कर्णाली


कर्णालीमा पनि त्रिपक्षीय भिडन्त, यस्तो छ उपचुनावको तयारी

कर्णालीमा पनि त्रिपक्षीय भिडन्त, यस्तो छ उपचुनावको तयारी

दिनेश बुढा
मंसिर १३, २०८१ बिहिबार २१:५२, सुर्खेत

आउने आइतबार (१६ मंसिर) मा हुने स्थानीय तहको उपनिर्वाचन समय नजिकिँदै गएको छ। करिब तीन दिनमात्रै निर्वाचन आउन बाँकी रहेकोमा दलहरुले चुनावी प्रचार–प्रसारलाई विस्तारै बिट मार्ने तयारीमा छन्। चुनावी प्रचार–प्रसार गर्ने बिहिबार (मंसिर १३) राति १२ बजेसम्म अन्तिम समय हो।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरी ८ स्थानमा उपनिर्वाचन हुँदै छ। कर्णालीमा नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ।

जसमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुशे गाउँपालिका–७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, र रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५, मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो।

कर्णाली प्रदेशका ८ स्थानमा हुने उपनिर्वाचनको तयारी पुरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीसँगै अधिकांश मतदान हुने पालिकामा मतपेटिका र मतपत्र पुगिसकेको निर्वाचन आयोगको भनाइ छ।

कर्णालीमा विशेष गरी तीन पालिका दैलेखको महाबु गाउँपालिका, जाजरकोटको नलगाड नगरपालिका र हुम्लाको सर्केगाड गाउँपालिकामा हुने निर्वाचनलाई दलहरुले चासोका रुपमा हेरेका छन्। त्यसैमा यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि चुनावी परीक्षणमा रहेको छ।

यी पालिकामा मुख्यगरी तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिका साथ चुनावी मैदानमा होमिएका छन्।

यस्तै, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी लगायतका नेता, नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत, सहमहामन्त्री जीवन परियार लगायतका केन्द्रीय तहका नेता, नेकपा माओवादी केन्द्रबाट कर्णाली प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, पूर्वमुख्यमन्त्री राजकुमार शर्मा र रास्वपा उपसभापति स्वर्णिम वाग्ले र नेतृ सुमना श्रेष्ठ लगायतका नेताहरु कर्णालीका निर्वाचन स्थल पुगेर आफ्ना उम्मेदवारका पक्षमा भोट मागिरहेका छन्।

निर्वाचनको तयारी पूरा
कर्णालीमा १६ मंसिरमा हुने उपनिर्वाचनको मतदानपूर्वको तयारी पुरा भएको जिल्ला निर्वाचन अधिकारीहरुले बताएका छन्। मतदानस्थल, मतदान केन्द्र तोकेर त्यहाँ खटिने कर्मचारी, सुरक्षाकर्मीसहित मतपेटिका र मतपत्र सम्बन्धित पालिकामा पुगेका छन्। निर्वाचन सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनालाई आवश्यकताका आधारमा खटाइने गरी सुरक्षा योजना बनाइएको छ।

उपनिर्वाचनमा कर्णालीका ८ पालिकामा ४२ हजार बढी मतदाताले भाग लिने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले गरेको मतदाता अध्यावधिक विवरण अनुसार कर्णाली प्रदेशका ६ जिल्लाका ८ पदका लागि ४२ हजार २७७ जना मतदाता मतदानमा भाग लिने भएका छन्।
 
दैलेखमा ११ मतदानस्थल, २० मतदान केन्द्र
यस्तै, दैलेखको महाबुु गाउँपालिकामा हुने उपनिर्वाचनमा नौ मतदानस्थल र १६ मतदान केन्द तोकिएका छन्। महाबुको अध्यक्षका लागि ६ जना चुनावी मैदानमा छन्। दैलेखकै दुल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। जसका लागि दुई मतदानस्थल र चार मतदान केन्द्र तोकिएको छ। दुल्लु–१३ को वडाध्यक्षका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

यस्तै, महावु गाउँपालिकामा ९ वटा मतदान स्थल १६ वटा निर्वाचन केन्द्रहरुबाट १२ हजार ६ सय १४ जना, २ वटा मतदान स्थल रहेको दैलेखकै दुल्लु नगरपालिका १३ को वडा अध्यक्ष पदका लागि २ हजार ७ सय ६ जना मतदाता रहेका छन्।

जाजरकोटमा १७ मतदानस्थल २६ मतदान केन्द्र
यस्तै, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि हुने निर्वाचनमा १६ मतदानस्थलमा २४ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यलय जाजरकोटका जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलले जानकारी दिए।

