हावाहुरीसँगै आएको वर्षाका कारण उदयपुरको कटारी नगरपालिका २ सिमानपुर स्थित अमाहा खोलाको पुलमा बाढीले क्षति पुर्याएको छ। बाढीले निर्माणाधीन पुलमा क्षति गरेको हो। चैते बाढीले निर्माणाधीन पुलको बिच भाग भाँचिएको छ।
पुलको सटरिङमा प्रयोग गरिएको टेकाहरू समेत बगाई पुल भाँचिदा करिब दुई करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।
सिद्धिचरण राजमार्गको मिर्चैया–कटारी–घुर्मी सडक अन्तर्गतको अमाहा खोलामा पर्ने उक्त पुल निर्माणको जिम्मा सूर्य एन्ड सन्स प्रालि धरानले गत २०७९ साल असार २९ गते २०८२ असार २९ गते भित्र सम्पन्न गर्ने गरी ठेक्कामा लिएको थियो। ५० मिटर लम्बाई सिंगल स्पान रहेको उक्त पुल ढलान गरेको २० दिनमै भाँचिएको हो।

यो पुल सहित २ सय ५० मिटरको ४ वटा पुल सम्पन्न गर्ने गरी कम्पनीले भ्याट सहित २८ करोड ९९ लाख ५२ हजारमा काम सम्पन्न गर्ने गरी सूर्य एन्ड सन्स प्रालि धरानले सम्झौता लिएर काम सुरु गरेको थियो।
मिर्चैया – कटारी – घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्र प्रसाद महतोले सिमानपुर सहित ताराघारी, खोक्सा र गिद्धवर गरेर जम्मा ४ वटा पुलको काम हुँदै गरेको अवस्थामा सिमानपुरमा भने बन्दै गरेको पुल बनी नसक्दै बाढीले क्षति पुर्याएको बताए।
‘चैत ७ मा ढलान गरेको पुलको स्ल्याब ढलान गरेको २० दिन भएको थियो’, महतोले भने, ‘बिच बोर्डरमा केवल हुने हुँदा २८ दिनमा मेसिनले तानेर लक गर्नु पर्ने हुन्छ त्यसपछि मात्र लोड लिन्छ, पानी आयो टेका आफ्नो स्थानमा रहेन अनि पुल ढल्यो।’
अब अहिलेको बाढीका कारण क्षति भएको पुल फेरि भत्काएर बनाउनु पर्ने अवस्था आउन सक्ने महतोले बताए। तत्कालको अवस्थालाई हेर्दा करिब २ करोडको क्षति भएको हुन सक्ने आयोजना कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया