कोशी


एसईई परीक्षाबारे कोसीमा मन्त्रीको पत्रकार सम्मेलन, ८० हजार बढी सहभागी हुने

एसईई परीक्षाबारे कोसीमा मन्त्रीको पत्रकार सम्मेलन, ८० हजार बढी सहभागी हुने

नेपालखबर
फागुन २९, २०८१ बिहिबार २१:४३, विराटनगर

कोसी प्रदेशमा एसईई परीक्षाका लागि सम्पूर्ण तयारी पुरा भएको कोसी प्रदेशका सामाजिक विकास मन्त्रालयले जनाएको छ। विराटनगरमा पत्रकार सम्मेलन गरी चैत ७ गतेदेखि १९ गतेसम्म हुने परीक्षाका लागि कोसी प्रदेशमा कुल ८० हजार ९३४ विद्यार्थीहरू सहभागी हुने जानकारी दिइएको छ। 

कोसी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलले साधारण धारतर्फ नियमित ६९ हजार ५०६, ग्रेड वृद्धि आठ हजार ४५१, प्राविधिक धारतर्फ नियमित दुई हजार ७११ तथा ग्रेड वृद्धिमा २६६ र खुल्ला परीक्षार्थीतर्फ नियमित ३९६ तथा ग्रेड वृद्धि ३० जनाले परीक्षा दिने जानकारी दिए।

कुल ३७१ परीक्षा केन्द्रका लागि ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक केन्द्राध्यक्ष, चार हजार ४५ निरीक्षक, ८०९ परीक्षा सहायक , एक हजार ६१३ सहयोगी, पाँच हजार ५६५ सुरक्षाकर्मी गरी १२ हजार ९४९ जनशक्ति परिचालन हुने निर्देशक पोखरेलले बताए।

परीक्षार्थीहरूमा सबै भन्दा बढी मोरङबाट १८ हजार १०७ विद्यार्थी छन्। झापाबाट १७ हजार २८ र सुनसरीबाट १३ हजार ५८३ विद्यार्थी परीक्षामा सहभागी हुने छन्। तेह्रथुमबाट सबैभन्दा कम एक हजार १९०, ताप्लेजुङबाट दुई हजार २७२, पाँचथरबाट दुई हजार ८०६, सोलुखुम्बुबाट एक हजार ६६०, ओखलढुङ्गाबाट दुई हजार २२०, भोजपुरबाट दुई हजार ४९२ परीक्षार्थी छन्।

यसैगरी इलामबाट चार हजार २३१, सङ्खुवासभाबाट तीन हजार १२०, धनकुटाबाट दुई हजार ५३५, खोटाङबाट तीन हजार ८०९ र उदयपुरबाट पाँच हजार ८८१ जना विद्यार्थीले एसइई परीक्षामा आफ्ना उपस्थिति जनाउने मन्त्रालयको दाबी छ।  

यस पटकको एसइई परीक्षामा अपाङ्गताको प्रकृति हेर्दा निर्धारित समयभित्र परीक्षा दिन नसक्ने भएमा शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा केन्द्राध्यक्षले बढीमा एक घण्टा ३० मिनेट समय थप गर्ने व्यवस्था मिलाइएको सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङले जानकारी दिए।

सामाजिक विकासमन्त्री पाँचकर्ण राईले परीक्षालाई व्यवस्थित, मर्यादित एवं अनुशासित बनाउने भन्दै परीक्षार्थीलाई शान्त वातावरण बनाउने र निरीक्षण एवं अनुगमन प्रक्रियालाई व्यवस्थित बनाउने योजना बनाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad