कोशी


एउटा डाक्टरको बयान- झुक्याएर विवाह गरिदिए, श्रीमान्‌को मृत्युपछि ससुरा र देवरले घर बनाउन दिएनन्

एउटा डाक्टरको बयान- झुक्याएर विवाह गरिदिए, श्रीमान्‌को मृत्युपछि ससुरा र देवरले घर बनाउन दिएनन्

सुमन सुस्केरा
जेठ १, २०८२ बिहिबार १८:१४, विराटनगर

विराटनगर महानगरपालिका वडा नम्बर २  घर भएकी निता यादव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असिस्टेन्ट प्रोफेसरको रूपमा कार्यरत छिन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ उनको माइती हो। उनका बाबु खेती किसानी गर्छन्। 

सन् २०११ मा उनी एमबीबीएस पढ्दै गर्दा उनको विराटनगर २ का डा सुशील यादवसँग विवाह भयो। सुशील डा शीतल यादवका जेठा छोरा हुन्। निताका श्रीमान्को २०८१ जेष्ठ ३१ मा मृत्यु भयो।  सिजोफेनिया नामक मानसिक समस्याबाट लामो समयसम्म ग्रसित भएका सुशीलको निधन हुनुको कारण पनि त्यही रोग भएको निता बताउँछिन्।

विवाहमा नै उनी आफू परिवारको झुक्यानमा परेको उनको गुनासो छ।

तिनै डाक्टर निता यादवले बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो समस्याको बारेमा सविस्तार सुनाइन्। श्रीमान् लामो समयदेखि सो रोगबाट ग्रस्त रहे पनि परिवारले झुक्क्याएर विवाह गरिदिएको पत्रकारहरूसँग गुनासो गरिन्।

उनले पत्रकार सम्मेलनमा भनिन्, ‘विवाहको केही दिनपछि नै मैले श्रीमान् बिरामी रहेको थाहा पाएपछि सासू आमा सामु जिज्ञासा राखेको थिएँ। सोही विषयलाई लिएर सासुआमा (परिनिता) र म बिच तिक्तता बढ्दै गयो। विवाहको केही दिन भित्रै उहाँ र परिवारले म माथि ज्यादती गर्न थालेका थिए।’

डा निता आफूले अंशमा पाउनु पर्ने सम्पत्तिको भोग चलन गर्न नपाएको विषय जानकारी दिन उपस्थित भएकी थिइन्। श्रीमानबाट हस्तान्तरण भएको जग्गा आफूले भोग चलन गर्न नपाएको तथा मानसिक तनाव, धाक धम्कीका कारण पीडित भएपछि पत्रकार सम्मेलनको लागि आएको भनेर आफ्ना कुरा राख्न थालिन्। 

डा निताका अनुसार, ससुरा डा शीतल यादवले श्रीमानलाई २०५८ भदौ २४ गते नै अंश छुट्याई दिएका रहेछन्, जस अनुसार बूढीगंगा गाउँपालिकाको वडा नम्बर १ र ३ मा विभिन्न ६ वटा कित्तामा  श्रीमान्को नाममा ४ बिगाहा बढी जग्गा अंश दिइएको रहेछ।

निताले २०७९ भदौ २ गते श्रीमान् माथि सुनसरी जिल्ला अदालतमा अंशको दाबी सहित मुद्दा दर्ता गराएको बताइन्। उक्त मुद्दामा जिल्ला अदालतले २०८० वैशाख १७ गते श्रीमानको आधा अंश  पाउने फैसला गर्‍यो। त्यसपछि निताका ससुरा शीतलले उनका श्रीमान् सुशीललाई प्रयोग गरेर उच्च अदालत विराटनगरमा पुनरावेदन गरेका थिए। उच्च अदालतको आदेशले समेत मुद्दाको फैसला आफ्नो पक्षमा नै गरेको दाबी उनको छ।

‘२०८१ साउन १६ गते उच्च अदालतको फैसला आउनु अगाडि नै श्रीमान्को २०८१ जेष्ठ ३१ गते मृत्यु भइसकेकाले अदालतले श्रीमानको नाममा रहेको जग्गा समेत आफ्नो नाममा नामसारी गर्ने फैसला गर्‍यो’, निताले भनिन्, ‘फैसला मेरो पक्षमा आइसके पनि मेरा ससुरा डा शीतल यादव र देवर सुनिल यादवले जग्गा मेरो नाममा आउन नदिन अनेक प्रपञ्च गरिरहेका छन्।’

अदालतले आफ्नो नाममा फैसला गरिदिएको जग्गा समेत आफूले भोग चलन गर्न नपाएको उनको गुनासो छ। 

‘मुख्य समस्या भनेको अदालतबाट आएको फैसला अनुसारको जग्गा समेत भोग चलन गर्न पाइन’, उनले भनिन्, ‘अदालतको फैसला अनुसारको संरचना बनाउन खोज्दा ससुरा र देवरले बनाउन दिएनन्।’ 

अदालतको फैसलापछि आफ्नो जग्गामा समेत टहरा बनाउन, कल धारा र बिजुली बत्ती जडान गर्न जाँदा समेत पालिकाले सिफारिस नदिएको उनको आरोप छ। निताले सिफारिस समेत नपाउनुमा पालिकामा ससुरा र देवरको प्रभाव रहेको बताएकी छिन्। 

बुढीगंगा गाउँपालिकाका कर्मचारीले जग्गा विवादित रहेको भन्दै कुनै पनि कार्य गर्न नदिएको पत्रकार सम्मेलनमा जानकारी दिइन्। 

‘गाउँपालिकाले समेत आफूलाई संरचना बनाउनकोलागि कुनै पनि सिफारिस दिएन, जसले गर्दा म थप पीडित भएकी छु’, उनले भनिन्, ‘सुरुदेखि नै मलाई अन्यायमा पार्दै आएको परिवारले अदालतको फैसला आइसक्दा पनि मलाई धाक धम्की दिने र कुनै पनि हालतमा जग्गा भोग चलन गर्न नदिने रणनीति बनाएको छ।’ 

गुन्डाहरू प्रयोग गरी धम्क्याउने, चरित्र हत्या गर्न झुटो लाञ्छना लगाउने र कर्मचारीतन्त्रलाई प्रभावित गरी दुःख दिने काम भइरहेका निताको आरोप छ।

आफ्ना व्यक्तिगत कुरा सुनाउँदै गर्दा उनले आफ्नो ज्यान माथि समेत खतरा उत्पन्न भएपछि न्याय खोज्दै पत्रकार सम्मेलन गर्न बाध्य भएको सुनाइन्। उनले न्यायको लागि पहल गरिदिन आग्रह गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad