केही दिनदेखि देशका तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी देखिएको र शनिबार पनि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
महाशाखाले शुक्रबार साँझ ७ बजे विशेष बुलेटिन जारी गर्दै भनेको छ- मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा भोलि (शनिबार) सम्म तातो लहर (Heat wave) को सम्भावना रहेको हुनाले सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसम महाशाखाका अनुसार तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्नछ।
अत: यसबाट बच्न निम्न उपाय अपनाउन आवश्यक छ:
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा (सुतीको कपडा ) लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह सुझाव लिने।

Shares

प्रतिक्रिया