नलगाडको उपप्रमुखका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन्। जाजरकोटकै कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र दुई मतदान केन्द्र तोकिएको छ। यहाँ वडाध्यक्ष पदका लागि चार जना चुनावी मैदानमा छन्।

यस्तै, १६ वटा मतदान स्थल भएको जाजरकोटको नलगाड नगरपालिका उपमेयर पदका लागि १६ हजार ४ सय ४९ जना र जाजरकोटकै कुशे गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्ष पदको लागि हुन लागेको निर्वाचनमा १ हजार ३ सय २ जनाले मतदानमा भाग लिने छन्।

हुम्लाको सर्केगाड उपाध्यक्षका लागि १२ वटा मतदानस्थल
यस्तै, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा १२ वटा मतदानस्थल र १३ वटा मतदान केन्द्र रहेको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए। हिमाली जिल्ला हुम्लामा पनि मतपेटिका, मतपत्र र निर्वाचनमा खटिने कर्मचारी सम्बन्धित स्थानमा पुगिसकेको सुवेदीले बताए। सर्केगाडको उपाध्यक्षका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन्।

यस्तै, १२ वटा मतदानस्थल रहेको हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष पदको लागि पनि उपनिर्वाचनमा ६ हजार ८ सय १० जना मतदाता रहेका छन्।

कालिकोटमा १ मतदानस्थल
यस्तै, कालिकोटको तिलागुफा नगरपालिका–४ मा पनि वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। जिल्ला निर्वाचन अधिकारी धनबहादुर मल्लका अनुसार एक मतदान स्थल रहेको छ भने दुई मतदान केन्द्र तोकिएका छन्। यहाँ पनि वडाध्यक्षका लागि ६ जना चुनावी मैदानमा छन्। यहाँ ६ सय ९ मतदाता रहेका छन्।

डोल्पाको त्रिपुरासुन्दरीमा १ मतदानस्थल
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक मतदानस्थल र एक मतदान केन्द्र तोकिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए। त्रिपुरा सुन्दरी–५ को वडाध्यक्षका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन्।

त्रिपुरा सुन्दरी नगरपालिका– ५ को अध्यक्षको लागि हुने उपनिर्वाचनमा ३ सय ५३ जना मतदाताले मतदानमा भाग लिने निर्वाचन आयोगले जनाएको छ।

रुकुम पश्चिममा १ मतदानस्थल, २ मतदान केन्द्र तोकिए
यस्तै, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा पनि मतदान पूर्वका सबै तयारी पुरा भएका छन्। वडाध्यक्ष पदका लागि हुने निर्वाचनमा एक ‍‍‍‍मतदानस्थलमा दुई वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीले जानकारी दिए। रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले मतदानको तयारी सौहार्दपूर्ण रहेको बताए। सानीभेरी–५ को वडाध्यक्षमा चार जना चुनावी प्रतिस्पर्धामा छन्।

सानिभेरी गाउँपालिका–५को वडा अध्यक्ष पदको लागि हुन लागेको निर्वाचनमा १ हजार ४ सय ३४ जना मतदाता रहेका छन्।

यस्तो छ, अंक गणित
गत ०७९ बैशाख अन्तिम साता भएको स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा दलहरु एक्लाएक्लै चुनावी प्रतिस्पार्धामा उत्रिँदा नेपाली कांग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पार्धा हुने देखिन्छ।

दैलेख महाबु गाउँपालिका
दैलेखको महावु गाउँपालिकाका अध्यक्ष लछुमन गुरुङको हृदयघातका कारण २०७९ माघ २७ गते निधन भएको थियो। उनको निधनपछि अध्यक्ष पद खाली छ। गुरुङले ३० वैशाख २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उपाध्यायलाई पराजित गरेका थिए। गुरुङले २ हजार ९ सय ७ मत प्राप्त गरेका थिए भने उपाध्यायले २ हजार ५ सय १९ मत प्राप्त गरेका थिए।

नेकपा माओवादी केन्द्र एकीकृत समाजवादीको गठनबन्धनमा एकीकृत समाजवादीका जंगबहादुर शाही उम्मेदवार बनेका थिए। उनले २ हजार २ सय ६८ मत प्राप्त गरेका थिए। शाही मंगलबार मात्रै नेकपा एमालेमा फर्किएका छन्। एमालेले पनि उनलाई नै उम्मेदवार बनाउने तयारी गरेको छ।

