कर्णाली


१५ वर्षे ‘समृद्ध दैलेख गुरुयोजना’ निर्माण

१५ वर्षे ‘समृद्ध दैलेख गुरुयोजना’ निर्माण

दिनेश बुढा
माघ १५, २०८१ मंगलबार १७:४, सुर्खेत

दैलेखको सम्रग विकासका लागि ‘समृद्ध दैलेख गुरुयोजना’ निर्माण गरिएको छ। ‘कृषि पर्यटन र पूर्वाधार समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ जिल्ला समन्वय समिति दैलेखले गुरुयोजना निर्माण गरेको हो। 

दैलेखको स्वास्थ्य, शिक्षा, कृषि, जलस्रोत, पर्यटन, पूर्वाधार, उद्योग लगायतका क्षेत्रमा प्राथमिकताका आधारमा स्रोत साधानको कुशल र योजनावद्ध विनियोजन र सोको कार्यान्वयन गरी छोटो समयमा नै दैलेख जिल्लालाई समृद्ध बनाउनका लागि गुरूयोजनाको निर्माण गरिएको छ। 
 
गुरुयोजनामा स्वास्थ्यमा जिल्ला अस्पताललाई स्तरोउन्निती गरी ५ वर्षमा ५० शैया, १० वर्षमा सय शैया र १५ वर्षमा २ सय शैयासहितको अत्याधुनिक अस्पताल बनाउने, १५ शैयाको दुल्लु अस्पताललाई १५ वर्षभित्र एक सय शैया, निर्माणधिन आठबीस अस्पताललाई ३०० शैया अस्पताल बनाउने जिल्ला स्तरीय रणनीति गुरुयोजनामा समावेश गरिएको छ। 

यस्तै, प्रत्येक पालिकाहरुमा ५० शैयाको अत्याधुनिक सेवा सुविधायुक्त अस्पताल निर्माण, हाल प्रत्येक पालिकाका वडाहरुमा रहेका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य क्लिनिकहरुमध्ये आफ्नै भवन नभएका स्वास्थ्य संस्थाहरुको स्तरोउन्नती गरी १५ वर्षमा १५ शैयाको बनाउने, आयुर्वेद औषधालयका अन्तर्गत प्रत्येक पालिकामा आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन गर्ने, प्रत्येक स्थानीय तहले प्रत्येक ५/५ वर्षमा कम्पतीमा २ जना एमबीबीएस डाक्टर र प्रत्येक ३/३ वर्षमा कम्तीमा २ स्टाफ नर्स अध्ययनका लागि लाग्ने शूल्कको कम्तीमा ५० प्रतिशत छात्रवृत्ति रकम प्रदान गर्ने र जिल्लाको उपयुक्त स्थानमा मेडिकल कलेजको स्थापना गर्ने योजना समावेश छ। 

यस्तै, शिक्षातर्फ ३ वर्षभित्र एक पालिका एक नमूना उद्यमशील विद्यालय विकास गर्ने, सबै पालिकामा भएका क्याम्पस र माध्यमिक विद्यालयलाई ५ वर्षभित्र डिजिटल सिकाई केन्द्रको रुपमा विकास गर्ने, आधुनिक भौतिक संरचना निर्माण, सबै पालिकाका क्याम्पस निर्माण, स्थानीय भाषा, साहित्य र संगीतको संरक्षण र प्रवद्र्धन गर्ने, संगीत स्कुल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को एक वटा आंगिक बुहप्राविधिक शिक्षालय सञ्चालन, लोपोन्मुख राउटे समुदायको मातृ भाषाको संरक्षण र प्रवद्र्धन गर्न तीन वर्षभित्र गुराँस गाउँपालिकामा राउटे भाषा स्कुल सञ्चालन गर्ने विषय गुरूयोजनामा राखिएका छन्। 


खानेपानी र सरसफाइतर्फ नारायण नगरपालिकामा सहारे खानेपानी योजना २ वर्षभित्र व्यवस्थित गरी विस्तार गर्ने, भैरवी र दुल्लुमा खानेपानीको पूर्तिका लागि भाप्र खानेपानी योजनालाई ५ वर्षभित्र विस्तार गर्ने, ७ वर्षभित्र सबै नागरिकलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउने र प्र्रत्येक पालिकास्तरीय योजनाहरु समावेश गर्ने लक्ष्य राखिएको छ। साथै जिल्लालाई दुईबर्षभित्र पूर्णसरसफाइ जिल्ला घोषणा गर्ने, दिसा, पिसाब लागायतका फोहोरजन्य पदार्थ सार्वजनिक ढल, नदी, खोला र खोल्सामा नमिसिने गरी सेफ्ट्यिङ्की लगायतका संरचना निर्माण गर्ने गुरूयोजनामा राखिएको छ। 

यस्तै, उक्त गुरूयोजनामा कृषितर्फ एक गाउँ एक नमूना तरकारी र फलफूल कार्याक्रम २ वर्षभित्र लागुगर्ने, हावापानी अनुकुल मसला बाली, फलफूल खेती, नश्ल सुधारका लागि ३ वर्षभित्र प्रत्येक पालिकामा कृत्रिम गर्भाधान केन्द्र सञ्चालन, ५ वर्षभित्र जिल्लालाई रेबिज, पिपिआर र खोरेत रोग पूर्णरुपमा नियन्त्रण गर्ने, विभिन्न पालिकाहरुमा सिंचाइ योजनाको निर्माण गर्ने विषय राखिएको छ। 

यस्तै, उद्योगतर्फ प्रत्येक पालिकामा एक औद्योगिक ग्राम स्थापना, नौमुले गाउँपालिकमा जडिबुटी प्रशोधन तथा उत्पादन उद्योग, गुराँस गाउँपालिकामा नेपाली कागज उद्योग, नौमुले, महाबु, भैरवी र ठाँटीकाँधमा अल्लो कपडा उद्योग, भैरवी ६ र ७, डुङ्गेश्वर २ र चामुण्डाबिन्द्रासैनी १ र ३ मा स्लेट उद्योग, छाला उद्योग स्थापना, तामाखानी अन्वेशण तथा उत्खन्न लागयतका काम गर्ने योजनामा समावेश छन्। 

सहरी विकासमा ५ वर्षभित्र जिल्लाभर खरको छानो भएको घरको विस्थापितगरि सुरक्षित र पक्की बनाउने, छरिएर रहेका बस्तीका कारण भएको हालको खर्चीलो विकास गतिविधिलाई न्यूनिकरण गर्न क्रमशः बस्ती एकीकरण गर्ने, निर्माण हुन बाँकी प्रहरी कार्यालय भवन पाँच ५ वर्षभित्र निर्माण गर्ने, जिल्लामा दुई वटा स्टर होटल निर्माण गर्ने, प्रत्येक पालिकामा हेलीप्याड, बसपार्क, कभर्ड हल, स्टार होटल र ५ हजार सीट क्षमताको बहुउदेशीय रंगशाला निर्माण गर्ने लक्ष्य गुरूयोजनामा राखिएको छ। 

सडक यातायाततर्फ सुर्खेत–दैलेख सडक ४ बर्षभित्र २ लेन बनाउने, १५ वर्षभित्र सुर्खेत–माथिल्लो डुङ्गेश्वर सुरुङ मार्ग निर्माण, कर्णाली नदीमा जलयात्रा सम्भवना अध्ययन गर्ने, वडाभित्रको एक गाउँबाट अर्को गाउँसम्मको सडक ३ वर्षभित्र निर्माण÷स्तरोउन्नती र वडा केन्द्रबाट विद्यालय र स्वास्थ्य संस्थासम्मको सडक ५ वर्षभित्र निर्माण र स्तरोउन्नती गर्ने र ७ वर्षभित्र व्ल्याकटप गर्ने योजना गुरूयोजनामा उल्लेख गरिएको छ। 

यस्तै, सूचना तथा सञ्चार र विद्युततर्फ पनि दैलेखले गुरूयोजना निर्माण गरेको छ। जसमा दैलेख सदरमुकाम र दुल्लुमा मात्र रहेको नेपाल टेलिकमको फाइवर लाईनलाई ३ वर्षभित्र सबै पालिकामुकाम, ५ वर्षभित्र सबै वडा केन्द्र स्वास्थ्य संस्थामा, १० वर्षभित्र सबै बस्तीमा विस्तार गर्ने, जिल्लाका पत्रकारहरुको क्षमता विकास कार्यक्रम गर्ने, माथिल्लो कर्णाली (९०० मे.वा.) जलविद्युत योजना ७ वर्षभित्र निर्माण गर्ने, दैलेख–कालीकोट–जुम्ला १३२ के.भी. प्रसारणलाईन ७ वर्षभित्र निर्माण गर्ने, दैलेख–कालिकोट–जुम्ला–मुगु–चिन अन्तरदेशीय ४०० के.भी प्रसारणलाईन १० बर्षभित्र निर्माण गर्ने, जिल्लालाई ३ वर्षभित्र पूर्ण विद्युतिकरण गर्ने र सुर्खेत–दैलेख १३२ के.भी. प्रशारणलाईन २ वर्षभित्र निर्माण गर्ने विषयबस्तु गुरुयोजनामा समावेश गरिएका छन्। 

गुरूयोजनाका बारेमा सरोकारवालाबीच छलफल 
‘कृषि पर्यटन र पूर्वाधार समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ  तयार भएको गुरुयोजनाको बारेमा छलफल गरिएको छ। जिल्ला समन्वय समिति दैलेखको आयोजनामा शनिबार जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकासका योजना तथा कार्यक्रममा पहिचान तथा प्राथमिकताबारे सरोकारवालाबीच छलफल गरिएको छ। 

प्रतिनिधिसभा सदस्य तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मर थापाले दैलेखको सर्वाङ्गीण विकासका लागि गुरूयोजना बनाइएको बताए। उनले भने, ‘दैलेखको विकासमा अब राजनीतिक दलहरूको चाहना मात्रै नभई यसमा समेटिएका आमदैलेखी जनताका अपेक्षा अनुरूपका दीर्घकालीन योजना निर्माण गर्न सबै दलहरू, सबै तप्काहरू लाग्नुपर्ने देखिन्छ। त्यस्तो गर्न सकिएको खण्डमा जनताको आवश्यकता अनुसार विकास कार्यक्रम पाउँछन् र दैलेखको विकास गर्न सकिन्छ।’

