आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा कर्णालीका केही निर्वाचन क्षेत्रमा रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ।
राजनीतिक दल विभाजन तथा अवसर खोज्दै एक पार्टीबाट अर्कोमा प्रवेश गरेका कारण यहाँ पूर्वसहकर्मीहरू नै आमनेसामने भएका छन्।
कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये ९ वटामा विभिन्न दलका पूर्वसहकर्मीबिच नै चुनावी लडाइँ हुने भएको हो।
लामो समय एउटै पार्टीमा काम गरेका नेताहरू आगामी निर्वाचनमा एकले अर्कालाई हराउन चुनावी मैदानमा छन्।
सुर्खेत-१
दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा नेपाली कांग्रेसमा लामो समय मिलेर काम गरेका चार नेता अहिले फरक-फरक दलबाट मुख्य प्रतिस्पर्धी बनेका छन्।
सुर्खेत-१ मा कांग्रेस राजनीतिमा प्रभाव जमाएका टेकबहादुर सिंह अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन्।
कांग्रेसको क्षेत्रीय उपसभापतिसमेत भएका सिंहले अब यहाँ कांग्रेसकै विष्णुबहादुर खड्कालाई चुनावी चुनौती दिँदै छन्।

कांग्रेसका निवर्तमान पार्टी उपसभापति पूर्णबहादुर खड्काको क्षेत्र भएकाले सुर्खेत-१ लाई विशेष महत्त्वका साथ हेरिएको छ।
२०४८ यताका सबै निर्वाचनमा उम्मेदवार बन्ने गरेका उपसभापित खड्का यसपटक ‘ब्याक’ भएका छन्।
पूर्णबहादुरले मैदान खाली गर्दा मौका पाएका उनका सहोदर कान्छा भाइ विष्णुबहादुरलाई जित हासिल गर्न त्यति सहज भने छैन।
यस क्षेत्रमा यसअघिका निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस-एमाले हुन्।
तर पछिल्लो सयम नयाँ दलको लोकप्रियता यी दुवै दललाई भारी हुने निश्चित छ। खड्का र सिंह पहिलोपटक संसदीय निर्वाचनमा भाग लिँदै छन्। रास्वपाका सिंहले कांग्रेसका मत काट्ने अवस्थामा आफ्नो परम्परागत मत जोगाउन सके जित एमालेको पोल्टामा पर्ने आकलन छ।
२०७९ को निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दल मिलेर बनेको गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका पूर्णबहादुर खड्का ४२ हजार ६०७ मत ल्याउँदै विजयी भएका थिए। पराजित एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मोहम्मद हसरत अलीले ८९७ मत पाएका थिए।
सुर्खेत-२
सुर्खेत-२ मा पनि कांग्रेसका पूर्वसहकर्मीबिच चुनावी प्रतिस्पर्धा हुँदै छ।
यहाँ कांग्रेस वीरेन्द्रनगर नगर समितिको सचिव भएर काम गरेका यातायात व्यवसायी रमेश सापकोटा र नारायण कोइरालाबिच भिड्दै छन्।

