कर्णाली


यू-१९ महिला राष्ट्रिय क्रिकेटः उपाधिका लागि मधेस र सुदूरपश्चिम भिड्ने

यू-१९ महिला राष्ट्रिय क्रिकेटः उपाधिका लागि मधेस र सुदूरपश्चिम भिड्ने

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १८:४४, सुर्खेत

वीरेन्द्रनगरमा जारी १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेटको उपाधि भिडन्त मधेस र सुदूरपश्चिम प्रदेशबीच पक्का भएको छ।

समूह चरणको अन्तिम खेलमा मधेसलाई ७ विकेटले पराजित गर्दै सुदूरपश्चिमले पुनः फाइनलमा मधेसलाई नै प्रतिस्पर्धीका रूपमा पाएको हो।

आइतबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कर्णालीलाई हराउँदै फाइनल पुग्ने झिनो सम्भावना कायमै राखेको गण्डकी भने मधेसमाथि सुदूरपश्चिमले जित निकालेसँगै निराश हुन पुगेको छ। 

अघिल्ला ६ खेलमा अपराजित रहँदै आएको मधेस प्रतियोगिताको पहिलो हार सुदूरपश्चिमसँग व्यहोरेको छ।

कालुङचोक क्रिकेट मैदानमा भएको खेलमा ११८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमका ओपनर सावित्री धामी र करुणा विष्टले ८ ओभरसम्म टिकेर ६८ रनको उत्कृष्ट साझेदारी गर्दै जितका लागि बलियो जग बसालिन्।

२४ रनको व्यक्तिगत स्कोरमा सावित्री धामी सुष्मिताकुमारी यादवबाट बोल्ड भएको केहीबेरपछि करुणा रनआउट हुँदा मधेसतर्फ ढल्किएको खेललाई रश्मी सुनारले १५ र रविना धामीले १८ रन बटुल्दै आफ्नाे पोल्टामा पारे।

३० बलको सामना गरेकी करुणाले १७० को स्ट्राइक रेटमा ९ चौकासहित ५१ रनको आक्रामक पारी खेलिन्। त्यसअघि पहिला ब्याटिङ गरेको मधेसका लागि सना प्रविन र प्रतिमा साहको समान २३–२३ रनको मद्दतमा ११७ को योगफल खडा भयो।  मधेसका लागि आरती महतो र शिवानी साहले समान १०-१० रन जोडे।

यस्तै आइतबार भएको अर्को खेलमा गण्डकीले घरेलु टोली कर्णालीमाथि ८ विकेटको फराकिलो जित निकालेको छ। घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको कर्णालीले २० ओभरको खेलमा ४ विकेट गुमाउँदै जम्मा ९६ रन बनाएको थियो। कप्तान तिर्सना विश्वकर्मा १ रनले अर्धशतक बनाउनबाट चुकिन्। 

ओपनर सोविका शाही शून्यमै आउट भए पनि तिर्सनाले ६२ रनको सामना गर्दै १ छक्का र ६ चौकाको मद्दतमा नटआउट ४९ रन बनाइन्। 

दोश्रो क्रमकी शिखा दुवाडीले १७ रन जोडिन्। बलिङतर्फ गण्डकीकी निरु जीटीले दुई विकेट झार्दा यशोदा भुजेल र जेनिशा शर्माको नाममा एक-एक विकेट रह्यो।

९७ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकीका ओपनर श्रेया शाह तीन र ज्योत्सिनीका मरासिनीले १३ रनमा आउट भएपछि तेश्रो र चौथो क्रममा ब्याटरले नटआउट रहँदै गण्डकीको इनिङ्स सम्हाले। 

चन्द्रमाया बरालले ५ चौकासहित ३७ बलमा ३९ र दीपिका सापकोटाले पनि ५ चौकासहित २९ बलमा ३२ रन जोड्दै गण्डकीलाई सहज जित दिलाए।

समूह चरणको अन्तिम खेलमा लुम्बिनीले कोशीलाई जम्मा ४८ रनको लक्ष्य दिएको थियो। १६ रन अतिरिक्त पाएको लुम्बिनीका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्न सकेनन् भने ४ ब्याटर शून्यमै फर्किए।

४८ रनको झिने लक्ष्य पछ्याएको कोसीका टीका शाहले ८, पूर्णिमा राजवंशी र प्रिन्सा राना मगरले समान १०-१० रन बनाउँदा खुशीकुमारी राजवंशीले नटआउट ११ रन जोडिन्। कोसीको जितमा ११ रन अतिरिक्त रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad