कोशी प्रदेशको मुख्यमन्त्री बन्न सांसद इन्द्र आङ्बो र केदार कार्कीले प्रदेश प्रमुख समक्ष बिहीबार बहुमत सांसदको समर्थन पेस गरेका छन्।
दुबै पक्षले ४७–४७ सांसदको समर्थन रहेको दाबी गरेका छन्। तर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने अहिलेसम्म तटस्थ बसेको छ।
९३ सदस्यीय प्रदेश सभामा एमालेका उपसभामुख सहित ४०, कांग्रेस २९, माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन्।
६ सांसद भएको राप्रपा तटस्थ बसेको छ।
‘हामीले कसैलाई समर्थन गरेका छैनौं। भोलि बिहान ८ बजे बस्ने पदाधिकारी बैठक बसेर निर्णय लिन्छौं,’ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालखबरसँग भने।
प्रदेश प्रमुखले मुख्यमन्त्रीको दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार भोलि (शुक्रबार) ५ बजेसम्म नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले समयसीमा दिएका छन्।
कोशीमा बिहीबार नयाँ राजनीतिक घटनाक्रम विकास भएको छ।
नेपाली कांग्रेसभित्रै सभापति शेरबहादुर देउवा र शेखर कोइराला पक्षको भिन्ना भिन्दै गुट बन्दा कोशीको राजनीति थप अन्योल भएको छ।
Shares

प्रतिक्रिया