ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलास्काबाट वासिङ्टन डीसी फर्कने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग लगभग एक घण्टा ‘लामो कुराकानी’ गरेको बताएकी छन्।
बीबीसीका अनुसार उनले पत्रकारहरूलाई ट्रम्पले नेटो देशका नेताहरूसँग पनि फोनमा कुरा गरेको जानकारी गराइन्।
बेलायतका प्रधानमन्त्रीको कार्यालयले अलास्का वार्तापछि प्रधानमन्त्री केयर स्टारमरले ट्रम्प र जेलेन्स्की दुवैसँग कुरा गरेको पुष्टि गरेको छ।
आज बिहान उनले नेटो सहयोगी देशका अन्य युरोपेली नेताहरूसँग एक फोन कलमा पनि भाग लिएका थिए।
यस्तै युक्रेनका राष्ट्रपति कार्यालयले जेलेन्स्कीले आज बिहान ट्रम्प र युरोपेली नेताहरूसँग कुरा गरेको पुष्टि गरेको छ।
कार्यालयले भनेको छ, ‘यो लामो कुराकानी थियो। यो कुराकानी जेलेन्स्की र ट्रम्पबीच सुरु भयो, त्यसपछि युरोपेली नेताहरू पनि यसमा सामेल भए।’
युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सोमबार वासिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पलाई भेट्ने बताएका छन्। टेलिग्राममा उनले ‘निमन्त्रणाको लागि आभारी’ रहेको उल्लेख गरेका छन्।
युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा शनिबार पुटिन र ट्रम्पले अलास्कामा ३ घण्टा भेटवार्ता गरेका थिए। तर दुई नेताबीच के सहमति भयो भन्ने विषयमा अहिलेसम्म प्रस्ट कुरा आइसकेको छैन।
Shares

प्रतिक्रिया