को सफल परीक्षण, उत्पादनको तयारी

सुमन सुस्केरा
असार ९, २०८२ सोमबार २०:११, विराटनगर

नेपालको जडीबुटी प्रयोग गरी  किड्नी तथा सुगर रोगको उपचार गर्नको लागि मनमोहन प्राविधिक विश्वविद्यालयले अनुसन्धान थालेको छ। भारतीय वैज्ञानिकहरूको सहयोग लिएर विश्वविद्यालयका लेक्चररहरू सम्मिलित टोलीले यसको बारेमा अध्ययन थालेको हो। 

नेपाली हिमालयन जडीबुटीको प्रयोग गरेर किड्नी र सुगरको उपचार हुन सक्ने तथ्यलाई स्थापित गर्न अध्ययन  थालिएको विश्वविद्यालयले जनाएको हो। विश्वविद्यालयले सोमवार पत्रकार सम्मेलन गर्दै नेपालकै पहिलो प्राविधिक विश्वविद्यालयले अध्ययन र अनुसन्धानलाई तीव्रता दिएको जनाएको छ।

कुन कुन जडीबुटीले कस्तो खालको काम गर्छ, किड्नी र सुगर सम्बन्धी समस्या समाधान गर्ने औषधीय गुण भएका जडीबुटी कुन कुन क्षेत्रमा पाइन्छ र त्यसको उपयोगिता के छ, भन्ने बारेमा वैज्ञानिक सहितको टोलीले अध्ययन थालेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए। भारतीय वैज्ञनिक डा सुनिल शुक्लको नेतृत्वमा अहिले वैज्ञानिकहरूले अनुसन्धान थालिसकेका छन्। 

सञ्चो’, ‘भिक्स’ र ‘झण्डु’  जडीबुटीजन्य उत्पादनको सुरुआत
अध्ययन प्रारम्भसँगै विश्वविद्यालयले पहिलो चरणमा ‘सञ्चो’, ‘भिक्स’ र ‘झण्डु’ नामक जडीबुटीजन्य उत्पादनको पनि सुरुआत गरिसकेको छ। यी उत्पादनहरू परम्परागत ज्ञान र वैज्ञानिक परीक्षणको संयोजनमा आधारित छन्।

‘सञ्चो’ सामान्य रुघाखोकी, ज्वरो र शरीर दुखाइमा उपयोगी मानिएको छ भने ‘भिक्स’ जडीबुटीयुक्त मरहमको रूपमा प्रयोग गरिनेछ। ‘झण्डु’ चाहिँ पाचन समस्या र शरीरको ऊर्जा वृद्धि गर्न मद्दत गर्ने  गरी उत्पाद थालिएको छ। प्रारम्भिक उत्पादन सीमित मात्रामा भए पनि परीक्षण सफल भएसँगै व्यावसायिक स्तरमा उत्पादन विस्तार गरिने जानकारी दिइएको छ। सरकारले सहयोग गरेमा आगामी दुई महिना भित्र बजारमा लग्न सकिने पोखरेलले बताए।

२०८१ फागुन २२ गतेको विश्वविद्यालयको निर्णयले नेपालको जडीबुटीबाट किड्नी र सुगरको उपचार गर्नको लागि आवश्यक अध्ययनको लागि विज्ञ बनाएको थियो। त्यसैको आधारमा भारतीय वैज्ञानिक डा।शुक्ललाई अध्ययन र अनुसन्धान गर्नको लागि जिम्मेवारी दिइएको हो। उनी पतञ्जलि रिसर्च इन्स्टिच्युट हरिद्वार भारतमा काम गरेका वैज्ञानिक हुन्।

यो टोली हिमाल, पहाड र तराईका क्षेत्रमा गएर  त्यहाँको परम्परागत जडीबुटीहरू सङ्कलन गर्ने, स्थानीहरूसँग त्यसको उपयोगिताको बारेमा सोधिखोजी गर्ने जनाइएको छ।

‘गाउँघरमा प्रयोग भइरहेका त्यस्ता जडीबुटीलाई सङ्कलन गरेर विज्ञ समूहले ल्याबमा पठाउने छ, डा पोखरेलले भने,  बायो केमिकल गुण भएका त्यस्ता जडीबुटीको अध्ययन पछि मुसा र खरायोमा परीक्षण गरिने तयारी छ।’

कोसी प्रदेशलाई जडीबुटी खानी मानिन्छ। त्यसबाट प्रदेशले धेरै फाइदा लिन सक्ने भए पनि त्यसको खोज, अनुसन्धान र प्रयोगलाई प्राथमिकतामा राखेर विश्वविद्यालयले  प्रदेशको आर्थिक विकासमा समेत  टेवा पुर्‍याउने गरी अध्ययन थालिएको उपकुलपति डा। पोखरेल बताउँछन्। 

वन तथा भूसंरक्षण मन्त्रालय अन्तरगत वनस्पति विभागले २०६३ सालमा गरेको एक अध्ययन अनुसार ३० प्रकारका बनस्पतिहरुलाई नेपालको आर्थिक विकासकालागि प्राथमिकता प्राप्त जडीबुटीको सूचिमा राखेको छ। जसमा अतिस, अमला, ओखर, कुटकी, गुच्ची च्याउ, गुर्जो, चिराइतो, जङ्गली सयपत्री, जटामसी, झ्याउ, टिमुर, तेज पात, धसिंगरे, नीम, पदमचाल, पाषणभेद, पाँच औले, पिपला, विष, बोझो, भ्याकुर, मजिठो, यार्सागुम्बा, रिट्ठा, लघुपत्र, लौँठसल्ला, सुगन्धकोकिला, सुगन्धवाल, सतावरी (कुरिलो) र सर्पपन्धा हुन्। यी जडीबुटीमा औषधीय गुण रहेको विज्ञहरू बताउँछन् । 

