कर्णाली


कर्णालीका आठ पदमा ४५ जनाको उम्मेदवारी

कर्णालीका आठ पदमा ४५ जनाको उम्मेदवारी

दिनेश बुढा
मंसिर २, २०८१ आइतबार २१:१४, सुर्खेत

कर्णाली प्रदेशका विभिन्न ८ पदमा हुने स्थानीय तह उपनिर्वाचनका लागि ४५ जना उम्मेदवारको उम्मेदवारी परेको छ। मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि विभिन्न दलहरुबाट उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका हुन्।

कर्णालीमा स्थानीय तहको उपनिर्वाचअन्तर्गत नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक र पाँच वडाध्यक्ष गरी आठ पदमा उपनिर्वाचन हुनेछ।

जसमा जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष तथा दैलेखको दुल्लु नगरपालिका–१३, कालीकोटको तिलागुफा नगरपालिका–४, जाजरकोटको कुसे गाउँपालिका–७, डोल्पाको त्रिपुराुन्दरी नगरपालिका–५ र रुकुमश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदै छ।

३० वैशाख २०७९ को स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा ठूला राजनीतिक दलहरूले गठबन्धन गरेर चुनाव लडेका थिए। कतिपय ठाउँमा गठबन्धनका दलहरू मित्रवत् प्रतिस्पर्धामा थिए। गएको स्थानीय, प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा कर्णालीमा कांग्रेस, माओवादी र समाजवादीको बाम लोकतान्त्रिक गठबन्धन बन्दा एमाले एक्लै निर्वाचनमा होमिएको थियो।

उपनिर्वाचनमा कांग्रेस, माओवादी र एमाले एक्लाएक्लै चुनावमा होमिएका छन्। यसपटक दलहरूको स्पष्ट जनमत परीक्षण हुने माध्ययमका रूपमा उपनिर्वाचनलाई हेरिएको छ।

साथै कर्णाली प्रदेशमा पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि थपिएको छ। पुराना दलको वैकल्पिक शक्ति ठान्ने रास्वपाले पहिलो पटक आफूलाई स्थानीय तहको निर्वाचन परीक्षण गर्दैछ।

२०७९ को स्थानीय तह निर्वाचनको परिणामलाई हेर्ने हो भने यस पटक प्रमुख तीन दल कांग्रेस, माओवादी र एमाले नै प्रमुख प्रतिस्पर्धी हुनेछन्। नयाँ शक्तिका रुपमा उदाएको रास्वपादेखि अन्य साना दलहरूलाई कर्णालीमा पुराना दलसँग प्रतिस्पर्धा गर्न निकै चुनौती देखिन्छ।

संघ र प्रदेशको तुलनामा स्थानीय तहको निर्वाचनको परिणाम सोचे भन्दा फरक ढङ्गबाट आउने गर्दछ। पार्टी संगठन ठुलो भएपनि नातागोता र उम्मेदवारका कारण परिणाम आँकलन गरे भन्दा फरक निस्किने नेताहरुको भनाइ छ।

पालिकाका तीन पदमा २० जनाको उम्मेदवारी
उपनिर्वाचअन्तर्गत नगरपालिका उपप्रमुख एक, गाउँपालिका अध्यक्ष एक, गाउँपालिका उपाध्यक्ष एक गरी जम्मा तीन पदका लागि २० जनाको उम्मेदवारी परेको छ।

जसमा जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर पदमा ६ जनाले मनोनयन दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपमेयर पदका लागि नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, राप्रपा नेपालबाट सुनिता पुन रावल, नेपाल समाजवादीबाट पवित्रा जैसी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुनको उम्मेदवारी परेको छ।

यस्तै, दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा सात जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका हुन्।

मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अुनसार कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादीबाट जंगबहादुर बराल, समाजवादीबाट जगत हमाल र रास्वपाबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत, नेमकिपाबाट दुर्गबहादुर मगर रहेका छन्।

यस्तै, हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि दुई स्वतन्त्रसहित सात जनाको उम्मेदवारी दर्ता भएको छ। मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालका अनुसार नेपाली कांग्रेसबाट सरिता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रबाट देवकी तिमिल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट संगिता बुढा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाँचा शाही, स्वतन्त्र उम्मेदवार नरेश शाही र रामसरा खड्काको उम्मेदवारी दर्ता भएको छ।

५ वडाध्यक्ष पदका लागि २५ उम्मेदवार
यस्तै, कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। वडाध्यक्षका लागि नेकपा एमालेबाट ऐनबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट खड्कबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गगन बम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोगनबहादुर शाही, माओवादी केन्द्रबाट नैसोभा शाही र नेपाली कांग्रेसबाट पैरबहादुर शाहीको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय कालिकोटका सूचना अधिकारी लक्ष्मणबहादुर शाहीले बताए।

दैलेखको दूल्लु नगरपालिका–१३ को वडाध्यक्ष पदका लागि ६ जनाको उम्मेदवारी परेको छ। निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लका अनुसार नेकपा एमालेबाट लालबहादुर शाही, नेपाली कांग्रेसबाट शेरबहादुर शाही, नेकपा माओवादी केन्द्रबाट ढकेन्द्रबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेशम शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामबहादुर शाही र नेपाल मजदुर किसान पार्टीबाट पूर्णप्रसाद उपाध्यायको उम्मेदवारी दर्ता भएको छ।

रुकुम पश्चिमको सानिभेरी गाउँपालिका–५ को वडाध्यक्षमा एक स्वतन्त्रसहित चार जनाको उम्मेदवारी परेको छ। जसमा नेकपा माओवादीबाट जसिराम बस्नेत, नेपाली कांग्रेसबाट मोतिराम खत्री, नेकपा एमालेबाट हम्सराज पुरी, स्वतन्त्र उम्मेदवार विरबहादुर बस्नेत रहेका छन्।

यस्तै, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका–५ को वडाध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता भएको छ। सहायक निर्वाचन अधिकृत हरिगोपाल ज्ञवालीका अनुसार नेकपा एमालेबाट नरबहादुर रोकाया, नेकपा (एस) बाट ज्योती घर्ती, नेकपा माओवादीबाट नरबहादुर झाँक्री र नेपाली कांग्रेसबाट राजेन्द्रप्रसाद न्यौपाने उम्मेदवार रहेका छन्।

जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा पनि पाँच जनाको उम्मेदवारी परेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार एमालेबाट डम्बर बहादुर घर्ती, कांग्रेसबाट खम्बबहादुर सिंह, माओवादीबाट गोरखबहादुर नेपाली र राप्रपाबाट लालबहादुर खत्री र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमान सार्कीको उम्मेदवारी परेको छ।

निर्वाचन कार्यतालिका अनुसार मंसिर ३ गते विहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad