नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, तराई–मधेस जनजागरण अभियान’ सञ्चालन गर्ने भएको छ। झापाको कचनकबलबाट सुरु भई हुलाकी राजमार्ग हुँदै कञ्चनपुरमा समापन गरिने अभियान अन्तर्गत कोसी प्रदेशमा गर्ने कार्यक्रम सार्वजनिक गरेको हो।
नेकपा माओवादी केन्द्र कोसी प्रदेश समिति, प्रदेश परिषद्को प्रथम बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले अभियान फागुन १२ गतेदेखि अभियान सुरु गरिने जानकारी दिए।
झापाको कचनकवल गाउँपालिकाको बनियानीमा अभियान उद्घाटन गरेर बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकामा भेटघाट, जनअन्तरक्रिया तथा सभाको आयोजना गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
फागुन १३ गते मोरङको रतुवामाई लगायत मोरङका विभिन्न पालिकामा कार्यक्रम गर्ने तथा फागुन १४ गते सुनसरीको बर्जू गाउँपालिकाको चिमडी, गढी गाउँपालिकाको हरिनगरा, लौकही र इनरुवामा कार्यक्रम गर्ने नेकपा माओवादीले जनाएको छ।
बैठकले गरेको निर्णय सार्वजनिक गर्दै अध्यक्ष नेम्वाङले तराई चुरे ‘समाजवादी संस्कृति र चेतना जागरणको लागि तराई चुरे अभियान’ समेत सञ्चालन गर्ने जानकारी दिए।
किसानहरू समूहहरूलाई सङ्गठन गर्न र सहजीकरण गर्न पार्टीको केन्द्रीय सदस्य र प्रदेशको नेतृत्व र जनप्रतिनिधिहरूमार्फत कृषि मल, बिउ, प्रविधि, सिँचाइ, कृषि उपजको बजारीकरण र प्रशोधन लगायत समस्याको समाधान गर्न सहजीकरण भनिएको छ।
यो अभियानमा भ्रष्टाचार, बेथिति, ढिलासुस्ती, कर छली, तस्करी र अनियमितताविरुद्ध निगरानी र भण्डाफोर अभियान चलाउने निर्णय भएको उनले जानकारी दिए। बैठकबाट १२ बुँदे समसामयिक प्रस्ताव पारित गरिएको समेत उनले पत्रकार सम्मेलनमा जानकारी दिए।
Shares

प्रतिक्रिया