सुर्खेत-२ मा पनि यसअघिका निर्वाचनमा एमाले-कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन्। तर, यसपटक रास्वपा पनि यहाँ निर्णायक शक्ति बन्ने देखिन्छ।
२०७९ को निर्वाचनसम्म आइपुग्दा सुर्खेत-२ मा एमाले र कांग्रेसले पालैपालो प्रतिनिधि सभा निर्वाचन जितेका छन्।
२०७९ को निर्वाचनमा एमालेका अमृतकुमार बिसीलाई हराउँदै हृदयराम थानी निर्वाचित भएका थिए।
त्यतिबेला कांग्रेस माओवादी केन्द्र र नेकपा एकीकृत समावादी गठबन्धनका साझा उम्मेदवार बनेका उनले ३४ हजार ६२५ मत पाएका थिए। उनका निकटतम प्रतिस्पर्धी बिसीले २९ हजार ५५८ मत ल्याएका थिए।
यस्तै रास्वपाका उम्मेदवार टेकबहादुर चुनाराले ४ हजार ६०१ मत ल्याएका थिए।
दैलेख-१
दुई निर्वाचन क्षेत्र रहेको दैलेखमा पनि पूर्वसहकर्मीबिच रोचक प्रतिस्पर्धा हुँदै छ।
दुवै निर्वाचन क्षेत्रमा एमालेका पूर्वसहकर्मीबिच चुनावी लडाइँ हुँदा कांग्रेस भने इतिहास रच्ने दाउमा छ। रास्वपाले पुराना दललाई हायलकायल पारिरहेको छ।
एमाले विभाजनपछि बनेको नेकपा एकिकृत समाजवादी र तत्कालीन नेकपा माओवादी केन्द्रसहितका वाम दल मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी पनि चुनावी मैदानमा छ।
एमालेले दैलेख-१ बाट रवीन्द्रराज शर्मालाई उम्मेदवार बनाउँदा नेकपाबाट अमरबहादुर थापा छन्।
शर्मा र थापा एमालेमा लामो समय मिलेर काम गरेका नेता हुन्। थापा एमाले विभाजनपछि समाजवादीतर्फ लागेका थिए। गएको निर्वाचनमा पनि शर्मा र थापाबिच नै प्रतिस्पर्धा भएको थियो।
२०७९ मा माओवादी-कांग्रेसलगायत पाँच दल मिलेर बनेको गठबन्धनलाई कडा टक्कर दिँदै शर्मा थापासँग झिनो मतान्तरले मात्र पराजित भएका थिए। शर्मा २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। यसपटकको निर्वाचनमा शर्मा र थापालाई अर्का सहकर्मीले पनि चुनौती दिँदै छन्।
टिकट नपाउने छाँट देखिएपछि रास्वपा प्रवेश गरेका नन्दकिशोर बस्नेत शर्मा र थापाका लागि चुनौती बनेर खडा भएका छन्।

बस्नेत एमालेबाट धेरै अवसर लिने नेतामध्ये एक हुन्। तर उनले टिकट नपाएको झोकमा एमाले परित्याग गरेका थिए। दैलेखमा नेकपा र रास्वपा एमालेभन्दा कमजोर छन्। तर थापा र बस्नेतले एमालेका भोट काट्दा कांग्रेसलाई फाइदा हुने देखिन्छ।
दैलेख-२
दैलेख-२ मा पनि एमालेका पूर्वसहकर्मीबिच चुनावी प्रतिस्पर्धा हुँदै छ। गएको निर्वाचनमा कांग्रेस-माओवादीको गठबन्धनलाई कडा चुनौती दिएका एमालेका लक्ष्मीप्रसाद पोखरेल चुनावी मैदानमा छन्।
गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका दिक्पालकुमार शाहीसँग १५३ मतले पोखरेल पराजित भएका थिए। आगामी निर्वाचनमा पनि पोखरेल र शाहीबिच नै मुख्य प्रतिस्पर्धा हुनेछ।

सांगठनिक मत कमजोर रहेको नेकपाबाट उम्मेदवार बनेका योगेन्द्रबहादुर शाही पोखरेलको चुनौती बन्ने देखिन्छ। पोखरेल र नेकपाका शाही एमालेमा लामो सयम मिलेर काम गरेका पूर्वसहकर्मी हुन्।
२०७९ को प्रदेशसभा सदस्यको टिकट नपाएपछि शाही तत्कालीन माओवादी केन्द्रमा प्रवेश गरेका थिए। तर उनलाई एमालेका विनोदकुमार शाहले हराइदिएका थिए।
उनै शाही अहिले प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेको भोट काट्न सक्ने मुख्य पात्र बनेर उभिएका छन्। शाहीले एमालेका भोट काटे दैलेख-२ मा पनि कांग्रेसको पल्ला भारी हुने आकलन छ। पोखरेल २०७० को संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।
कालीकोट
कालीकोटमा पनि पूर्वमाओवादीका दुई सहकर्मीबिच प्रतिस्पर्धा हुँदै छ।
२०६४ यताका संसदीय निर्वाचन बहिष्कार गरेर नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीमा लागेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) पुनः निर्वाचनमा फर्किएपछि पूर्वजनमुक्ति सेनाका कमान्डर महेन्द्रबहादुर शाही अप्ठेरोमा परेका छन्।

