नेपालखबरकर्मी दिनेश बुढा ‘कोदो समाचार लेखन पुरस्कार-२०८२’ बाट पुरस्कृत हुने भएका छन्।
राष्ट्रिय कोदो दिवसका अवसरमा आज (साउन १६ गते) भक्तपुरमा आयोजित कार्यक्रममा खेपालखबरका कर्णाली समाचारदाता बुढासहित पाँच पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो।
‘कोदो समाचार लेखन पुरस्कार – २०८२’ अन्तर्गत कर्णालीमिसन डटकमका संवाददाता सागर परियारलाई ‘सर्वोकृष्ट पत्रकार’ पुरस्कारबाट पुरस्कृत गरिने भएको छ भने बिजमाण्डू डटकमकी संवाददाता सरला सुवेदी र कारोबार दैनिककी संवाददाता कोशिला कुँवर ‘उत्कृष्ट पत्रकार’का रूपमा पुरस्कृत हुने भएका छन्।
यस्तै, नेपालखबर कर्णाली संवाददाता बुढा र डडेल्धुराको रेडियो अमरगढीकी कार्यक्रम संयोजक भावना पौडेललाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरिने भएको छ।
एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को पहलकदमीमा गत वर्षदेखि कोदोजन्य बालीमा कलम चलाउने पत्रकारहरू पुरस्कृत गर्न थालिएको हो।
पुरस्कृत पत्रकारलाई छुट्टै कार्यक्रम गरेर पुरस्कार उपलब्ध गराइने भएको जनाइएको छ।
नेपालमा पहिलोपटक राष्ट्रिय रूपमा मनाइएको ‘कोदो दिवस–२०८२’ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा सम्पन्न भएको हो।
कोदोको महत्त्वलाई राष्ट्रियस्तरमा स्थापित गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस का रूपमा घोषणा गरेसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय, चाँगुनारायण नगरपालिका, संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ), राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल र एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट्स (अनाज) को संयुक्त पहलमा कार्यक्रम गरिएको थियो।
समारोह कृषि विभागका महानिर्देशक तथा कोदो दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाश कुमार सञ्जेलको अध्यक्षतामा, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
Shares

प्रतिक्रिया