कोसी अस्पताल विराटनगरले आफ्नो स्वामित्वमा रहेको जग्गालाई घेरबार गरी व्यवस्थित बनाउने उद्देश्यका साथ स्वीकृत गुरुयोजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको छ।
अस्पताल परिसरभित्रका अतिक्रमित संरचनाहरू हटाइने बारेमा अन्तिम तयारी थालेको हो।
ब्लड बैंक, मन्दिर तथा क्षयरोग निवारण संस्थाको भवन भत्काउन लागिएको भन्दै भ्रम फैलाइएको समेत अस्पताल प्रशासनले जनाएको छ।
शुक्रबार अस्पतालमा पत्रकार सम्मेलन आयोजना गरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चन्द्रभाल झाले अस्पतालको गुरुयोजना कार्यान्वयन गर्नका लागि घेरबार गरेर जग्गा संरक्षण गर्न लागिएको बताए।
उनका अनुसार गणेश मन्दिर, रक्त सञ्चार केन्द्र (ब्लड बैंक), देवकोटा पुस्तकालय र क्षयरोग अस्पताल जस्ता संवेदनशील मूल भवनहरू बाहेकका सबै अतिक्रमित संरचना भत्काइँदैछ। मानवीय जीवन र जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका यी सेवाहरूलाई अलपत्र नपारिने उनले बताए।
अस्पताल प्रशासनले मुख्य संरचनामा कुनै रातो स्टिकर वा संकेत नलगाइएको स्पष्ट पारेको छ। यद्यपि वर्षौँदेखि ती भवनहरूको भुईँ तल्ला तथा वरिपरि सञ्चालित व्यापारिक पसल र सटरहरू हटाउन जिल्ला प्रशासन कार्यालयको समन्वयमा रातो सूचना टाँस गरिएको प्रशासनका नासु नवराज लुइँटेलले जानकारी दिए। अस्पतालको जग्गा भएर पनि सटरहरू सडककै किनारामा रहेकाले घेरबार गर्ने कार्य अवरुद्ध हुँदै आएको तर्क अस्पताल प्रशासनको छ।
रातो स्टिकर लगाइएका र खाली गरिने व्यापारिक संरचनाहरूमा गणेश मन्दिर क्षेत्रमा रहेका उज्ज्वल फर्मा, कलश फर्मा, किड्स किराना पसल, श्रुति फार्मेसी र बालबालिका क्लिनिक छन्।
यस्तै क्षयरोग अस्पतालतर्फका श्रेष्ठ खाजा घर, मदिना होटल, कुन्टु कलेक्सन, पूर्वाञ्चल बायो मेडिकल, दिनेश शाकाहारी खाजा घर, रहिम मोटरसाइकल मर्मत, मोनिका फार्मेसी, निरुपमा होटल तथा दुई वटा खाली सटरहरू फोडिँदै छ।
रेडक्रस तथा ब्लड बैंकतर्फ सुनिल भेराइटी, सुमना ट्रेडर्स, त्रिवेणी फोटो स्टुडियो, राष्ट्रिय वाणिज्य बैंकका दुई वटा तला, कोशी मोबाइल, मिना मेडिकल र ब्लड बैंक छिर्ने मुनिको सटर हटाइने सूचीमा छन्।
देवकोटा पुस्तकालयतर्फ एउटा बन्द सटर, भट्टराई पान पसल, देवकोटा हेयर कटिङ (सैलुन), मोमो हाउस, सुपर संगीत आर्ट्स, देवकोटा होटल, अर्को एउटा पान पसल र पुस्तकालयको मूल भवन छिर्ने सटरमा रातो नोटिस टाँसिएको छ।
नापी कार्यालयको अन्तिम प्रतिवेदनअनुसार कोसी अस्पतालको नाममा रहेका ६ वटा कित्तामध्ये करिब ८ देखि १० कट्ठा जग्गा यी चार वटा संस्थाका विभिन्न संरचनाले ओगटेको अनुमान गरिएको छ।
यसैबीच क्षयरोग अस्पतालले अन्तरिम आदेश र निषेधाज्ञाका लागि उच्च अदालतमा दायर गरेको रिटमा अदालतले निषेधाज्ञा जारी गर्नु नपर्ने भनी आदेश दिएपछि अस्पताललाई आफ्नो जग्गा संरक्षण गर्ने कानुनी बाटो खुला भएको लुइँटेलले बताए।
अवैध संरचना हटाउनका लागि दिइएको सात दिने सूचनाको म्याद आगामी आइतबार सकिँदै छ। म्याद सकिए लगत्तै डोजर कहिले चलाउने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायसहितको संयुक्त बैठक बसेर निर्णय गरिने अस्पताल प्रशासनले जनाएको छ।
Shares

प्रतिक्रिया