जाजरकोट नलगाड नगरपालिका
यस्तै, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कार्तिक १७ मा जाजरकोट भूकम्पमा परी मृत्यु भएको थियो। नेपाली कांग्रेसबाट उपाध्यक्ष निर्वाचित भएकी सिंहले ५ हजार ४ सय ६ मत प्राप्त गरी एमालेका सुनिता बोहोरालाई हराएकी थिइन्। बोहोराले ३ हजार ३ सय ९३ मत प्राप्त गरेकी थिइन्। तीनै बोहोरालाई एमालेले यस पट्क पनि उम्मेदवार बनाएको छ।

यहाँ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन थियो। यस पटको उपनिर्वाचनमा दलहरु एक्लाएक्लै मैदान उत्रिँदा एमाले र कांग्रेसबीच नै मुख्य प्रतिस्पार्धा हुने देखिन्छ।

हुम्ला सर्केगाड गाउँपालिका
गत ४ भदौमा सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी दुर्घटनामा परेका हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको उपचारकाक्रममा नेपालगन्जको भेरी अस्पतालमा निधन भएको थियो।

कार्कीले २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव जितेका थिए। उनले नेपाली कांग्रेस र माओवादीको गठवन्धनबाट नेकपा एमालेका जुनकुमारी फडेरालाई ३ हजार २ सय ६९ मत प्राप्त गरी पराजित गरेका थिए। एमालेकी जुनकुमारी फडेराले १ हजार ६४ मत प्राप्त गरेकी थिइन्। सर्केगाड गाउँपालिकमा ठूला तीन दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नै प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

५ वडाध्यक्ष
कर्णाली प्रदेशभर उपनिर्वाचन हुने ५ वटा वडाध्यक्ष पदमा पनि नेकपा एमाले र नेपाली कांग्रेसबीच नै मुख्यप्रस्पिर्धा हुने देखिन्छ। जस अनुसार नेकपा एमालेबाट दैलेखको दुल्लू नगरपालिका–१३, को वडाध्यक्षमा निर्वाचित भएका विर्खबहादुर शाहीको ब्रेन ट्युमरका कारण २०८० माघमा मृत्यु भएपछि उक्त पद रिक्त छ। शाहीले कांग्रेस–माओवादी गठवन्धनलाई हराएका थिए। शाहीले ८ सय २२ मत प्राप्त गरी माओवादीका डम्बरबहादुर शाहीलाई पराजित गरेका थिए। माओवादीका शाहीले ७ सय ७३ मत प्रात गरेका थिए।

यस्तै, कालिकोटको तिलागुफा नगरपालिका–४, का वडाध्यक्ष परमहादुर शाही २४ असोज २०७९ मा मलामी गएको अवस्थामा राचुलीस्थित तिला कर्णाली माथिबाट आएको पहिरोमा परी बेपत्ता भएका थिए। उनी माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। शाहीले नेपाल मजदुर किसान पार्टीका दिपबहादुर शाहीलाई ३ सय ६१ मत प्राप्त गरी हराएका थिए। नेकपा एमालेकी धनसरा शाहीले ४ मत मात्रै प्राप्त गरेकी थिइन्।

स्थानीय तह २०७९ को मत परिणाम हेर्दा यस वडामा नेकपा माओवादी केन्द्र बलियो देखियो छ।

माओवादी केन्द्रबाट जाजरकोटको कुशे गाउँपालिका–७, को वडाध्यक्षमा निर्वाचित मनबहादुर घर्तीको २०७९ असार ४ गते निधन भएको थियो। उनले २०७९ वैशाखमा भएको निर्वाचनमा ३ सय ८० मत प्राप्त गरी कांग्रेसका खम्बबहादुर सिंहलाई हराएका थिए। सिंहले तीन सय १८ मत प्राप्त गरे।

डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५, का वडाध्यक्ष नन्दलाल रोकाको दमका कारण गत माघमा निधन भएको थियो। नेकपा एमालेबाट निर्वाचित भएका रोकाले १ सय ८ मत प्राप्त गरी माओवादीका जंगबहादुर रोकायलाई पाराजित गरेका थिए। यस्तै, २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५, को वडाअध्यक्ष निर्वाचित भएका अलबहादुर खत्रीको जन्डिसका कारण २२ माघ २०८० मा निधन भएको थियो। खत्रीले ४ सय ६२ मत प्राप्त गरी माओवादीका तिर्थबहादुर खत्रीलाई हराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad