हिमपहिरो गएको हुम्लाको नाम्खा गाउँपालिका–६, तिलगाउँमा कर्णाली प्रदेश सरकारले आठ दिनपछि राहत पठाएको छ।
प्रदेश सरकारले पीडितहरूका लागि संघीय सरकारले भन्दापछि राहत सामग्री पठाएको हो।
१ जेठमा हिमपहिरोमा परी जोखिममा रहेका स्थानीयलाई प्रदेशले ८ दिनपछि बिहीबार राहत सामग्री पठाएको हो।
जिल्ला प्रशासन कार्यालय हुम्लाले माग गरेबमोजिम पाँच सेट टेन्ट अस्थायी घर, २० क्वीन्टल खाद्यान्न, १८ सेट सोलार र म्याट्रेसलगायतका राहतका सामग्रीहरू स्थलमार्गबाट पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
यसअघि कर्णाली प्रदेश सरकारले घटनामा क्षतिको विवरण माग गरेपनि राहत सामाग्री पठाउनमा कुनै चासो देखाएको थिएन।
बस्ती नजिकैको खोलामा आएको लेदोसहितको बाढीले सिंगो गाउँ नै जोखिममा परेको छ। जसका कारण १८ घरपरिवार आकाशमुनिको बासमा छन्।
यता स्थानीय सरकारले पनि बुधबार साँझ मात्रै राहत सामग्री पुर्याएको छ।
जेठ १ गते राति वर्षा बिना एक्कासि आएको लेदोसहितको बाढीले गाउँमा ठूलो क्षति पुर्याएको थियो। नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार बाढीले तिलगाउँको सिँचाइ, जलविद्युत्, खानेपानी लगायतका पूर्वाधारमा क्षति गरेको छ।
गाउँभन्दा माथि रहेका २ वटा हिमताल चर्किएको बाढी आएको उनले बताए। त्रिपालमुनि बसिरहेका गाउँका १८ घरधुरीका ३३ जना बढि वृद्धवृद्धा र बालबालिका खोलाको दूषित पानी पिउन बाध्य भएका छन्। खानेपानीका पाइप र मुहानमा क्षति पुर्याएको छ।
बाढीले तिलगाउँ आसपासका क्षेत्रका भौतिक पूर्वाधारमा क्षती, गाउँ नजिकै १ करोड ९ लाखमा निर्माणधिन १५ किलोवाट क्षमताको जलविद्युत् समेत बगाएको छ भने तिलगाउँको प्रमुख खेती बाली उवा नै नष्ट भएपछि गाउँले चिन्तित छन्।
प्रभावित क्षेत्रको भौगोलिक अध्ययन गर्न विज्ञ टोली हुम्ला पुगेको छ। जसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली छ।
यस्तै, अध्ययन टोलीमा जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट इन्जिनियर सौहार्द जोशी र खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जिओलोजिस्ट शिवकुमार बाँस्कोटा पनि रहेका छन्।
Shares

प्रतिक्रिया