कोशी


जहाँ महिलाका लागि आम्दानीको आधार बनेको छ घोँगी

जहाँ महिलाका लागि आम्दानीको आधार बनेको छ घोँगी

नेपालखबर
कात्तिक २९, २०८१ बिहिबार ७:१२, धरान (सुनसरी)

सुनसरीमा घोँगीको व्यापार धेरैजसो महिलाका लागि आम्दानीको आधार बनेको छ। यही व्यापारबाट आर्जेको पैसाले आफ्ना र परिवारका आवश्यकता पूरा गर्न निकै सघाउ पुगेको यसमा सङ्लग्न महिलाहरूले बताउने गरेका छन्।

रामधुनी नगरपालिका-१ झुम्का हाटबजारमा घोँगीको व्यापार गरिरहेकी वडा नं ५ की जमुना मुखियाले यसबाट राम्रो आम्दानी भइरहेको सुनाइन्। 

उनले सुनसरीका झुम्का, कालाबन्जरलगायतका हतियामा घोँगी बेच्न जाने गरेको बताइन्। मुखियाले मोरङ्को निमुवाबाट आफैँले  पोखरीबाट घोँगी खोजेर बिक्री गर्ने गरेको सुनाइन्।

उनले भनिन्, ‘मेहेनतअनुसार राम्रै आम्दानी हुने गरेको छ, अरू व्यवसायको तुलनामा निक्कै सहज पनि हुने भएकाले यसैमा लागिरहेकी छु। यो हाम्रो पुर्ख्यौली व्यापारजस्तै हो।’ 

उनले थपिन्, ‘विगत लामो समयदेखि विभिन्न ठाउँका हटियाबजारमा गएर व्यापार गर्दै आएकी छु। झुम्कामा लाग्ने हटियाबजार भने व्यापार गर्ने मुख्य थलो हो।’

झुम्काको हटियाबाहेक कालाबन्जर बराह क्षेत्रलगायत ठाउँमा पनि हटियाबजार लागेको समयमा घोँगीको व्यापार गर्न जाने गरेको उनले बताइन्। अचेल घोँगी भने जताततै पाइँदैन। मोरङको निमुवा पोखरीसम्म पुगेर खोजेर ल्याउनुपर्छ।

‘अचेल घोँगी पाइँदैन, त्यसैले निमुवा पुग्नुपर्छ तर खोज्न दुःख भए पनि व्यापारबाट मासिक रु ५० हजारसम्म मज्जाले आम्दानी हुँदै आएको छ। आफूले पोखरीमा पालेर बिक्री गर्ने हो भने राम्रो आम्दानी हुन्थ्यो होला’, उनले भनिन्। 

प्रत्येक हप्ता लाग्ने हाटबजारमा घोँगी किन्न बराहक्षेत्र, इटहरी, धरान, इनरुवालगायका ठाउँबाट ग्राहक आउने गरेका छन्। मागअनुसार घोँगी पुर्‍याउनै नसकिएको मुखियाले बताइन्। उनले प्रतिकिलो घोँगी रु एक सयमा बिक्री गर्दै आएको र एउटा हटियाबजारबाट दिनमा ९० देखि एक सय किलोसम्म बिक्री गर्दे आएको सुनाइन्। 

उनी मात्र होइन, सोही नगरको वडा नं १ की रत्नीदेवी माला पनि १२ वर्षदेखि घोँगीको व्यापार गरिरहेकी छन्। उनले हाल सुनसरीको भन्टाबारी पोखरीमा आफैँले घोँगी पालेकी छन्। यही पोखरीबाट उत्पादन भएका घोँगी इटहरी, झुम्का, कालाबन्जरलगायत ठाउँमा दैनिकजसो ६० देखि ७० केजीसम्म बिक्री गर्ने गरेको मालाले बताइन्। 

‘घोँगीमा भिटामिनको मात्रा प्रशस्त पाइने हुनाले रुघा र चिसो लागेका बेला मान्छेले अत्यधिक खरिद गर्ने गरेका छन्। अब चिसोयाम आयो, हाम्रो व्यापार पनि राम्रै फस्टाउँछ’, उनले भनिन्। 

रामधुनी नगरपालिका-१ कै रेम्नी मुखियाले पनि ७ वर्षदेखि घुँगीको व्यापार गरिरहेकी छन्। उनले भनिन्, ‘सात वर्षदेखि यसै व्यापारमा लागिरहेकी छु। राम्रो आम्दानी हुन्छ। खोलाबाट खोजेर ल्याउन मात्र समस्या हो, बजारको त समस्या छैन। पछिल्लो समय मोरङ्को निमुवामा आफ्नै पोखरीमा घोँगी पालेकी छु। दैनिक ७० देखि ८० किलोसम्म बिक्री गरेर आम्दानी गरिरहेकी छु।’

गर्मीयामभन्दा जाडोमा घोँगीको व्यापार राम्रो हुने गरेको छ। पुसको दोश्रो सातादेखि माघ-फागुनको अन्तिमसम्म व्यापार हुँदा यहाँ लाग्ने हरेक हाटबजारमा किन्ने र बेच्नेहरूको घुइँचो लाग्ने गर्छ। यहाँको झुम्का हाटबजारमा मात्रै सातदेखि दस जना महिला लहरै बसेर व्यापार गर्दै गरेका देखिन्छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad