कर्णाली


कर्णाली खेलकुद परिषद्को सदस्य सचिवका लागि २१ जनाको आवेदन

कर्णाली खेलकुद परिषद्को सदस्य सचिवका लागि २१ जनाको आवेदन

नेपालखबर
पुस ९, २०८२ बुधबार १७:११, सुर्खेत

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त सदस्य सचिव पदका लागि निवर्तमान पदाधिकारीसहित २१ जनाले आवेदन दिएका छन्। विगत एक वर्षदेखि रिक्त रहेको परिषद्को सदस्य सविच पदका सामाजिक विकास मन्त्रालयले विज्ञापन नै गरेर पदपूर्ति गर्न लागेको हो।

हाल कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार छ। उक्त सरकारले रिक्त रहेको सदस्य सचिवको टुंगो लगाउन नसकेको भन्दै आलोचना भएपछि सरकारले सार्वजनिक विज्ञापन गरेर नै आवेदन मागेको थियो। 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले सदस्य सचिवका लागि ९ मंसिर २०८२ मा सूचना जारी गरेको थियो। उक्त सुचनामा नेपाली नागरिक, कर्णाली प्रदेशको स्थायी बासिन्दा भएको, पच्चीस वर्ष उमेर पूरा भएको, नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण भएको, (यदि वैदेशिक शिक्षण संस्थाबाट अध्ययन गरेको भएमा समकक्षताको प्रमाण पत्रसमेत) खेलकुदका क्षेत्रमा कम्तीमा पाँच वर्ष अनुभव प्राप्त भएको, प्रचलित कानुनले अयोग्य नभएका व्यक्तिलाई खुला प्रतिस्पर्धामा सहभागी हुन अनुरोध गरेको थियो। 

सोही  सुचनाअनुसार सदस्य सचिवका लागि निवर्तमान उपाध्यक्ष प्रमोद हमाल, सदस्य सचिव विश्वामित्र संज्याल र सदस्य हेमा खड्कासहित २१ जनाको आवेदन परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

२०७७ पुस ६ गते नियुक्त भएका परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्य सचिव विश्वामित्र सञ्ज्यालको चार वर्षे पदावधि ६ पुस २०८१ मा समाप्त भएको थियो। आइतबार मात्रै परिषद् पदाधिकारीविहीन भएको एक वर्ष पुगेको छ। एक वर्षसम्म परिषद्का प्रशासनिक कामहरू लथालिङ्ग छन्। 

रिक्त परिषद्कै कारण निर्माणाधीन कर्णाली प्रदेश रंगशालाको काम एक प्रतिशतमा रोकिएको छ, भने निर्माण व्यवसायीले नौ करोड रुपैयाँ भुक्तानीसमेत नपाएको गुनासो छ। 

यी हुन् सदस्य सचिवका प्रतिस्पर्धी
रिक्त सदस्य सचिव पदमा आवेदन दिनेहरूमा जुम्लाको चन्दननाथ नगरपालिका–१० का चेतनराज गिरी, दैलेखको नारायण नगरपालिका–८ का हेमा खड्का, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ का प्रमोद हमाल छन्। खड्का र हमाल यसअघि खेलकुद परिषद्को जिम्मेवारीमा रहिसकेका व्यक्ति हुन्। हमाल परिषदका उपाध्यक्षको भूमिकामा रहँदा खड्का सदस्य थिइन्। 

यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का प्रभात थाप, वीरेन्द्रनगर–६ कै दिलिप बस्याल, सुर्खेतको बराहताल गाउँपालिका–८ का घनश्याम पाण्डे पनि सदस्य सचिवको प्रतिस्पर्धी छन्। पाण्डे मुख्मयन्त्री यामलाल कँडेलका स्वकीय सचिव हुन्। यद्यपी, अहिले उनी सो जिम्मेवारीबाट अलग भइसकेका छन्। 

दैलेखको भैरवी गाउँपालिका–५ का जगतप्रसाद रिजाल, वीरेन्द्रनगर–८ का केशरबहादुर रोकाय, वीरेन्द्रनगर–१२ का टंकप्रसाद गैरे, कालिकोटको खाँडाचक्र नगरपालिका–७ का पंखबहादुर मल्ल, कालिकोटकै तिलागुफा नगरपालिका–१ का मनराज शाही, सुर्खेतको भेरीगंगा नगरपालिका–४ का दीपक हमाल पनि परिषद्को सदस्य सचिवको दौडमा छन्। 

यस्तै, वीरेन्द्रनगर–३ का पदम वन, वीरेन्द्रनगर–६ का जगत प्याकुरेल, दैलेखको आठविस नगरपालिका–१ का गणेश खनाल, वीरेन्द्रनगर–२ का गणेशबहादुर शाही, सुर्खेतको लेकवेशी नगरपालिका–२ का रेशमबहादुर गुरुङ्ग, वीरेन्द्रनगर–७ का रविन्द्र चन्द, दैलेखको दुल्लु नगरपालिका–८ का पवनकुमार थापा छन्।

कालिकोटको सान्नित्रिवेणी नगरपालिका–६ का विश्वामित्र संज्याल र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५ का लिलाप्रसाद ढकालले सदस्य सचिव पदमा आवेदन दिएका छन्। संज्याल परिषद्को निवर्तमान सदस्य सचिवसमेत हुन्। 

मन्त्रालयले सदस्य सचिव छनौट गर्न प्रदेश सचिवको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिसमेत बनाएको छ। उक्त समितिले मापदण्ड बमोजिम तय गरिएका सूचकका आधारमा दरखास्त पेश गर्ने उम्मेदवारको मूल्याङ्कन गरी ऐन वमोजिम अधिकतम अङ्क प्राप्त गर्ने तीनजना उम्मेदवारको नाम मन्त्रालयमा सिफारिस गर्नेछ। समितिको सिफारिस पश्चात मन्त्रिपरिषद् बैठकले सदस्य सचिव नियूक्त गर्नेछ। 

यस्तै, परिषद्को सदस्य सचिवको योग्यता र अनुभव कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पदमा नियुक्तिका लागि कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ तथा कर्णाली प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्ति सम्बन्धी मापदण्ड, २०८२ बमोजिम योग्यता र अनुभव हासिल गरेको हुनुपर्ने उल्लेख छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad