कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा २२ वटा नारा अघि सारेको छ।
सरकारले आगामी आर्थिक वर्षको लागि सार्वजनिक गरेको कोसी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख कार्यान्वयन गर्नको लागि दुई दर्जन बढी नाराहरूसहितको बजेट सार्वजनिक भएको हो।
सरकारले सार्वजनिक गरेको नाराहरूमा कोसी प्रदेश पर्यटन वर्ष २०८२, अर्थ, योजना, तथ्याङ्क र विकास, सुशासन, क्षमता विकास र सेवाको प्रभावकारिता, म अघि बढ्छु लगायतको नारा दिइएको छ। म अघि बढ्छु कार्यक्रम कोसी प्रदेश सरकार स्थापना भएको दोस्रो वर्षदेखि नै सुरु गरेको थियो।
त्यस्तै प्रदेशको रहर–स्वच्छ सहर, कोसी जनता आवास, सडक सुरक्षा कार्यक्रम, एक घर–एक धारा नारा दिएर बजेटमा ल्याइएको छ। कोसी प्रादेशिक घुम्ती अस्पताल सेवा, मेरो स्वास्थ्य–मेरो जिम्मेवारी, कोसी प्रदेशको सान–ज्येष्ठ नागरिकको सम्मान कार्यक्रमलाई अघि सारिएको छ।
नयाँ नाराको रूपमा “सक्षम छोरी कार्यक्रम “ ल्याइएको छ। बजेट वक्तव्यको बुँदा नम्बर १०४मा मुसहर समुदायका छोरीको शिक्षामा पहुँच बढाउँदै आर्थिक सामाजिक रूपान्तरणका लागि सक्षम छोरी कार्यक्रमलाई नमुनाको रूपमा सञ्चालन गर्न १ करोड ५० लाख बजेट विनियोजन गरेको छ।
त्यस्तै कोसीको गौरव हिमालको शान–पर्यटन वर्षमा सबैलाई सम्मान भन्ने नारा सहितको कार्यक्रमलाई पर्यटनसँग जोडेर ल्याइएको छ।
संरक्षित जलाधार, समृद्धिको आधार–वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनको लागि क्षमता अभिवृद्धि आयोजना सञ्चालन गर्ने पनि बजेटमा भनिएको छ। प्रदेशको समृद्धिका लागि वन, एक निर्वाचन क्षेत्र–एक विशिष्ट उद्यम कार्यक्रमलाई अघि सारिएको भए पनि स्पष्ट बजेट उल्लेख गरिएको छैन।
कृषक सबैभन्दा अगाडि, स्वस्थ माटो–स्वच्छ बाली, स्वच्छ, सुखी र समुन्नत प्रदेश लगायतका थुप्रै नाराहरू अघि सारेर बजेट कार्यान्वयन गर्ने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो ।
कोसी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ३५ अर्ब ८७ करोड ९९ लाख बजेट विनियोजन गरे। चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत रहेको छ भने पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ प्रतिशत बजेट विनियोजन गरेका हुन्।
वित्तीय व्यवस्थापनको लागि १० करोड अर्थात् ०.३ प्रतिशत रहेको मन्त्री मगरले जानकारी दिए। यो बजेट चालु आर्थिक वर्षको तुलनामा १.७ प्रतिशतले बढी र संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी रहेको उनले बताए। कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तर तर्फ ४ अर्ब ७० करोड ७२ लाख रहेको छ।
Shares

प्रतिक्रिया