समाज


खोटाङमा बिहे भोज खाएका १ सयभन्दा धेरै बिरामी, केहीको अवस्था गम्भीर

खोटाङमा बिहे भोज खाएका १ सयभन्दा धेरै बिरामी, केहीको अवस्था गम्भीर

नेपालखबर
माघ २५, २०८२ आइतबार ९:४४, काठमाडौँ

खोटाङमा बिहे भोज खाएका एकसय भन्दा धेरै गाउँले बिरामी परेका छन्। बिरामी परेकामध्ये केहीको गम्भीर छ।

जन्तेढुंगा गाउँपालिका-६ दिप्लुङमा बिहे भोज खाएका सबै गाउँले बिरामी परेका जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्सपेक्टर राजु बिष्टले जानकारी दिए। 

‘बिहे भोज खाने सबै गाउँले बिरामी परेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट इन्सपेक्टर विजय लामिछानेको नेतृत्वमा प्रहरी टोली पठाएका छौँ,’ उनले नेपालखबरसँग भने, ‘घटनाको विस्तृत विवरण आउँन बाँकी छ।’

स्थानीय वर्णबहादुर राईका छोरा किशोर राईको यही माघ २१ गते विवाह भएको थियो। घरमा बेहुली भित्र्याएपछि राई परिवारले माघ २२ गते गाउँलेका लागि भोजको आयोजना गरेका थिए। 

पाहुना र गाउँले गरि झण्डै डेढसय जनाले मासुभात, दाल तरकारी, अचारसहितको भोज खाएका थिए। 

भोज खानेजति सबै बिरामी परेको खबर आएको इन्सपेक्टर बिष्टले बताए। 

भोज खानेलाई ‘फुडपोइजन’ भएको आशंका स्वास्थ्यकर्मीले गरेका छन्। स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेल पनि घटनास्थलमा पुगेका छन्। 

स्थानीय सुजना राईको घरमा शिविर राखेर अहिले बिरामीको उपचार भइरहेको छ। भण्डै ३० जनाको अहिले उपचार चलिरहेको प्रहरीले जनाएको छ। चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रबाट गएका ७ जना स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिएका छन्। 

बिरामीको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन्। विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए। 

उपचारको माग गर्दै बिरामी सम्पर्कमा आउन थालेपछि गाउँपालिकाले माघ २३ गतेदेखि निगालावास भञ्ज्याङमा भेला गरेर उपचारको व्यवस्था  मिलाइएको हो।

भोज खाएर फर्किएका उदयपुर, काठमाडौँलगायतका पाहुनासमेत बिरामी परेको खबर आएको गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले जानकारी दिए। 

शिविर सञ्चालन गरेपछि सबैतिरबाट फोन आउन थालेको छ। भोज खाएर काठमाडौँ आएका एकजना बिरामी उपचारको लागि टेकुमा भर्ना भएका छन्। बिरामीमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्ने जस्ता समस्या देखिएको स्वास्थ्यर्मीले बताएका छन्।

फुडप्वाइजनको कारण बेहुला र बेहुलीसमेत बिरामी परेका छन्। उनीहरू सहितका बिरामीलाई स्लाइनपानी, जीवनजल लगायतका औषधि दिएर उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad