सुनसरीको बर्जु गाउँपालिकामा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) लालकुमार यादवको मृत्यु भएको छ।
हुलाकी राजमार्गअन्तर्गत बर्जु गाउँपालिका-६ स्थित नरह चोकनजिक कारले मोटरसाइकललाई ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ५० वर्षीय यादवको मृत्यु भएको हो। दुर्घटनामा उनकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भइको प्रहरीले जनाएको छ।
सुनसरी प्रहरीका अनुसार विराटनगरबाट बर्जुको चिमडीतर्फ गइरहेको प्र १–०२–००२ च ६२५२ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा परेर टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका मोटरसाइकल चालक यादवलाई तत्काल उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्याइएको भए पनि उपचारकै क्रममा उनको निधन भएको सुनसरी प्रहरीले जनाएको छ।
घाइते भएकी उनकी पत्नी रामपरीको दाहिने खुट्टामा चोट लागेको र हाल सोही अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिरहाको विष्णुपुर गाउँपालिका-१ स्थायी घर भएका यादव बाराबाट सिरहाको लागि रमाना लिएर बिदामा घर आएको समयमा दुर्घटनामा परेका हुन्।
प्रहरीले कार र त्यसका चालक मोरङको कटहरी गाउँपालिका–३ निवासी ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा डा. चौधरी चिमडी बजारमा एक्सरे सेवा दिनका लागि जाँदै गर्दा उक्त दुर्घटना भएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेवेले जानकारी दिए।

प्रतिक्रिया