कर्णाली


प्रकाश ज्वालाले छोडेको सल्यानमा माओवादी पृष्ठभूमिका तीन उम्मेदवार, कांग्रेस–एमाले उत्साहित

एमालेका शाह र कांग्रेसका विष्टसँग भिड्दै प्रचण्डका पूर्वस्वकीय सचिव मल्ल
प्रकाश ज्वालाले छोडेको सल्यानमा माओवादी पृष्ठभूमिका तीन उम्मेदवार, कांग्रेस–एमाले उत्साहित

दिनेश बुढा
माघ १५, २०८२ बिहिबार १७:५२, सुर्खेत

सल्यानको राजनीतिमा पकड जमाउँदै आएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता यसपटक चुनावी मैदानमा छैनन्।

०७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट विजयी प्रकाश ज्वाला मैदानबाहिर हुँदा हाल उनी आबद्ध दल नेकपाबाट यसपटक रमेशकुमार मल्ल उम्मेदवार छन्। 

०५६ देखि स‌सदीय राजनीतिमा रहेका ज्वालाको ठाउँमा नेकपाले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का तत्कालीन स्वकीय सचिव रमेश मल्ललाई मौका दिएको हो।

पहिलो पटक उम्मेदवार बनेका मल्ल नेकपा एमालेका कर्णाली अध्यक्ष गुलावजंग शाह र नेपाली कांग्रेसका केशबहादुर विष्टसहित ११ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन्।

सल्यानमा स्वतन्त्र तथा विभिन्न दलबाट गरी १४ जना उम्मेदवार मैदानमा छन्। मुख्य प्रतिस्पर्धा भने कांग्रेस, एमाले र नेकपाबीच नै हुने आकलन गरिएको छ। 

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले ललित चन्दलाई उम्मेदवार बनाएको छ। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिशा नेपाली, नेकपा माओवादीबाट चन्द्रबहादुर खड्का, राष्ट्रिय जनमोर्चाबाट कमला डाँगी, संयुक्त नागरिक पार्टीबाट कालिदास विक, नेपाल मजदुर किसान पार्टीबाट लालबहादुर थापा, नेशनल रिपब्लिक पार्टी नेपालबाट डिल्लीबहादुर घर्ती तथा मंगोल नेसनल अर्गनाइजेसनबाट वालसिंह घर्ती मैदानमा छन्। ध्रुवराज वली र जुद्धबहादुर सिंहले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

२०५६ सालमा प्रतिनिधि सभा प्रवेश गरेका ज्वाला ०७० को दोस्रो संविधान सभा, २०७४ मा प्रदेसभा र २०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनको तर्फबाट प्रतिनिभिसभामा निर्वाचित भएका थिए। ज्वालाले पकड जमाएको सल्यानमा तत्कालीन माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष समेत रहेका मल्ल आफू युवा भएका कारण मतदाताले विश्वास गर्नेमा विश्वस्त छन्।

यता, माओवादी पृष्ठभूमिकै ललित चन्द रास्वपाबाट उम्मेदवार छन्। उनी यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा आवद्ध थिए।

पेशाले सिभिल इन्जिनियर समेत रहेका उनी रास्वपामा बौद्धिक व्यक्तिका रुपमा गनिन्छन्। उनले लामो समय ग्रामीण विकासका सन्दर्भमा काम गरेको र सोही अनुसार जनताले विश्वासका साथ मत दिने आश गरेका छन्। 

यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीबाट खड्का उम्मेदवार छन्। खड्का सहिद परिवार, जनयुद्धका घाइते तथा लडाकु हुन्। 

खड्कासँगै नेकपा र रास्वपामा पनि माओवादी पृष्ठभूमिका नेताहरू उम्मेदवार बन्दा माओवादी मत बाँडिने देखिन्छ। उनीहरू तीन दलबीच मत विभाजन हुँदा एमाले र कांग्रेसले आफ्ना मत जोगाएर जाने सके नतिजा आफ्नो पक्षमा आउनसक्ने दुवै दलका नेताहरूको आकलन छ। 

