परीक्षामा पास गराइदिने भन्दै करोडौँ ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका ७ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ बस्दै आएका २२ वर्षीय पवन विक छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी एवम् सूचना अधिकारी मोहनजङ्ग बुढथापाले मंगलबार दिउँसो साढे १ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ बाट पवनलाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ परेका पवनमाथि विभिन्न लोकसेवा लगायतका अन्तरवार्ता तथा लिखित परीक्षामा उत्तीर्ण गराइदिन्छु भन्दै पीडितहरूबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोप रहेको बुढथापाले बताए।
उनलाई ठगीको आरोप लागेपछि फरार रहेको र खोजतलास गर्ने क्रममा वीरेन्द्रनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पवनमाथि ठगी मुद्दामा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया