नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा महाधिवेशनको कार्यतालिका संशोधन प्रस्ताव गरिएको छ।
कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिकामा सामान्य संशोधन गर्न प्रस्ताव पेश गरेका हुन्। क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइका कारण कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरिएको हो।
महामन्त्री थापाले वडा अधिवेशन र क्षेत्रीय अधिवेशनको मिति संशोधन गर्न प्रस्ताव गरेका हुन्। थापाले राखेको प्रस्तावमा वडाको अधिवेशन पुस २१ मा र क्षेत्रको अधिवेशन पुस २३ मा गर्न समय तोकिएको छ।
त्यस्तै, महामन्त्री थापाले क्रियाशील सदस्यताको प्रगतिबारे जानकारी गराएको कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए।
कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता महतले कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समानुपातिक सूची निर्वाचनका लागि पेश गर्ने र राष्ट्रिय सभाका सूची तयार गर्ने विषय बैठकमा राखेको बताए।
यस्तै, अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले समितिले गरेका कामकारबाहीका विषयमा जानकारी गराएका थिए।
कांग्रेस कार्यसम्पादन समितिको बैठकमा प्रतिनिधि सभा विघटनाको विषय र निर्वाचनबारे पनि छलफल भएको डा.महतले बताए। ‘हामी निर्वाचनको तयारीमा छौँ र तयारीमा लाग्छौँ। निर्वाचन छोडेर पुनर्स्थापनातिर लाग्दैनौँ। तर निर्वाचन हुने वातावरण नभए पुनर्स्थापना जानुपर्छ भन्ने हाम्रो कुरा हो,’ उनले भने।
त्यस्तै, कांग्रेस नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगमा बयान दिने विषयमा पनि कुरा उठेको महतले बताए। जाँचबुझ आयोगमा गएर बयान दिन लेखकलाई सुझाव दिएको उनको भनाइ छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा महामन्त्री थापा, सहमहामन्त्रीहरू महेन्द्र यादव र बद्री पाण्डे, सदस्यहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, सुजाता कोइराला, एनपी साउँद र आनन्दप्रसाद ढुङ्गानाले आआफ्नो धारणा राखेका थिए। अर्को बैठक बिहीबार दिउँसो १ बजे बस्ने भएको छ।
Shares

प्रतिक्रिया