गुरुयोजनाको कार्यपत्रमाथि कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले योजनाको स्वरुप राम्रो भएको बताउँदै सबै क्षेत्रका विज्ञहरुको सहभागितामा बजेट र सम्भाव्यताका विषयहरु समावेश गुर्नपर्ने सुझाव दिए।

मन्त्री शाहले कार्यक्रमको आयोजना हुनु धेरै राम्रो भएको भन्दै गुरुयोजना तयार गर्दा आर्थिक पाटोलाई पनि ध्यान दिनुपर्ने बताए। उनले भने, ‘हरेक योजनामा बजेटको कुरा जोडिन्छ। योजनामा कस्तो विषयबस्तु समावेश गर्ने, त्यसको बजेट कति हो, श्रोत के हो, त्यस्लाई पनि ख्याल गर्नुपर्ने हुन्छ।’

यस्तै, मन्त्री शाहले सामाजिक सुधार बिनाको समाज कल्पना गर्न नसकिने बताउँदै सामाजिक सुधारका विषयहरुमा (छुवाछुत, छाउपडी तथा बालविवाह) जस्ता कुरिती–कुसंस्कारहरुको अन्त्य गर्ने लगायतका विषयबस्तु योजनामा समावेश हुन आवस्यक रहेको बताए।

यस्तै, कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अब सबै दल, सबै सरोकारवाला निकायले यही गुरूयोजनाको आधारमा विकास निर्माणका लागि आवश्यक पहल गर्ने बताए। उनले भने, ‘अहिलेसम्म दर्जनौं सिंचाई योजना, खानेपानी आयोजना र अन्तरजिल्ला जोड्ने सडक अलपत्र तथा अधुरा छन्। ती सबै योजनालाई पूर्णता दिन अब एकीकृत गुरूयोजना आवश्यक देखियो र दैलेखकै स्थानीय व्यक्ति जिल्ला प्रशासन कार्यालय प्रमुखको रूपमा आएको अवस्थामा काम गर्न सहज हुने अपेक्षा हाम्रो हो।’

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले जिससले गुरूयोजना निर्माणका लागि सुझाव संकलनका लागि ईमेल गर्ने वा ह्वाटसएपमा म्यासेज गर्ने व्यवस्था गरिएको बताए। उनले भने, ‘हामीले प्रारम्भिक छलफल गरेका हौं। विस्तृत गुरूयोजना बनाइसकिएको छैन। त्यसका लागि आवश्यक सुझाव सबै सामु मागेका छौँ।’

गुरूयोजनाको आवश्यकता र उदेश्यहरु 
यस्तै, समथर पहाडी भूभाग, धेरैजसो समसितोष्ण हावापानी, प्रयाप्त जलस्रोत, दर्जनौं धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय स्थलहरु, अनुपम भाषा, कला, साहित्य, संगी र संस्कृति, अधिकांश अन्न, तरकारी, फलफुल, वनपैदवार, जडिबुटी र पशुपंछी उतपादन र पालनका लागि अनुकुल जमिन, पेट्रोलियम पदार्थको भण्डारण र कर्मचारीतन्त्रको क्षेत्रमा उदीयमान जिल्लाको रुपमा रहेकाले गुरुयोजना आवश्यकता रहेको छ।

यस्तै, दैलेखमा तमाम स्रोत र सम्भावनायुक्त समृद्धिका आधारहरु भएर पनि प्रचार–प्रसार, संरक्षण, संवद्र्धन र प्रवद्र्धन, उपयोग, विकास, विस्तार र व्यवसायीकरण गर्नका लागि गुरुयोजनाको आवश्यक रहेको उल्लेख छ। दैलेखको आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई नियोजि बनाउने, तत्कालीन, मध्यकालीन र दीर्घकालीन विकास योजना तथा कार्यक्रम पहिचान गर्ने, आवश्यकता, आकांक्षा र सम्भावनाका आधारमा विकास योजना तथा कार्यक्रमको प्राथमिकीकरण गर्ने, प्राथमिकताका आधारमा विकास योजना तथा कार्यक्रमहरुलाई बजेट र स्रोत सुनिश्चितता गर्ने उदेश्यहरु गुरूयोजनामा समावेश गरिएका छन्।

यस्तै, हरेक क्षेत्रको विकासलाई नमूनाको रुपमा अघि बढाउने, विकास व्यक्ति विशेषको कारण नभई जनताको सामुहिक पहलमा सम्भव हुने संस्कारको विकास गर्ने, दिगो विकास रहित खुद्रे योजनालाई निरुत्साहित गर्ने, विकास योजना तथा कार्यक्रममा द्धन्द्ध र दोहोरोपना हुन नदिने र स्थानीय साधन स्रोतको अधिकतम उपयोग गर्ने यसका उदेश्यहरु रहेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad