कर्णाली प्रदेशको हिमाली जिल्लामा औलो रोगका बिरामी देखा परेका छन्। साविक कर्णालीका हुम्ला, मुगु, जुम्ला र कालीकोट जिल्लामा औलो संक्रमण देखिएको हो। विश्व औलो दिवका अवसरमा कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांक अनुसार हुम्लाका तीन वडा औलो संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ।
हुम्लाको ताजाकोट गाउँपलिकाका २, ३ र ४ नम्बर वडाहरू औलोको उच्च जोखिममा रहेको निर्देशनालयले जनाएको छ। पछिल्लो समय सडक सञ्जाल विस्तार तथा लामखुट्टे हुर्कर्ने खालको वातावरण बन्दै गएपछि हिमाली जिल्लामा औलो संक्रमण देखिन थालेको हो। केही वर्षयता हुम्लामा गाउँ नछाडेका स्थानीय व्यक्तिहरूमा पनि औलो संक्रमण देखिन थालेको स्वास्थ्य सेवा निर्देशनालयका फोकल पर्सन श्यामलाल आचार्यले जानकारी दिए।
उनकाअनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, गुर्भाकोट नगरपालिका–८, मुगुको खत्याड गाउँपालिका–८ र सोरु गाउँपालिका–४ र ५ औलोको मध्यम जोखिमा छन्।
यस्तै, हुम्लाको अदानचुली गाउँपालिका–३ र ताजाकोट गाउँपालिका ५ मध्यम जोखिममा छन्। कर्णालीमा चार सय १० वडा न्यून जोखिममा रहदा दुई सय ९८ वडा औलोको जोखिमा छैनन्।
उलने हिमाली जिल्लामा औलोका बिरामी देखिनु तथा आवश्यक प्रतिकारात्मक क्रियाकलाप जस्तै, खोजपड्ताल तथा विषादी छर्कन समयमा पुग्न कठिनाइ भएको बताए।
कर्णालीमा ३८ जनामा औलो संक्रमण
कर्णाली प्रदेशमा चालु आर्थिक वर्षको २०८१/०८२ को हालसम्म ३८ जनामा औलो संक्रमण देखा परेको छ। यस वर्ष हुम्लामा दुई जनामा औलो संक्रमण पुष्टि हुँदा कुनै पनि ट्राभल हिस्ट्री नभएका एक जनामा औलो संक्रमण पुष्टि भएको छ।
गत वर्ष पनि हुम्लामा स्थानीय औलो संक्रमण पुष्टि भएको थियो। आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा बढी औलो संक्रमण सुर्खेतमा देखा परेको छ। सुर्खेतका ६ पालिकामा २५ जनामा आयातित (बाहिरबाट आउने व्यक्तिबाट सरेको) औलो संक्रमण देखा परेको छ। जसमा बराहताल गाउँपालिकामा दुई, वीरेन्द्रनगर नगरपालिकामा ६, चौकुने गाउँपालिकामा पाँच, गुर्भाकोट नगरपालिकामा दुई, लेकवेशी नगरपालिकामा एक, पञ्चपुरी नगरपालिकामा सात र सिम्ता गाउँपालिकामा दुईमा आयातित औलो संक्रमण देखा परेको निर्देशनालयले जनाएको छ।
यस्तै, कालिकोटमा यस वर्ष तीन जनामा औलो संक्रमण पुष्टि भएको छ। जिल्लाको खाँडाचक्र नगरपालिकामा आयातित औलो देखा परेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। दैलेखमा चार जनामा आयातित औलो पुष्टि भएको छ। जिल्लाको आठबीस नगरपालिका, चामुण्डाविन्द्राशैनी नगरपालिका, दुल्लु नगरपालिका, ठाँटिकाँध गाउँपालिकामा एक/एक गरी चार जना औलो रोगका बिरामी फेला परेका छन्। यी सबै बाहिरबाट आएका बिरामीहरू हुन्।
औलो संक्रमण दर
कर्णालीमा ६ वर्षको अवधिमा दुई सय ३१ औलो रोग पुष्टि भएको छ। तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५१ व्यक्तिमा औलो संक्रमण पुष्टि भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ३४, आर्थिक वर्ष २०७८/०७९ मा ४८, आर्थिक वर्षमा २०७९/०८० मा २३, आर्थिक वर्ष २०८०/०८१ मा ३७, र चालु आर्थिक वर्ष २०८१/०८२ मा ३८ व्यक्तिमा औलो संक्रमण पुष्टि भएको छ।
यस अवधिमा स्थानीय औलोबाट संक्रमित हुनेको संख्या ६० छ। तीन वर्षअघि प्रदेशभर स्थानीय औलो संक्रमण हुने दर नौ रहेकोमा पछिल्ला दुई वर्षयता घटेर एकमा सिमित भएको छ। कर्णालीमा सबैभन्दा भारतबाट आउने व्यक्तिहरूमा औलो संक्रमण बढि देखिने गरेको छ। ६ वर्षको अवधिमा कर्णालीभर एक सय १७ व्यक्तिमा आयातित औलो संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांक छ। यो अवधिमा आयातित औलो संक्रमण हुने दर वार्षिक औषतमा २८ छ।
औलो निवारणमा चुनौती
स्वास्थ्य संस्थामा मलेरिया जाँचमा कमी, औलो परीक्षण स्वास्थ्यकर्मीहरूको प्राथमिकता नपर्नु, स्थानीय सरकारबाट औलोका लागि रणनीति र बजेट व्यवस्थापन कम प्राथमिकता हुनुले औलो निवारणमा चुनौती भएको छ।
यस्तै, भारत तथा तेस्रो मुलुकबाट आउने आयातित केसको समयमै व्यवस्थापन गर्न कठिनाइ, औलो निवारण कार्यक्रमका लागि माग भए बमोजिम पर्याप्त आर्थिक स्रोतको अभाव रहनु, प्रदेश तथा स्थानीय तहमा औलोसम्बन्धी तालिम प्राप्त स्वास्थ्यकर्मीको अभाव तथा इन्टोमोलोजिष्टहरूको अभावलगायतका चुनौतीले कार्यक्रम सोचे अनुरुप प्रभावकारी हुन नसकेको आचार्यले बताए।
साथै उनले कर्णालीमा स्थानीय औलो नियन्त्रण हुँदै गएको भएपनि आयातित औलोको न्यूनिकरण गर्न निकै चुनौती रहेको बताए। उनले भने, ‘भारतमा काम गर्न जाने कर्णालीवासीमा बढी औलोको जोखिम छ। स्वास्थ्य सेवा निर्देशनालयले औलो निवारणमा विभिन्न रणनीति अवलम्बन गरेर काम गरिरहेको छ। जसअन्तर्गत प्रभावकारी निर्णय लिन औलोसम्बन्धी निगरानी र सूचना प्रणाली सुदृढीकरण गर्ने, औलोको जोखिम स्थानमा भेक्टर नियन्त्रण कार्यक्रम सञ्चालन गरी औलो सर्ने दरलाई घटाउने रणनीति निर्देशनालयले अपनाइरहेको छ।’
यस्तै, औलोका लागि गुणस्तरीय निदान तथा प्रभावकारी उपचारमा सर्वव्यापी पहुँच सुनिश्चित गर्ने, सरकारको नेतृत्वदायी भूमिका तथा प्रतिबद्धता र समुदायको सहभागिता सुनिश्चित गर्ने, प्राविधिक तथा व्यवस्थापकीय क्षमता सुदृढ गर्नेलगायतका रणनीतिका साथ अगाडि बढिरहेको उनले बताए।
स्वास्थ्य संस्थाबाट स्क्रिनिङ तथा परीक्षण, निजी, सरकारी तथा बहुनिकायलाई कार्यक्रम सम्बन्धमा स्थलगत अनुशिक्षा तालिम तथा अभिमुखीकरण, सीमा जोडिएका छिमेकी राष्ट्रसँग औलो निवारण सम्बन्धमा सहकार्यसमेत गर्ने गरेको उनको भनाइ छ। साथै सन् २०३० सम्म औलोलाई सून्यमा झार्ने राष्ट्रिय लक्ष्यका साथ काम गरिरहेको उल्लेख गर्दै आचार्यले कर्णाली भित्रने नाकामा यात्रुको ट्राभल हिस्ट्री र औलो परीक्षण गर्ने संयत्रको विकास गर्न सके लक्ष्य हासिल गर्न सकिने बताए।
Shares

प्रतिक्रिया