प्रकाण्डले संसदीय निर्वाचन बहिष्कारको बाटो रोजेपछि शाही २०७० को दोस्रो संविधान सभा निर्वाचनयता कालीकोटमा अविजित छन्।
शाही २०७४ मा प्रदेशसभा सदस्य निर्वाचित हुँदै कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बनेका थिए।
त्यसपछि उनी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कालीकोटबाट सांसद पदमा विजयी भएका थिए।
आगामी निर्वाचनमा कालीकोटमा पूर्वसहकर्मीबिचको भिडन्त पनि रोचक बन्ने भएको छ।
जुम्ला
जुम्लामा पनि आगामी निर्वाचनमा पूर्वसहकर्मीबिच चुनावी प्रतिस्पर्धा हुँदै छ। यहाँ माओवादीको १० वर्षे युद्धमा सहयोद्धा रहेका नेरश भण्डारी र मनऋषि धिताल दुई खेमाबाट चुनाव लड्दै छन्।

भण्डारी नेकपाका तर्फबाट उम्मेदवार बन्दा धिताल जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट चुनावी मैदानमा छन्। भण्डारी यसअघि २०६४ मा संविधा सभा र २०७४ को प्रदेशसभामा सदस्य निर्वाचित भएका थिए भने धिताल पहिलोपटक संसदीय चुनाव लड्दै छन्।
मुगु
यस्तै मुगुमा पनि एमालेका पूर्वसहकर्मीहरूबिच चुनावी प्रतिस्पर्धा हुँदै छ।
मुगुमा एमालेका पूर्णबहादुर रोकाया र तत्कालीन एकीकृत समाजवादीका चन्द्रबहादुर शाहीबिच चुनावी भिडन्त हुनेछ।
शाही एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा लागेका थिए। अहिले उनी नेकपाका तर्फबाट उम्मेदवार बनेका हुन्।

शाही २०७४ मा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। शाही त्यतिबेला पार्टीको ह्विप उल्लंघन गर्दै फ्लोरक्रस गरेर विवादमा आएका व्यक्ति हुन्।
शाही कर्णाली सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भइसकेका नेता हुन्।
एमालेका रोकाया पहिलोपटक निर्वाचनमा होमिएका हुन्।
डोल्पा
एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोल्पामा उम्मेदवार बनेका एमालेका लंकबहादुर रोकाया र नेकपाका धनबहादुर बुढा पूर्वसहकर्मी हुन्। बुढा एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए।
बुढा २०७० को संविधान सभा, २०७४ र २०७९ का प्रतिनिधि सभा निर्वाचनमा डोल्पाबाट विजयी भएका थिए भने रोकाया पहिलोपटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन्।

डोल्पामा पूर्वसहकर्मीबिच मात्रै रोचक चुनावी प्रतिस्पर्धा हुने छैन, यहाँ सहोदर दाजुभाइ पनि फरक-फरक पार्टीबाट चुनाव लड्दै छन्।
नेपाली कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट सहमहामन्त्री भएका कर्णबहादुर बुढा यहाँको चुनावी मैदानमा छन् भने उनको सहोदर भाइ नेकपाका धनबहादुर बुढा पनि प्रतिस्पर्धा गर्दै छन्।
दाजुभाइबिचको चुनावी भिडन्त हुँदा एमालेका रोकाया नतिजा आफ्ना पक्षमा पार्ने दाउमा छन्। उनी पहिलोपटक चुनावी मैदानमा छन्।
रुकुमपश्चिम
रुकुमपश्चिममा पनि लामो सयम एउटै पार्टीमा रहेर काम गरेकाहरूबिच चुनावी प्रतिस्पर्धा हुँदै छ। त्यो पनि गुरु-चेलाबिच।
रुकुमपश्चिम तत्कालीन नेकपा माओवादीको पकड क्षेत्र हो। यस क्षेत्रबाट निरन्तर संसदीय चुनाव जितिरहेका नेता हुन्- जनार्दन शर्मा।
तर अहिले उनै शर्मालाई यहाँ गोपाल शर्माले चुनौती दिँदै छन्। गोपाल जनार्दन गृहमन्त्री रहँदा उनको सचिवालयमा काम गरेका व्यक्ति हुन्।

जनार्दनकै जोडबलमा गोपाल २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए।
माओवादीभित्र पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको मुद्दा पेचिलो बनाएका जनार्दनले पार्टी छाडेपछि गोपाल सतहमा आएका हुन्।
जेनजी आन्दोलनपछि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसहित दर्जन भन्दा बढी वाम घटकसँग एकता गर्दै नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि जनार्दन अलग भएका हुन्।
जनार्दन यसपटक प्रलोपाको चुनाव चिह्न आँखाबाट चुनावी मैदानमा छन्। रुकुमपश्चिममा एमालेले जर्नादनलाई सघाएको छ।
Shares

प्रतिक्रिया