नेकपा एमालेले अगाडी सारेका शाह एमाले कर्णाली प्रदेश अध्यक्ष हुन्। उनले २०७४ मा प्रदेश सभा सदस्यको निर्वाचन जितेका थिए भने २०७९ मा पराजित बने। शाह यसपटक प्रतिनिधि सभा प्रवेश गर्ने दाउमा छन्।

सल्यानमा एमालेको बलियो संगठन रहेको र विगतदेखि एमाले वा एमाले पृष्ठभूमिकै नेताहरूले जित्दै आएकोमा आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ। 

‘विगतदेखि सल्यान एमालेको जनमत बलियो भएको जिल्ला हो’, शाहले भने, ‘२०७९ को निर्वाचनमा समानुपातिकतर्फ हाम्रो पार्टी पहिलो छ।’ 

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका विष्ट पार्टीका जिल्ला सभापति हुन्। जिल्ला समन्वय समितिका पूर्वप्रमुख भइसकेका विष्ट कर्णाली प्रदेशका ९ जिल्लाका कांग्रेस सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा हुँदा एक्लै पक्षमा थिए। 

यता, यसअघि समानुपातिकबाट सांसद राप्रपाकी अनिशा नेपाली समेत चुनाव आफूले जित्ने दाबी गर्छिन्। ‘संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र नेपाल र संघीयता खारेजी हाम्रो पार्टीका एजेण्डा हुन्’, उनले भनिन्, ‘गैरदलीय स्थानीय तह र प्रत्यक्ष कार्यकारी हुनुपर्छ भन्ने नारा बोकेर म उम्मेदवार बनेकी छु।’

यस्तो छ, अंकगणित 
०७४ मा सल्यानबाट नेकपा माओवादीले चुनाव जितेको थियो। माओवादीका टेकबहादुर बस्नेतले ४० हजार ८९७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका राजेन्द्रबहादुर शाहले २९ हजार ७६७ मत प्राप्त गरेका थिए।

गत निर्वाचनमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार ७०० मत ल्याएर विजयी हुँदा, स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका थिए। एमालेका राजेन्द्रवीर राय १३ हजार २९ मतका साथ तेस्रो थिए।

१० पालिका रहेको सल्यानमा स्थानीय निर्वाचन–२०७९ मा कांग्रेसले पाँच वटा पालिकाको नेतृत्व पाउँदा एमाले र माओवादीले दुई–दुई वटा र समाजवादीले एउटा पालिका जितेको छ। यस जिल्लामा कांग्रेसको एउटा पक्ष एमाले र एउटा समूह माओवादीसँग तालमेल गरेर चुनाव लडेका थिए। 

वडा अध्यक्षले पाएको मतको अधारमा जिल्लाभर सबै भन्दा धेरै नेपाली कांग्रेसले पाएको छ। जसमा कांग्रेसले ३३ हजार ६१६ मत पाएको छ भने माओवादीले २६ हजार ७१३, एमालेले २६ हजार ६२८, समाजवादीले ९ हजार ४६७ मत पाएको छ। 
राष्ट्रिय पजातन्त्र पार्टीले २ हजार ११७ मत मात्रै पाएको छ।

पालिका प्रमुख तथा अध्यक्ष र वडाध्यक्षहरुले पाएको मत हेर्दा कांग्रेस अगाडि देखिए पनि २०७९ निर्वाचनमा समानुपातिकमा एमाले पहिलो छ। एमालेले चुनाव जित्ने पहिलो आधार यसै जनमतलाई मानेको छ। एमालेले २२ हजार २५६ मत पाएको थियो। दोस्रोमा  माओवादी केन्द्रको २१ हजार ३२५ मत थियो। कांग्रेस १९ हजार ९६६ मतसहित समानुपातिकको तेस्रो स्थानमा छ। 

यस्तै, तत्कालीन एकीकृत समाजवादीले ५ हजार ९७० मत ल्याउँदा राप्रपाले ४ हजार ५२२ र राप्रपा नेपालले २ हजार ३०८ मत ल्याएका थिए।

१ लाख ६२ हजार ४४९ मतदाता संख्या रहेको सल्यानमा ११७ मतदान स्थल र २०५ मतदान केन्द्र तोकिएका छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad