हुम्लाको तिलगाउँमा लेदोसहितको पहिरो गएको एक हप्तापछि राहत सामाग्री पुगेको छ। नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले एक हप्तापछि तिलगाउँका पहिरो पीडित नागरिकले एक हप्तापछि राहत पाएको बताए। उनका अनुसार हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ मा पर्ने तिलगाउँमा लेदोसहितको पहिरो गएको ७ दिन बितेपछि स्थानीयले राहत पाएका हुन्।
उपाध्यक्ष लामाले पहिरो गएको २ दिनपछि आफ्नो नेतृत्वमा पालिकाको प्राविधिक टोली घटनास्थल पुगेको बताए। उनले भने, ‘पहिरो गएको दुइदिनमा म घटनास्थल प्राविधि टोलिसहित पुगेको थिए। त्यो बेला राहत सामाग्री लिने अवस्था थिएन। आधिकारीक क्षतीको विवरण पनि थिएन। तर, प्रदेश र संघीय सरकारले पनि खासै वास्था नगरेका कारण पीडितले समयमै राहत पाउन सकेनन्।’
तिलगाउँवासीले समयमै राहत नपाउदाँ अनेकौँ सास्ती भोग्नु गरेको उनले सुनाए। तिलगाउँमा प्रदेश सरकारको अर्थपूर्ण सहभागिता तथा आश्वासन सहितको राहत सामाग्री पुग्नुको साटो सरकारले कुनै वस्था नगरेको भन्दै दुखेसो पोखे। तिलगाउँका बाढी पीडितका लागि राहत तथा उद्धार गर्न स्थानीय सरकार, जिल्ला उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यालयले सकेसम्म पहल गरेपनि प्रदेश र संघीय सरकारको उपेक्षाका कारण समयमै राहत पुर्याउनमा ध्यान नदिएको बताए।
कर्णाली सरकारले विवरण माग्यो, सहयोग गरेन
यस्तै, उपाध्यक्ष लामाले कर्णाली प्रदेश सरकारले तिलगाउँमा भएको क्षतीको विवरण माग्ने बाहेक अन्य कुनै समन्वय नगरेको बताए। यस्तो जोखिम र विपद् प्रकोपको समयमा पनि कर्णाली सरकारको उपस्थिती नहुँदा सरोकारवलाले आलोचना गरेका छन्। यसबारे कर्णाली सरकारले पनि नत कुनै समन्वय गरेको छ। नत आधिकारीक धारणा नै सार्वजनिक गरेको छ। यस्तो बेला कर्णाली सरकारले राहत तथा उद्धारका लागि समयमै प्रयास नगर्नु समग्र नेतृत्वमा नै प्रश्न उठ्न थालेको छ।
पहिरो पीडित टासी ल्हान्जोमले तिलगाउँका बाढी पीडितका लागि स्थानीय सरकार बाहेक नजिकको प्रदेश सरकारले कुनै चासो नदिएको गुनासो पोखिन्। उनले भनिन् ‘यतिबेला तिलगाउँवासी सरकारी राहतको पर्खाइमा छन्। तर, अन्य समय सामान्य कार्यक्रमका लागि पनि हेलिकप्टर उडाउने ३ वटै तहका सरकारले तिलगाउँमा राहत पुर्याउन सकेका छैनन्। उनले थपिन्, ‘तिलगाउँमा आउजाउ गर्ने सडक समेत भत्किएका कारण गाउँमा खाद्यन्न ढुवानीमा समस्या भएको छ। थप राहत सामाग्रीको खाँचो छ।’

गत बिहीबार (जेठ १) गते राती गएको लेदोसहितको पहिरोले विस्थापित बनेको सिंगो बस्ती नै उकुसमुकुस अवस्थामा छ। वस्तीमा न खानेपानी छ नत खाद्यन्न, त्रिपाल, लत्ताकपडा र औषधि लगायत अन्य अत्यावश्यक सामाग्री छैन्।
बाढीको जोखिमले घर छोडेका सिंगो गाउँवासी नै २ वटा त्रिपालभित्र कष्टकर रात बिताइरहेका छन्। १८ घरपरिवारको सिंगो गाउँ नै भोकमारी र अन्य प्रकोपजन्य रोगको उच्च जोखिममा पनि छ। तर, बाढी गएको ७ दिन बितिसक्दा पनि स्थानीय सरकार बाहेक अन्य सरकारको आधिकारीक रुपमा तिलगाउँमा उपस्थित हुन सकेको छैन्।
स्थानीयका अनुसार हिमताल फुटेर आएको बाढी पहिरोले गर्दा तिलगाउँवासीलाई घरमा बस्ने अवस्था छैन्। तिलगाउँका बाढी पीडतका लागि राहत तथा क्षतिको एकिन मुल्यांकन गरी वस्ती पुनर्निर्माण गरिदिन सरकारलाई गुहार मागेका छन्। वर्षा बिना राति एक्कासि आएको लेदोसहितको बाढीले गाउँमा ठूलो क्षति पुर्याएको नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। उनका अनुसार बाढीले तिलगाउँको सिँचाइ, जलविद्युत्, खानेपानी लगायतका पूर्वाधारमा क्षति गरेको छ।
गाउँभन्दा माथि रहेका २ वटा हिमताल चर्किएको बाढी आएको उनले बताए। त्रिपालमुनि बसिरहेका गाउँका १८ घरधुरीका ३३ जना बढि वृद्धवृद्धा र बालबालिका खोलाको दूषित पानी पिउन बाध्य भएका छन्। खानेपानीका पाइप र मुहानमा क्षति पुर्याएको छ।
बाढीले तिलगाउँ आसपासका क्षेत्रका भौतिक पूर्वाधारमा क्षती, गाउँ नजिकै १ करोड ९ लाखमा निर्माणधिन १५ किलोवाट क्षमताको जलविद्युत् समेत बगाएको छ भने तिलगाउँको प्रमुख खेती बाली उवा नै नष्ट भएपछि गाउँले चिन्तित छन्।
Shares

प्रतिक्रिया