प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले यस वर्षको चाडपर्वलाई व्यवस्थित र भयरहित बनाउनका लागि एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना–०८२ बनाएको छ। नेपालीहरूको महान चा दसैँ, तिहार र छठ पर्वको अवसरमा हुनसक्ने अवाञ्छित तथा अपराधिक गतिविधिहरूलाई नियन्त्रण एवम् सडक सुरक्षा सुशासन कायम गर्नका लागि कार्ययोजना तयार पारेको हो।
प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्वको समयमा हुन सक्ने कुनैपनि अपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलापहरूलाई हुन नदिई आम नागरिकहरूलाई सुरक्षाको प्रत्याभूती दिलाई समग्र कर्णाली प्रदेशको चरपर्दो सुरक्षा व्यवस्था मिलाउने कार्ययोजनाको लक्ष्य रहेको छ।
सार्वजनिक स्थल, मेला पर्व लगायतका स्थानहरूमा झै–झगडा, हुलदंगा लगायतका कुनै पनि अपाराधिक गतिविधि हुन नदिने, बैंक तथा वित्तिय संघ संस्था सुनचाँदी गरगहना पसल लगायत आर्थिक कारोबार हुने स्थानहरू र बढी भीडभाड हुने स्थानहरूमा चोरी, लुटपाट तथा पकेटमारका घटनाहरूलाई नियन्त्रण, बजारमा हुने कालोबजारी, मूल्यवृद्धी, ठगीका घटनाहरू पूर्ण रुपमा नियन्त्रण र सवारी दुर्घटनाका घटनालाई न्यूनीकरणका साथै तोकिएको भन्दा बढी भाडा लिन नदिने र सहज आवागमनको व्यवस्था मिलाउने प्रहरीको उदेश्य रहेको छ।
यस्तै, प्रहरीले सिमा नामकाहरूमा कडाईका साथ चेकजाँच गरी हालै घटेका जेनजी आन्दोलनको कारण नेपाल प्रहरीको लुटिएको हातहतियार तथा विभिन्न कारागारहरूबाट फरार रहेका कैदीबन्दी तथा थुनुवालाई पक्राउ गरिने जनाएको छ।

कर्णालीका १० जिल्लाबाट परिचालन
यस्तै, कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशभर एक हजार २१८ वटा ड्युटीहरूमा तीन हजार ९०८ जना प्रहरी जनशक्ति परिचालन गरेको जनाएको छ। साथै आवश्यकताका अनुसार नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँके र कर्णाली प्रदेश प्रहरी गण सुर्खेतबाट थप प्रहरी टोली खटाउने व्यवस्था पनि मिलाइएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता केदार खनालले जानकारी दिए।
उनका अनुसार ५३ वटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्यूआरटी परिचालन, १७८ वटा पदैल गस्ती, २० वटा लामो तथा छोटो दुरीका गस्ती, १३० स्थान पिकेट, ९२ स्थानमा नियमित, विशेष तथा आकस्मिक चेकिङ हुनेछन्।
यस्तै, ७५ स्थानमा ट्राफिकसहितको संयुक्त चेकिङ, ४३ स्थानमा महत्वपूर्ण प्रतिष्ठान, धार्मिक तथा पर्यटकीय स्थलहरूको सुरक्षा, ४३ स्थानमा यात्रु सहायता तथा नागरिक सहायता कक्ष, ९ स्थानमा माईकिङ प्रचार–प्रसार, ४५ स्थानमा बैंक, वित्तिय संघसंस्था सुरक्षा तथा बजार अनुगमन, ८ वटा विभिष्ट व्यक्तिको सुरक्षा र ३१८ स्थानमा अन्य विभिन्न स्थानहरू समेतको सुरक्षाको व्यवस्था मिलाइएको छ।
यस्तै, प्रहरीको सुरक्षा कार्ययोजना–२०८२ ले चाडवर्प अवधिमा अपारध रोकथाम तथा नियन्त्रण हुने, सवारी दुर्घटनामा न्यूनीकरण हुने, सार्वजनिक सवारी साधनहरूले यात्रुहरूसँग बढी भाडा असुल्ने, दुर्व्यवहार गर्ने, क्षमता भन्दा बढी यात्रु तथा मालसमान राखी सवारी चलाउने जस्ता गतिविधि रोक्ने, चोरी डकैती, लुटपाट, जुवातास, चिठ्ठा लगायतका कानूनले वन्चित गरेका गैरकानूनी क्रियाकलापहरू नियन्त्रण हुने अपेक्षा प्रहरीले राखेको छ।
साथै प्रहरीले यस कार्ययोजनाले चाडपर्वको सयमा अवैध हातहतियार, पटका, आतिशबाजी, विष्फोटक पदार्थहरूको ओसारपसार तथा प्रयोगमा नियन्त्रण, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सहयोग पुर्याउने, हालै जेनजी आन्दोलनको क्रममा विभिन्न कारागारहरूबा भागेका/फरार रहेका कैदीबन्दी तथा थुनुवाबाट हुनसक्ने सम्भावित घटनाहरू न्युनीकरण गर्न सहयोग पुग्ने विश्वास लिएको छ।
Shares

प्रतिक्रिया