कोसी प्रदेशसभाले सांसद लिला वल्लभ अधिकारी पक्राउको सूचना सार्वजनिक गरेको छ। प्रदेश सभा सचिवालयले आज एक सूचना जारी गर्दै सांसद पक्राउबारे जानकारी सार्वजनिक गरेको हो।
एमाले कोसीका सांसद अधिकारीलाई हिजो प्रहरीले विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो।
मानव तस्करीको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
‘जिल्ला प्रहरी कार्यालय (अपराध अनुसन्धान तथा कारवाही शाखा) मोरङको च.नं. ५३९६ मिति २०८१/०७/२५ को पत्रानुसार उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्र जोहेरीले वादी नेपाल सरकार प्रतिवादी महेश पाण्डे समेत भएको लिखत तथा मानव बेचबिखन सम्बन्धी कसूर मुद्दामा काठमाडौँ जिल्ला अदातलबाट मिति २०८१/०७/२५ गते पक्राउ अनुमति जारी भएका कोसी प्रदेश सभाका माननीय सदस्य लिला वल्लभ अधिकारी समेतलाई पक्राउ गरी थप अनुसन्धान कार्यका लागि श्री जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित गराईएको जानकारी प्राप्त भएकाले प्रदेश सभा नियमावली, २०७४ को नियम १९० को उपनियम (२) बमोजिम माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशन गरिएको छ,’ प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यले जारी गरेको सूचनामा भनिएको छ।
निवर्तमान मन्त्री अधिकारीलाई पक्राउ गर्नुपहिले नै प्रहरीले उनीसँगै जापान गएका तीनजना र नक्कली कागजात तयार गर्ने तथा रकम असुलेर जापान पठाउनमा संलग्न तीन जनालाई पक्राउ गरेको थियो।
जापानको विमानस्थलबाटै अध्यागमन विभागले फर्काएका खोटाङको केपिलासगढी गाँउपालिका ४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐँसेलुखर्क गाउँपालिका २ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका ५ का २१ वर्षीय कन्चन देवकोटा सुरुमा पक्राउ परेका थिए।
उनीहरूलाई विमानस्थलबाट पक्राउ गरेर अनुसन्धान गर्दा थप व्यक्तिको संलग्नता खुलेको थियो। उनीहरूमध्ये तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
Shares

प्रतिक्रिया