नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा कर्णाली प्रदेशबाट सचिव पदका लागि दुई प्रभावशाली नेताबीच प्रतिस्पर्धा चर्किएको छ।
स्थायी कमिटी सदस्यद्वय यामलाल कँडेल र गोरखबहादुर बोगटीले सचिव पदमा सशक्त दाबी प्रस्तुत गर्दै आन्तरिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन्। मंसिर २७ गतेदेखि सुरु हुने महाधिवेशनलाई लक्षित गर्दै उनीहरू प्रतिनिधिहरू भेटघाटदेखि सामाजिक सञ्जालमार्फत समर्थन जुटाउने अभियानमा सक्रिय देखिएका छन्।
सुर्खेतका यामलाल कँडेल र हुम्लाका गोरखबहादुर बोगटी दुबै पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेता मानिन्छन्। यही कारण सचिव पदका लागि कर्णालीबाट एउटै समूहका दुई वरिष्ठ नेताको दाबीले पार्टीभित्र रोचक समीकरण सिर्जना गरेको छ।
दुबै नेताले आफूलाई कर्णालीको समग्र प्रतिनिधित्व गर्ने योग्य उम्मेदवारका रूपमा प्रस्तुत गर्दै प्रतिनिधिहरूसँग ‘आन्तरिक सचिव पदको उम्मेदवार’ भन्दै सहयोग मागिरहेका छन्। उनीहरूले फेसबुक पेज, प्रोफाइल, ग्रुप, म्यासेन्जर, ह्वाट्सएप, भाइबरलगायत माध्यममार्फत प्रचार सामग्री प्रसार गरेका छन्।
कर्णाली प्रदेशबाट महाधिवेशनमा ११३ जना मात्र प्रतिनिधि छनोट भएका छन्। संगठित सदस्य संख्याको आधारमा कर्णालीबाट आएको प्रतिनिधित्व काठमाडौँ उपत्यकाका दुई-तीन जिल्लाभन्दा पनि कम देखिन्छ। हाल कर्णालीका १० जिल्लामा एमालेका करिब ४७ हजार पार्टी सदस्य छन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रदेशका १२ वटै निर्वाचन क्षेत्रमा एमालेले पराजय भोगेको पृष्ठभूमिले कर्णालीको कमजोर संगठनात्मक अवस्थालाई उजागर गर्छ।
यही कारण यसपटक पनि कर्णाली प्रदेशबाट पदाधिकारी पद पाउने सम्भावना न्यून रहेको विश्लेषण गरिएको छ। तर, पार्टीले भूगोललाई प्राथमिकता दिएर पदाधिकारी चयन गरेमा कर्णालीबाट कम्तीमा एक जनालाई अवसर दिन सक्ने चर्चा छ। यही सम्भावनालाई आधार मानेर कँडेल र बोगटी दुवैले सचिव पदमा आफ्नो दाबी नछोड्ने संकेत दिएका छन्। तर, दुबै ओली समूहका नेताहरू भएकाले अन्तिम नेतृत्व टिम मिलाउँदा अध्यक्ष ओलीलाई सन्तुलन कायम गर्न दबाब बढेको छ।
दीर्घ संगठनात्मक र राजनीतिक अनुभव बोकेका गोरखबहादुर बोगटी हाल एमाले कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारीमा छन्। केन्द्रीय कमिटी, पोलिटब्यूरो हुँदै स्थायी कमिटीसम्मको यात्राले आफू सचिव पदका लागि स्वाभाविक दाबेदार भएको उनको तर्क छ। पार्टीभित्र उनी ओलीका विश्वासपात्रका रूपमा समेत चिनिन्छन्। कर्णालीमा संगठन विस्तार र वैचारिक बहसमा सक्रिय भूमिका खेलेको दाबी गर्दै उनले नेतृत्वमा पुगेर प्रदेशको आवाज सशक्त रूपमा उठाउन सक्ने बताउँदै आएका छन्।
अर्कोतर्फ, यामलाल कँडेल पनि सचिव पदका प्रमुख दाबेदारका रूपमा अगाडि छन्। शिक्षण पेशाबाट राजनीतिमा प्रवेश गरेका कँडेलले किसान आन्दोलनदेखि विद्यार्थी राजनीति, स्थानीय सरकार, संसद र प्रदेश सरकारसम्मको अनुभव हासिल गरेका छन्। २०५१ सालमा सुर्खेतका मेयर निर्वाचित हुँदै संसदीय यात्रामा प्रवेश गरेका उनी संघीय र प्रदेश राजनीतिमा प्रभावशाली नेताका रूपमा स्थापित छन्।
२०७४ र २०७९ मा प्रदेशसभा सदस्य निर्वाचित भई कर्णाली प्रदेश सरकारको मुख्यमन्त्रीसमेत बनेका कँडेल १०औँ महाधिवेशनदेखि स्थायी कमिटी सदस्य छन्। उनले यसअघि पनि सचिव पदमा दाबी गरिसकेकाले यसपटक आफ्नो दाबी अझ परिपक्व भएको बताउँदै आएका छन्।
कर्णालीबाट स्थायी कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरूको संख्या करिब २८ रहेको छ। यद्यपि, सीमित प्रतिनिधि र कमजोर निर्वाचन परिणामका कारण पदाधिकारी तहमा प्रतिस्पर्धा निकै कठिन देखिन्छ। यस अवस्थाले कर्णालीभित्रै पनि नेतृत्व कसले पाउने भन्ने विषयमा चासो बढाएको छ।
महाधिवेशनको मिति नजिकिँदै जाँदा कर्णालीबाट सचिव पद कसको भागमा पर्ला भन्ने प्रश्नले एमालेभित्र आन्तरिक छलफल, लबिङ र समीकरणलाई तीव्र बनाएको छ। अन्ततः पार्टी नेतृत्वले भूगोल, संगठनात्मक योगदान, अनुभव र समूहगत सन्तुलनलाई कसरी मिलाउँछ भन्ने विषयले कर्णालीको भाग्य निर्धारण गर्ने देखिएको छ।
Shares

प्रतिक्रिया