अर्थ मन्त्रालयमा स्थानीय दातृनिकायका प्रमुखहरुसँग बैठक सम्पन्न भएको छ।
बैठकमा नेपालमा हालै भएको राजनीतिक परिवर्तन र नयाँ सरकारले अवलम्बन गरेको आर्थिक कार्यदिशा र प्राथमिकताका विषयमा विभिन्न देशका नेपाल स्थित राजदूतहरु, नेपाल स्थित संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुका प्रमुख तथा प्रतिनिधिहरु, मिशनका प्रतिनिधिहरु र बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदारका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल तथा अन्तर्क्रिया भएको अर्थ मन्त्रालयले जनाएको छ।
बैठकमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विकास साझेदारहरुले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पुर्याउदै आएकोमा धन्यवाद दिएका थिए। वर्तमान सरकारका तत्कालका प्राथमिकताहरु अवगत गराउँदै उनले नेपालमा हाल भएको परिवर्तनपश्चात् गठित अन्तरिम सरकार युवाहरुको चाहना अनुरुप पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचार मुक्त समाज र विधिको शासन स्थापनामा प्रतिवद्ध रहेको उल्लेख गरे।
आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै अर्थमन्त्री खनालले अनुपयुक्त खर्च कटौती र मितव्ययिताका माध्यमवाट पुनर्निर्माण अघि बढाईने र आर्थिक सुधारका कार्यक्रम लाई तीव्रता दिइने उल्लेख गरे।
कार्यक्रममा विकास साझेदारहरुको तर्फबाट संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक, यूएनएचसिआरका प्रतिनिधि, नेपालका लागि जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, फिनल्याण्ड र अष्ट्रेलियाका राजदूतहरु, भारत र नर्वेका प्रतिनिधिहरु, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रममा प्रतिनिधि लगायतले आफ्नो भनाइ राखेका थिए।
उनीहरुले नेपालको वर्तमान अवस्था प्रति जानकार रहेको र वर्तमान सरकारले लिएका नीति तथा कार्यक्रम प्रति सहमति जनाएको अर्थ मन्त्रालयले जनाएको छ। विकास साझेदारहरुले चालू रहेका आयोजनाहरुलाई निरन्तरता दिने र थप कार्यक्रम संचालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न सधै तयार रहेको उल्लेख गरेका थिए।
Shares

प्रतिक्रिया