मिसन २०३० अभियान
देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रूपमा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालय ‘मिसन २०३०’ साकार पार्ने दिशामा अघि बढेको छ। कोशी प्रदेश सरकारले २०७६ सालमा स्थापना गरेको विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन, वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनमा विशेष प्राथमिकता दिँदै आएको छ।

विश्वविद्यालयले हाल सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स इन्जिनियरिङ, फार्मेसी, बीबीए एलएलबी जस्ता स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने स्नातकोत्तर तहमा एलएलएम (क्रिमिनल ल) र एमएससी इन हस्पिटल एण्ड हेल्थकेयर म्यानेजमेन्ट कार्यक्रम सञ्चालनमा छन्। हालसम्म स्नातक तथा स्नातकोत्तर तहमा ३२२ जना विद्यार्थी अध्ययनरत छन्। विश्वविद्यालय अन्तर्गतको मनमोहन स्मृति पोलिटेक्निकमा डिप्लोमा र २४ महिने औद्योगिक तालिममा ६४४ विद्यार्थी अध्ययनरत छन्।

नयाँ कार्यक्रम र अनुसन्धानको विस्तार
विश्वविद्यालयले प्राकृतिक चिकित्सा तथा योगिक साइन्स, मेडिकल ल्याब टेक्नोलोजी, बीएससी नर्सिङ, कम्प्युटर इन्जिनियरिङ लगायतका नयाँ स्नातक कार्यक्रम र एप्लाइड काउन्सेलिङ साइकोलोजी, पावर सिस्टम इन्जिनियरिङ जस्ता स्नातकोत्तर कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ।

शैक्षिक कार्यक्रमसँगै विश्वविद्यालयले सीपमूलक तालिमहरू पनि सञ्चालन गरिरहेको छ। चालु शैक्षिक सत्रमा तीन क्रेडिट आवरको योग प्रशिक्षक तालिम पनि सञ्चालनमा रहेको छ।

अनुसन्धान र आयुर्वेदिक औषधि उत्पादनको तयारी
विश्वविद्यालयले स्थापना गरेको मनमोहन अनुसन्धान केन्द्र मा हाल १० वटा अनुसन्धानहरू सञ्चालनमा छन्। तीमध्ये नेपाली जडीबुटी प्रयोग गरी मधुमेह रोग उपचार र व्याक्टेरियोफेज सम्बन्धी अनुसन्धान विशेष प्राथमिकतामा रहेका छन्। विश्वविद्यालयले आफ्नै प्रयोगशालाबाट आयुर्वेदिक औषधि उत्पादन सुरु गर्ने तयारीसमेत गरिरहेको छ।

मेडिकल कक्षा सञ्चालनको तयारी
कोशी प्रदेश सरकारले धनकुटा जिल्ला अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ। सो अस्पताल हस्तान्तरण भएपछि विश्वविद्यालयले बीएससी नर्सिङ, अप्टोमेट्री, रेडियोलोजी, ल्याब टेक्नोलोजी, फिजियोथेरापी, एमबिबिएस र एमडीरएमएस कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको डा। पोखरेलले जानकारी दिए।

रणनीति र पूर्वाधार निर्माणको दीर्घकालीन योजना
‘मिसन २०३०’ अन्तर्गत विश्वविद्यालयले थप १० वटा नयाँ पाठ्यक्रम, २ वटा विद्यावारिधि कार्यक्रम, ५ स्नातक र ५ स्नातकोत्तर कार्यक्रम, विविध अनुसन्धान ल्याब (हर्बल, फरेन्सिक, जेनेटिक्स, सुपर कम्प्युटिङ, हाई भोल्टेज आदि) सञ्चालन गर्ने लक्ष्य लिएको छ।

योजनाअनुसार १ हजार सिट क्षमताको अडिटोरियम, ३ सय क्षमताको आवास गृह, ५ हजार सिट क्षमताको स्टेडियम, १०० सिट क्षमताको तारामण्डल, एडभान्स डिजिटल पुस्तकालय, साइन्स म्यूजियम, ४ टिचिङ ब्लक र आफ्नै शिक्षण अस्पताल निर्माण गर्ने तयारी गरिएको छ। 

बजेट अभावको चुनौती
विश्वविद्यालयका अनुसार २०८२र८३ को आर्थिक वर्षमा कोशी प्रदेश सरकारले विश्वविद्यालयलाई १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। ३७ करोड ८९ लाख माग गरिएकोमा १४ करोड मात्रै बजेट दिएको बताए। यो रकम विश्वविद्यालयका दिगो योजना, पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सञ्चालनका लागि अपुग रहेको उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिए।

उनका अनुसार, आगामी पाँच वर्षसम्म मन्त्रालय सरहको बजेट विनियोजन गरिएमा विश्वविद्यालयले आफ्नो ‘मिसन २०३०’ सफलतापूर्वक पूरा गर्न सक्नेछ।

विश्वविद्यालयले ‘मिसन २०३०’ अन्तर्गत विदेशी विद्यार्थी समेत आकर्षित गर्ने गरी अन्तर्राष्ट्रिय स्तरको शिक्षालयका रूपमा विकास गर्ने लक्ष्य राखेको छ। उपकुलपति डा

पोखरेलले भने, ‘यो विश्वविद्यालयले कोशी प्रदेशको मात्र होइन, सिंगो नेपालको प्रतिष्ठा उँचो बनाउने विश्वास हामीले लिएका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad