कर्णाली


सुरेन्द्र मृत भेटिएको घटना रहस्यमय, २० दिनदेखि अनुसन्धानमै प्रहरी

सुरेन्द्र मृत भेटिएको घटना रहस्यमय, २० दिनदेखि अनुसन्धानमै प्रहरी

दिनेश बुढा
साउन ३१, २०८२ शनिबार २०:५१, सुर्खेत

दैलेखको छामघाटमा २८ वर्षीय सुरेन्द्रबहादुर शाही मृत भेटिएको २० दिन पुगेको छ। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-६ घर भएका सुरेन्द्रको साउन ११ गते बिहान दुल्लु नगरपालिका-११, कयलकुनास्थित छामघाट खोला किनारमा शव फेला परेको थियो। 

शव फेला परेको भोलि पल्ट अर्थात् साउन १२ गते एक जना युवतीलाई जिल्ला प्रहरी कर्यालय दैलेखले नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। तर, प्रहरीले सुरेन्द्रबहादुरको हत्या भएको हो वा आत्महत्या गरेका हुन भन्ने विषयमा २० दिनदेखि अनुसन्धानमै रहेको छ।
 
पारिवारिक स्रोतका अनुसार नियन्त्रणमा लिएकी युवतीले बारम्बार बयान फेरिरहेकी छन्। रोजगारीका लागि ३३ महिना मलेसिया बसेर गएको असार ३२ गते नेपाल फर्किएका थिए सुरेन्द्रको घर नपुग्दै बाटोमा शव फेला परेको थियो। 

यस्तै, सुरेन्द्रका आफन्तहरुले शुक्रबार दैलेख बजारमा शान्तिपूर्ण तथा दबाबमूलक धर्ना एव‌ र्‍याली निकाले प्रशासनको ध्यानकर्षण गराएका छन्। सुरेन्द्रका बुवा झक्कबहादुर शाहीले छोरा (सुरेन्द्रबहादुर)को सुनियोजित तथा रहस्यमय विभत्स हत्याकाण्डका हत्याराहरु/दोषीहरुलाई यथाशीघ्र कानूनको कठघरमा ल्याउन माग गर्दै प्रशासनलाई शान्तिपूर्ण दबाब दिएको जानकारी दिए। 

सुरेन्द्रका दाइ नाता पर्ने दीपक शाहीले प्रमुख जिल्ला अधिकारीलाई घटनामा संलग्नलाई कारबाहीको माग गर्दै ध्यानकर्षण-पत्र दिइएको जानकारी दिए। यस्तै, सुरेन्द्रको पोष्टमार्टमपछि आत्महत्या नभइ हत्या भएको रिर्पोट आएको आफन्तको दाबी छ। उक्त रिर्पोट प्रहरीले नै राखेको छ। 

सुरेन्द्रका आफन्तकाअनुसार नियन्त्रणमा रहेकी युवतिसँगै उनका आफन्तहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिने र छोड्ने काम प्रहरीले गरिरहेको छ। दाइ दीपकले भने, ‘प्रहरीले घटनाको बारेमा अनुसन्धान गरीरहेको जनाएको छ। जसरी पनि हामी घटनाको बारेमा अनुसन्धानबाट खुलेको अन्तिम जानकारी तपाईहरुलाई गराउछौँ भनेको छ। तर, घटनाको तत्काल सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउपर्ने हाम्रो माग छ।’

यस्तै, दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले सुरेन्द्रका आफन्तहरुले घटनाको बारेमा आफूलाई लिखित जानकारी दिएको बताए। उनले भने, ‘प्रहरीले घटनाको बारेमा एक जनालाई हिरासतमा राखेर अनुसन्धान गरिहेको छ। अरुलाई पनि आवश्कता अनुसार सोधपुझ गरिरहेको छ। कल रेर्कडहरु सबै हेरिहेको छ। अनुसन्धानकै चरणमा छ।’

अनुसन्धानका लागि नियन्त्रणमा लिएको व्यक्तिलाई प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिने प्रमुख गरैले बताए। उनले भने, ‘घटनाको विषय अनुसन्धानकै चरणमा छ। मुद्दा सरकारी वकिलमार्फत अदालत पेस भए पनि अनुसन्धान आवश्यक परेपछि सरकारी वकिल अर्थात् अदालतबाट पुनः प्रहरीलाई अनुसन्धान गर्न लगाउन पनि सकिन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad