राजनीति


चीन नजिकको छिमेकी मात्र होइन, विश्वसनीय विकास साझेदार पनिः प्रधानमन्त्री ओली

चीन नजिकको छिमेकी मात्र होइन, विश्वसनीय विकास साझेदार पनिः प्रधानमन्त्री ओली

नेपालखबर
साउन १६, २०८२ शुक्रबार २१:१४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामिप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन्।

नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले  बितेका दशकमा, नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको उल्लेख गर्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू आपसी सम्बन्धको आधार रहेको स्पष्ट गरे।

‘नेपालले एक चीन नीतिलाई दृढ समर्थन गर्दछ। चीनले पनि सधैँ नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ। चीन हाम्रो नजिकको छिमेकी मात्र होइन, विश्वसनीय विकास साझेदार पनि हो’, प्रधानमन्त्री ओलीले भने, ‘हामी यस दीर्घकालीन, समयले परीक्षित मित्रतालाई अत्यन्तै महत्त्व दिन्छौँ। यस यात्रामा थुप्रै ऐतिहासिक मोडहरू आएका छन्। सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रह्यो। यसले हाम्रो सम्बन्धलाई विकास र समृद्धिका लागि साझा लक्ष्यसहितको दीर्घकालीन मित्रता र आपसी विश्वासमा आधारित रणनीतिक सहकार्यको साझेदारीको तहमा उकासेको छ।’

प्रधानमन्त्री ओलीले सन् २०२४ को डिसेम्बरमा आफूले गरेको चीनको औपचारिक भ्रमण स्मरण गर्दै चीनका उच्चस्तरीय नेताहरूसँग भएका संवादहरू अत्यन्तै फलदायी भएको बताए। उनले आपसी सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धताको पुनःपुष्टि भई बेल्ट एण्ड रोड सहकार्यको ढाँचामा भएको हस्ताक्षरले हाम्रो साझा सङ्कल्पलाई मजबुत बनाएको जनाए।

चीनले पूर्वाधार र कनेक्टिभिटीमा गरेको सहयोगले नेपाललाई भौगोलिक सीमाहरू पार गर्न मद्दत पर्याएको तथा कृषि, व्यापार, पारवहन, ऊर्जा, स्वास्थ्य, डिजिटल प्रविधि र जलवायु प्रवलीकरण जस्ता क्षेत्रमा हाम्रो सहकार्य निरन्तर फैलिँदो रहेको प्रधानमन्त्री ओलीले बताए।

उनले भने, ‘नेपालले हाम्रा सीमामा रहेका हिमालय र नाजुक पर्यावरणीय प्रणालीको संरक्षणमा चीनसँगको सहकार्यलाई उच्च प्राथमिकता दिन्छ। यसै वर्ष सम्पन्न पहिलो सगरमाथा संवाद यस दिशातर्फको सार्थक कदम थियो। हालै लिङ्गदे खोलामा आएको बाढीले सीमाका दुवै छेउमा व्यापक क्षति पुर्यायो।यसले विपद् पूर्वतयारी, प्रारम्भिक सूचना प्रणाली र दीगो हिमाली विकासमा संयुक्त प्रयासको आवश्यकता झनै बलियो बनाएको छ।’ 

प्रधानमन्त्री ओलीले थपे, ‘नेपाल चीनले राष्ट्रिय पुनरोदय र आधुनिकतामा हासिल गरेको अद्वितीय उपलब्धिहरूको उच्च सम्मान गर्दछ। करोडौँ मानिसहरूलाई गरिबीबाट मुक्त गर्नु, नवप्रवर्तन र दीगो विकासमा अग्रणी बन्नु र अन्तरराष्ट्रिय सहकार्यमा नेतृत्वदायी भूमिका खेल्नु यी सबै विश्वका लागि प्रेरणादायी छन्। यी उपलब्धिहरूले चीनलाई मात्र होइन, सम्पूर्ण क्षेत्र र विश्वलाई स्थायित्व र प्रगतिमा योगदान दिएका छन्। हामी पनि यिनै प्रेरणाबाट समृद्ध नेपाल, सुखी नेपालीको हाम्रो राष्ट्रिय आकांक्षातर्फ अघि बढिरहेका छौँ।’ रासस

तस्बिरहरू:

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad