भक्तपुरमा ९४ वर्षीया वृद्धको हत्या भएको छ। भक्तपुर नगरपालिका-३ स्थित नासमना निवासी ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुन्डीराज न्यौपानले जानकारी दिए।
‘गएराति खुट्टा डोरीले बाँधिएको, मुखमा कपडा कोचेर हत्या गरेको अवस्थामा शव फेला परेको छ,’ प्रहरी परिसर भक्तपुरका सूचनाअधिकारीसमेत रहेका डीएसपी न्यौपानेले नेपालखबरसँग भने, ‘घटनामा संलग्न भएको आशंकामा हामीले राति नै एक पुरुषलाई पक्राउ गरेका छौँ। घटनाका सम्बन्धमा थप अनुसन्धान हुँदैछ।’
चारभाइ छोरा भए पनि वृद्धा घरमा एक्लै बस्ने गरेको पाइएको न्यौपानेले बताए। उनका छोराहरु भक्तपुरकै सूर्यविनायकतिर बस्दै आएका प्रहरीले जनाएको छ। छोराहरुले आमासँग दुई महिनादेखि भेटघाट नभएको बयान प्रहरीलाई दिएका छन्।
तीनतले घरको माथिल्लो तलाको कोठामा वृद्धाको शव फेला परेको हो। घरको पहिलो र दोस्रो तला भने वृद्धले भाडामा लगाएकी थिइन्।
बुधबार बिहान तरकारी किनेर घर गएकी विष्णुकुमारी दिनभरि पनि घरबाहिर ननिस्केपछि साँझपख आफन्तले खोजी गरेका थिए। खोजी गर्ने क्रममा घरमा हेर्न जाँदा उनी मृत अवस्थामा फेला परेपछि आफन्तले प्रहरीलाई खबर गरेका हुन्।
पक्राउ परेका पुरुष सोही घरमा यसअघि डेरामा बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ। ‘त्यतिबेला ती पुरुषसँग उनको झगडा पर्ने गरेको स्थानीयले बताएका छन्,’ डीएसपी न्यौपानेले भने, ‘पुरानो रिसइबीको कारण हत्या भएको हुनसक्ने आशंका छ।’
विष्णुकुमारीको शव अहिले पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ।
Shares

प्रतिक्रिया